‘टुर दी पोखरा’ मा गर्बुजा र थापालाई सम्मान

समाधान संवाददाता
पोखरा
साइकल सिटी पोखराले शनिबार पाँचौं ‘टुर दी पोखरा’ साइकल र्याली गरेको छ । ‘थोपा थोपा इन्धन बचाऔं’ मूल नारासहित साइकल सिटीले हजारौं साइकल यात्रीको सहभागितामा र्याली गरेको हो ।
वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरेको र्याली पोखरा रंगशालाबाट सुरु भएको हो । र्यालीमा करिब १ हजार साइकल यात्रीले सहभागिता जनाएका छन् । टुर दी पोखराका संयोजक राजन गोंगजुले आजभोलि इन्धनको अत्याधिक प्रयोगले मान स्वास्थ्यमा प्रतिकुल असर परिरहेको र त्यसलाई कम गर्नुपर्ने बताए । ‘हामी स्वस्थ जीवन बाँचिरहेका छैनौं । हामीले प्रयोग गर्ने प्रत्येक साधनले इन्धन खर्च भइरहेको छ,’ उनले भने, ‘टुर दी पोखराको मुख्य उद्देश्य भनेकै इन्धनको खपत कम गर्न अभिप्रेरित गर्नु हो ।’
कलाकार हरिवंश आचार्यले र्याली उद्घाटन कार्यक्रममा पछिल्लो समय वातावरण र स्वास्थ्य बिग्रदै गएकाले त्यसलाई सपार्न पनि साइकल उत्तम हुने विचार राखे । ‘यो कुरा पहिले नै थाहा भएको भए न हाम्रो स्वास्थ्य बिग्रन्थ्यो न वातावरण,’ उनले भने, ‘अहिले हाम्रो देशबाट विदेशमा जाने सबैभन्दा ठूलो अर्थतन्त्र नै स्वास्थ्य र इन्धन भएको छ ।’
कुनै समय साइकल गरिबीको चिनारी भए पनि हाल त्यसप्रतिको दृष्टिकोण बद्लिँदै गएको कलाकार मदनकृष्ण श्रेष्ठले बताए । उनले साइकलले इन्धन कम खर्च गर्ने भएकाले त्यसको महत्व बढ्दै गएको सुनाए । ‘साइकलले अहिलेको वातावरण र स्वास्थ्यमा अहम् भूमिका खेल्दै गएको छ,’ उनले भने, ‘साइकल चढ्न बढी खर्च पनि गर्नु पर्दैन । यो खोले, आटोले पनि चल्छ ।’
इन्धन बचाउनुपर्ने र त्यसका लागि साइकल नै उत्तम उपाय भएको नारा दिने उद्देश्यले र्याली गरिएको आयोजक साइकल सिटीका संयोजक राजन गोंगजुले बताए । ‘टुर दि पोखरालाई पोखराको ब्रान्ड बनाउन लागि परेका छौं । यस बाहेक सहरलाई साइकल सिटीका रुपमा अघि लैजान पनि हाम्रो प्रयास हो,’ उनले भने । र्यालीमा साना बालबालिकादेखि प्रौढहरुको पनि बाक्लो उपस्थिति थियो । र्यालीमा पोखरासहित काठमाडौं, बागलुङ, स्याङजा, पर्वत लगायतका साइकलयात्री सहभागी थिए ।
टुर दी पोखराका लागि सद्भावनादूत घोषित साइकल यात्रीद्वय विशाल गर्बुजा र जमुना थापालाई साइकल सिटी पोखराले सम्मान गरेको छ । शारीरिक अपांगताका बाबजुद् साइकल यात्री भएर प्रेरणादायी भूमिका खेलेको भन्दै गर्बुजालाई सम्मान गरिएको हो ।
हालै सकिएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत साइकल प्रतियोगितामा रजत पदक जित्न सफल जमुना थापालाई पनि सम्मान गरिएको छ । सानै उमेरमा साइकल दौड प्रतियोगिता, ट्रायथोलन लगायतका खेलमा राम्रो प्रदर्शन गरेको भन्दै उनलाई सम्मान गरिएको हो ।
तपाईको प्रतिक्रिया