पिपिएल उपाधि चितवनलाई

समाधान संवाददाता २०७६ पुष १३ गते ११:५८

ईश्वर देवकोटा
पोखरा

दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपिएल) टि २० क्रिकेटको उपाधि चितवन राइनोजले हात पारेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै चितवनले उपाधि जितेको हो । उपाधिसँगै चितवनले २७ लाख नगद पाउनेछ । उपविजेता विराटनगरले १० लाख रुपैयाँ प्राप्त गर्ने छ ।

टस हारेर पहिले ब्याटिङ गरेको चितवनले ५ विकेट गुमाएर २ सय २ रनको योगफल खडा गरेको थियो । लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रनमै समेटियो ।

Advertisement

पहिलो संस्करणमा पोखरा पल्टनसँग पराजित हुँदै उपविजेतामा चित्त बुझाएको चितवनले दोस्रो संस्करणमा आएर नतिजा आफ्नो पक्षमा पारेको हो । टिमको मेहनतले उपाधि जित्न सफल भएको कप्तान पारस खड्काले प्रतिक्रिया दिए । ‘उपाधि जित्दा खुसी लागेको छ । हरेक खेलाडीको मेहनतले हामी उपाधि जित्न सफल भयौं,’ उनले भने ।

चितवनको जितका लागि रोहन मुस्ताफा र अनिलकुमार शाहले उत्कृष्ट अर्धशतक प्रहार गरेका थिए । उनीहरुले बनाएको ९५ रनको साझेदारीमा चितवनले सम्मानजनक योगफल बनाउन सक्यो । अनिललाई १६ ओभरको पहिलो बलमा र रोहनलाई सोही ओभरको चौथो बलमा समान ५० रनमा रोक्दै विराटनगरका पुनित मेहराले साझेदारी तोडेका थिए ।

Advertisement

कप्तान पारस खड्का २५ रन, आरिफ शेख १९ रन र बाबर हायत ५ रनमा आउट हुन पुगे । करण केसी २६ रन र सन्नी पटेल १६ रनमा अविजित रहे । बलिङतर्फ पुनित मेहरा र मुहम्मद जाइद आलमले समान २ विकेट लिँदा किशोर महतोले १ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएका ओपनिङ ब्याट्सम्यान मुहम्मद जाइद आलमको अर्धशतकीय पारीले पनि विराटनगरलाई उपाधि दिलाउन सकेन । उनी ४८ बलमा ५७ रन बनाएर रोहन मुस्ताफाको बलमा भुवन कार्कीको हातबाट आउट हुन पुगे ।

कप्तान प्रदीपसिंह ऐरीलाई ३६ रन र दिलीप नाथलाई खातै खोल्न नदिई चितवनका करण केसीले १९ औं ओभरको तेस्रो र चौथो बलमा लगातार आउट गराएपछि विराटनगरलाई लक्ष्य भारी प¥यो । पुनित मेहरा ३२, सुनील धमाला ४, लोकेश बम १ र नोमान खान १८ रनमा आउट भए । पुष्प थापा ३ र जितेन्द्र मुखिया ७ रनमा अविजित रहे । बलिङतर्फ करण केसीले सर्वाधिक ३ विकेट लिए । सन्नी पटेल र रोहन मुस्ताफाको नाममा समान १ विकेट रह्यो । म्यान अफ द म्याच रोहन चुनिए ।

बेस्ट ब्याट्सम्यान ज्ञानेन्द्र, मस्ट इमर्जिङ अनिल
पिपिएल दोस्रो संस्करणको बेस्ट ब्याट्सम्यान काठमाडौं गोल्डेन वारियर्सका कप्तान ज्ञानेन्द्र मल्ल चुनिए । पहिलो चरणको खेलमा धनगढी विरुद्धको खेलमा ३८ बलमा ९ छक्का र ८ चौका प्रहार गर्दै उनले शतक पारी खेलेका थिए ।

म्यान अफ द सिरिजको उपाधि चितवन राइनोजका रोहन मुस्ताफाले हात पारेका छन् । विराटनगर विरुद्धको फाइनलमा रोहनले अर्धशतक हानेका थिए । पिपिएलमा चितवनले खेलेका ६ खेलमध्ये काठमाडौं विरुद्धको खेलमा उनले अविजित ५९ रनको योगदान गर्दै जित दिलाएका थिए । बुटवल ब्लास्टर्स विरुद्धको खेलमा पनि मुस्ताफाले अविजित ७० रन जोड्दा चितवनले जित हात पारेको थियो । दोस्रो संस्करणको पिपिएलमा उनको नाममा ९ विकेट रह्यो । उनी फाइनलसहित ३ खेलमा म्यान अफ द म्याच बने ।

बेस्ट बलरको उपाधि पनि चितवनका खेलाडी करण केसीले हात पारे । पिपिएलका ६ खेलमा करणको नाममा १४ विकेट छ । विराटनगर विरुद्धको फाइनलमा उनी एक्लैले ३ विकेट लिए । बेस्ट ब्याट्सम्यान, म्यान अफ द सिरिज र बेस्ट बलर उपाधि जित्ने खेलाडी तिनै जनालाई टिभिएस आटिआर मोटरसाइकल प्रदान गरिएको छ ।

मोस्ट भ्यालुयबल प्लेयर विराटनगरका लोकेश बम चुनिए । उनले लिग चरणकै चितवन विरुद्धको खेलमा ३६ बलमा ५ छक्का र ५ चौकाको सहायतामा ६२ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरेका थिए । उनलाई १ लाख प्रदान गरिएको छ ।

मोस्ट इमर्जिङ प्लेयरको उपाधिसहित ५० हजार नगद धनगढी ब्लुजका अनिल खरेलले हात पारे । धनगढीले खेलेका ५ खेलमा उनले बलिङको अवसर पाए । ती खेलमा उनको नाममा ८ विकेट रह्यो ।

तपाईको प्रतिक्रिया