उद्यमी चन्द्र ढकालको योजना, सिक्लेस कोरीमा केबलकार

समाधान संवाददाता २०७६ पुष १२ गते १६:४७

समाधान संवाददाता

नेपालमा एउटा रोजाइको गन्तव्य बनिसक्यो, चन्द्रागिरि । चन्द्रागिरि केबलकारकै कारण पर्यटकको उत्कृष्ठ गन्तव्य बनिरहेको छ । चन्द्रागिरिमा केबलबार बनाएर पर्यटकलाई लोभ्याउन सफल कम्पनीका अध्यक्ष हुन्, चन्द्र ढकाल ।

चन्द्रागिरी हिल्सका अध्यक्ष ढकाल चन्द्रागिरिमा जस्तै कास्की सिक्लेस कोरीमा पनि केबलकार बनाउने योजनामा छन् । कास्कीको पर्यटकीय तथा ऐतिहासिक गाउँ सिक्लेसको भुलकचादेखि हिमालफेदी कोरी भन्ने ठाउँसम्म केबलकार बनाउने नयाँ योजना रहेको ढकालले सुनाए ।

Advertisement

‘हामीले सातै प्रदेशमा केबलकार बनाउने योजना अगाडि सारेका छौं । गण्डकी प्रदेशमा सिक्लेस र मौलाकालीमा केबलकार बनाउन चाहन्छौं,’ आइएमई ग्रुपका अध्यक्षसमेत रहेका ढकालले भने, ‘सरकारले जग्गा प्राप्ति र लगानीको प्रक्रिया सहज बनाइदिए २ वर्षमै केबलकार बनाएर देखाउँछौं ।’

बागलुङमा भएको संवादमा कुराकानी गर्दै ढकालले कोरीमा रिसोर्टसहितको केबलकार बनाउने अबको योजना सुनाएका हुन् । भुलकचादेखि हिमालफेदी कोरी भन्ने ठाउँसम्म केबलकार निर्माण गर्ने प्रारम्भिक सम्भाव्यत्ता अध्ययन मादी गाउँपालिकाले यसअगाडि नै गरिसकेको छ । प्रारम्भिक अध्ययनले कोरीमा केबलकार राम्रो सम्भावना र उपयुक्त रहेको देखाएको थियो ।

Advertisement

कोरीमा केबलकार चलाएर दृश्यावलोकन र हिमाल फेदीको खर्कमा पर्यटकलाई स्केटिङ खेलाउने योजना गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले चुनाव जितेलगत्तै सार्वजनिक गरेका थिए । त्यसैअनुसार भएको प्रारम्भिक अध्ययनसहित ढकालसँग गाउँपालिका अध्यक्ष गुरुङको टोलीले भेटेको थियो ।

‘पुस ३ गते पनि ढकालसँग केबलकार निर्माणबारे छलफल भएको थियो,’ अध्यक्ष गुरुङले भने, ‘संरक्षित क्षेत्र भएकाले प्रक्रिया अगाडि बढ्न ढिलाई भएको उहाँले जानकारी गराउनु भएको हो । सिक्लेसमा रिसोर्टसहित केबलकार बनाउन ७ अर्बभन्दा माथिको योजना उहाँको छ ।’

बागलुङमा भएको कार्यक्रममा बोल्दै बिहीबार साँझ ढकालले जग्गा प्राप्ति र प्रक्रियामा सहजीकरण गरिने प्रदेशका अर्थमन्त्री किरण गुरुङसँग पनि आग्रह गरेका छन् ।

कोरीमा वर्षको ८ महिना हिउँ भइरहने र त्यहाँ निकै फराकिलो ठाउँ भएकाले स्केटिङको सम्भावना छ । पोखराबाट २ घन्टामा सिक्लेस पुग्न सकिन्छ । सिक्लेसदेखि केबुलकारमा हिमालको काखमा पर्यटनकलाई पु¥याउने योजना गाउँपालिकाको छ । १५ मिनेटमै केबलकारमा कोरीसम्म पुगेर हिमाललाई छुन, हिउँमा रमाउन र साहसिक खेल खेल्न सकिने अध्ययनले देखाएको छ । केबलकार साढे ६ किलोमिटर दुरीको हुने गाउँपालिकाको अध्ययनले देखाएको छ ।

कोरीमा चन्द्रागिरिमा जस्तै ठूलो लगानी भित्रिए गाउँपालिकामात्रै होइन त्यो गण्डकी प्रदेशकै समृद्धिसँग जोडिने गाउँपालिका अध्यक्ष गुरुङको भनाइ छ । ‘सरकारी प्रक्रिया सहज बनाइएमा १८ महिनाभित्र मौलाकालीमा केबलकार सञ्चालनमा ल्याउँछौं,’ ढकालले भने, ‘त्यति नै समयमा कास्की सिक्लेसको कोरीमा केबलकार बनाउँछौं ।’

चन्द्रागिरीमा केबलकार बनाउने काम २ वर्षमा सकिएको तर लगानीको प्रक्रिया पूरा गर्नै ५ वर्ष लागेको उद्यमी ढकालले बताए । नेपालमा लगानीका निम्ति पहिलेभन्दा वातावरण बनेको भए पनि उत्साहजनक अझै नरहेको ग्लोबm आइएमई बैंकका अध्यक्षसमेत रहेका ढकालले बताए ।

गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले ढुक्क भएर लगानी गर्दा आग्रह गर्दै लगानी सुरक्षाको प्रत्याभूति दिलाउने बताए । नयाँ संरचनामा गइसकेको भए पनि पुरानै कानुन अहिले पनि यथायथ भएकाले लगानीको कागजी प्रक्रिया केही जटिल हुन गएको गएको भनाइ थियो । कोरीमा केबरकार र विभिन्न खेलकोसमेत सम्भावना रहेको बताउँदै गुरुङले कानुनी जटिलता फुकाउन सहजीकरण गर्ने प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया