पोखरासँग सबै छ, माग्दै बस्ने होइनः पर्यटनमन्त्री भट्टराई

समाधान संवाददाता २०७६ पुष १३ गते १३:३९

विकास रोकामगर
पोखरा

पर्यटनमन्त्री योगेश भट्टराईले पोखरा सबै कुराले पूर्ण भएकाले हरेक कुरा नमाग्न आग्रह गरेका छन् । ‘पोखरा प्राकृतिक रुपमा मात्रै धनी छैन । यहाँको पाहुना सेवा सत्कार पनि अरुभन्दा उत्कृष्ट छ,’ उनले भने, ‘सधैं यो भएन, त्यो भएन भनेर बस्ने होइन ।’

नेपालको सबैभन्दा ठूलो सडक महोत्सव ‘पोखरा स्ट्रिट फेस्टिबल’ शनिबारदेखि सुरु भएको छ । पोखरा लेकसाइडको ३ किमी क्षेत्रफलमा चल्ने महोत्सवको उद्घाटन गर्दै पर्यटनमन्त्री भट्टराईले पोखराका व्यवसायीलाई अब आफैं केही गर्न सुझाव दिएका हुन् ।

Advertisement

मन्त्री भट्टराईले पोखरा वर्ण नै गर्न नसकिने गरी सुन्दर भएको बताए । ‘पोखरेलीले अब मागेर बस्ने होइन । अरुका अगाडि नमुना बन्ने हो । सम्पन्न र आधुनिक बनेर अरुलाई देखाइदिने हो,’ उनले भने, ‘जतिपटक पोखरा आउँछु । त्यतिपटक गुनासो गर्ने होइन ।’ उनले पोखराबाट देशबाटमात्रै होइन विदेशी राष्ट्रले समेत सिक्ने गरी केही गर्न पोखरेली पर्यटन व्यवसायीलाई सुझाए ।

‘एउटा पर्यटकीय नगरीमा मान्छेहरु कसरी सुसंस्कृत ढंगले बस्छन्, कसरी सरसफाइ गर्छन्, कसरी प्रकृतिलाई जोगाउँछन् भन्ने एउटा अनुपम नमुना पोखराले देखाउनुपर्छ,’ मन्त्री भट्टराईले भने, ‘पोखराका जनप्रतिनिधि अरु ठाउँका भन्दा १÷२ स्टेपमाथि उभिएर सोच्नुस् । पोखराले मागेर बस्ने होइन ।’ उनले आवश्यक ठाउँमा सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Advertisement

‘दिउँसोमात्रै होइन, रातभर लेकसाइड चलोस्’
सन् २०२० डिसेम्बरमा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सकिँदैछ । सन् २०२१ को सुरुआतबाटै उडान सुरु गर्ने सरकारको योजना छ । पर्यटनमन्त्री योगेश भट्टराईले विमानस्थल सुरु भइसकेपछि पर्यटकको संख्या बढेपछि पोखरेली पर्यटन व्यवसायीलेसमेत आफ्नो क्षमता बढाउनुपर्ने बताए ।

मन्त्री भट्टराईले व्यवसायीले आफ्नो क्षमता बढाउन रातको समयमा ‘सुतेर’ नहुने बताएका छन् । ‘लेकसाइड अब दिनमामात्रै खुलेर पर्यटक धान्न सक्दैन । साँझ र रातमा पनि अब पोखरा सुत्नुहुँदैन,’ उनले भने ।

‘अन्तर्राष्ट्रिय विमानस्थल तयार भइसकेपछि राती पनि विमान आउजाउ गर्छन् । उनीहरुको माग बढ्छ,’ मन्त्री भट्टराईले भने, ‘बेलुका ५÷६ बजेपछि लेकसाइड सुत्ने होइन । रातभर पनि सेवा दिन तयार हुनुपर्छ ।’ उनले पर्यटकको आगमनसँगै उनीहरुको आवश्यकता पनि बढ्ने हुनाले त्यही अनुसार व्यवस्था गर्न स्थानीय सरोकारवाला निकाय र पर्यटन व्यसायीलाई आग्रह गरे ।

पर्यटक बढेसँगै नयाँ नयाँ गन्तव्यको पनि आवश्यक पर्ने भएकाले खोजी गर्न मन्त्री भट्टराईले आग्रह गरे । ‘हिजोका मात्रै पर्यटकीय गन्तव्यले पोखरामा पोखरामा ४÷५ दिन पर्यटक अल्मिलिने अवस्था नहुन सक्छ,’ उनले भने, ‘यस क्षेत्रका हरेक पर्यटकीय गन्तव्यलाई विकास गर्न सरकार सहयोग गर्न तयार छ । प्रदेश सरकार, स्थानीय सरकारले नयाँ नयाँ गन्तव्य खोजी गर्नुपर्दछ ।’

‘पानीमूनि लालपूर्जा कसरी सम्भव छ ?’
मन्त्री भट्टराईले फेवाताल मूनि पनि व्यक्तिका लालपूर्जा भएको सुनेको तर त्यो सम्भव नहुने बताए । ‘यो पोखरामा पानीमूनि लालपूर्जा छन् भन्ने सुनेको छु । यो कसरी सम्भव छ ?’ उनले प्रश्न गरे, ‘कसरी प्राकृतिक सम्पदामाथि कुनै व्यक्तिले आफ्नो निजी स्वार्थमा व्यवसाय चलाउँदै छ ? त्याबोरे सोच्नै पर्छ ।’ उनले प्रकृतिमाथिको थिचोमिचो सह्य नहुने जनाए ।

हिमागृह र रत्नमन्दिरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नेपाल ट्रस्टलाई पत्राचार गरिसकेको खुलाए । उनले सार्वजनिक ठाउँ कुनै पनि व्यक्तिले दुरुपयोग नगरोस् भन्न अहिलेको सरकार सचेत रहेको सुनाए ।

पोखरा सडक महोत्सव सुरु
नेपालको ठूलो सडक महोत्सव ‘पोखरा सडक महोत्सव’ शनिबारबाट सुरु भएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेबान)नले गर्दै आएको महोत्सवको यो २१ औं संस्करण हो । ५ दिनसम्म चल्ने महोत्सवको पर्यटनमन्त्री योगेश भट्टराईले उद्घाटन गरेका हुन् ।

जाडो महिना पोखराको पर्यटन सुनसान हुने र त्यसैलाई ब्युँझाउन सडक महोत्सव सुरु भएको महोत्स्व संयोजक लक्ष्मण बरालले जानकारी दिए । उनले भने, अंग्रेजी डिसेम्बर महिनामा क्रिस्चियनको ठूलो पर्व हुने र यही बेला नै उनीहरुको नयाँ वर्ष हुने हुनाले पोखराको पर्यटनलाई चलायमान गराउन महोत्सवको अवधारणा ल्याएका हौं ।’

बरालले २१ औं संस्करणसम्म आइपुग्दा महोत्सवमात्र नभई एउटा ब्रान्डका रुपमा अघि बढिसकेको दाबी गरे । ‘सुरुमा लेकसाइड सडक महोत्सव भन्यौं । तर, पछि फैलिँदै गएपछि पोखरा सडक महोत्सव नामाकरण गर्‍यौं,’ उनले भने, ‘यसमा अब प्रदेश सरकार र महानगरपालिकाले अपनत्व ग्रहण गर्नु पर्दछ ।’

पोखरा लेकसाइडको ३ किलोमिटर क्षेत्रफलमा हुने सडक महोत्सवमा विभिन्न जातजातिका करिब ७० बढी झाँकी देखाइएको थियो । समूद्घाटन झाँकीमा पूर्वको धान नाच, च्याब्रङदेखि पश्चिमको थारु, लाखे लगायत नृत्य संस्कृति देखाइएको थियो ।

महोत्सवमा करिब ५ लाख स्वदेशी तथा विदेशी पर्यटकले अवलोकन गर्ने लक्ष्य आयोजकले राखेको छ । महोत्सवबाट जनवरी १ का दिन नेपाल भ्रमण वर्ष २०२० घोषणा गर्ने कार्यक्रम छ ।

तपाईको प्रतिक्रिया