म्युजिक अवार्ड वितरण

समाधान संवाददाता, पोखरा
नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका पूर्वउपकुलपति एवं संगीतकार शम्भुजित बास्कोटाले ‘फेवातालको आँगनमा लै लै माछापुच्छ्रे छाँया, जीवन मेरो सेती बगर बिनातिम्रो माया’ गाएपछि कार्यक्रम सुरु भयो ।
बक्स अफिस इन्टरनेसन गु्रपको आयोजनामा राष्ट्रको सर्वश्रेष्ठ म्युजिक अवार्ड फेवातालको किनारमा वितरण गरिएको थियो । सोही कार्यक्रमको उद्घाटन शनिबार बास्कोटाले उक्त गीत गाएर गरेका हुन् । ५ दर्जनभन्दा बढी गायक, गायिका, नायक, नायिका, मोडेल, संगीतकार, निर्देशक र सिनेमाकर्मी उक्त अवार्डबाट सम्मानित भएका छन् ।
कलाकारहरुलाई कदरपत्र प्रदान गरेपछि बास्कोटाले भने ‘कलाकारले संघर्ष गरे परिणाम सुन्दर हुन्छ, आफूले हिँडेको बाटोमा विचलित नभई यात्रा गर्दा नै गन्तव्यमा पुगिन्छ ।’ नेपाली चलचित्र र गीत संगीतको फाँटमा एक दशक लामो योगदान दिएका कारण पोखराका गायक तथा चलचित्रकर्मी सोभित बस्याल र सिनेकर्मी गणेश ढकाललाई कदरपत्रसहित सम्मान गरिएको थियो ।
भिजिट नेपाल २०२० को सन्दर्भमा आन्तरिक पर्यटन विकास र विस्तार गर्ने उद्देश्यले कार्यक्रम फेवा किनारमा गरिएको जानकारी आयोजक आरके सुवेदीले दिएका थिए । नेसनल बक्स अफिस म्युजिक भिडियो अवार्ड–२०१९ को वितरण कार्यक्रम रामबहादुर सुवेदीको सभापतित्वमा भएको थियो । सञ्चालन चलचित्र निर्देशक सोभित बस्नेतले गरेका थिए ।
तपाईको प्रतिक्रिया