क्यानभासमा मनमोहक मुस्ताङ

समाधान संवाददाता २०७६ पुष १३ गते १३:४०

एसके थकाली
जोमसोम

क्यानभासमा मुस्ताङ हेर्न गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश प्रमुख अमिक शेरचन लगायत लेकसाइड पुगे । उनीहरुले भिजिट नेपाल २०२० लाई लक्ष्य गरी भएको छिरिङ एकल चित्रकला प्रर्दशनी हेरेका छन् ।

मंगलबारदेखि सुरु भएको प्रर्दशनीको अन्तिम दिन शुक्रबार प्रदेश प्रमुख अमिक शेरचन, अर्थमन्त्री किरण गुरुङ, पर्यटन मन्त्री विकास लम्साल लगायतले मुस्ताङका तस्बिर नियाले । चित्रकला प्रर्दशनी उद्घाटन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गर्ने काम मुस्ताङी युवाले गरेको भन्दै प्रशंसा गरे । छिरिङ जस्तै सिर्जनशील युवा देशका लागि खाँचो भएको उल्लेख गर्दै उनले युवाको संरक्षण गर्ने दायित्व सरकारको भएको जनाए ।

Advertisement

शुक्रबार प्रर्दशनी अवलोकनपछि गण्डकीका अर्थमन्त्री किरण गुरुङले मुस्ताङका ऐतिहासिक गुम्बा, मठ, मन्दिर, दरबार, गुफा र छोर्तेनलाई थिम्स बनाएर त्यहाँको संस्कृति, सभ्यता र भेषभुषालाई क्यानभासलाई जीवन्त चित्रण भएको बताए । मुस्ताङका युवाले कलामार्फत त्यहाँको विशिष्टता उजागर गरेकाले सरकारले घोषणा गरेको भिजिट नेपाल २०२० लाई सहयोग पुग्ने उनले बताए । छिरिङको कला हेरपछि पर्यटकलाई १ पटक मुस्ताङ घुम्नेपर्ने अनुभूति हुने उल्लेख गरे । प्रदेश प्रमुख अमिक शेरचनले चित्रकला हेरे पनि प्रतिक्रिया भने जनाएन् ।

प्रर्दशनी समापन समारोहमा चित्रकार छिरिङ फेन्जोले मुस्ताङको कला, संस्कृति चिनाएर आन्तरिक तथा बाह्य पर्यटक प्रर्वद्धन गर्ने प्रयास गरेको बताए । उनले मुस्ताङमा आफूभन्दा पनि राम्रो चित्र कोर्न सक्ने कलाकार पनि भएको जनाउदै सबै कलाकारलाई प्रोत्साहन र हौसला चाहिएको सुनाए । उनको यो तेस्रो एकल चित्रकला प्रर्दशनी हो ।

Advertisement

उपल्लो मुस्ताङमा गरिब परिवारमा ३८ वर्षअघि फेन्जो जन्मिएका हुन् । उनी सानैबाट कलाकारितामा लागे । कक्षा ५ पास गरेपछि उनले गाउँकै ल्हाक्पा लामाबाट चित्रकारिता र पेन्टिङ सिके । पछि काठमाडौं गएर एड्भान्स तालिम दिए । उनले ४ वर्ष कोरियामा बिताए । कोरियामा मासिक डेढ लाख त कमाए पनि उनी त्यहाँ सन्तुष्ट भएनन् । उनी भन्छन्, ‘कोरियामा सबै सुख र सुविधासहित पैसा कमाइन्थ्यो तर चित्रकारिताको हुटहुटी सतायो ।’ उनी गाउँ फर्के र आफ्नै मन पर्ने पेशामा लागे ।

उनले विशेष गरी पुराना छोर्तेन, गुम्बा, मठ, मन्दिर, गुफा, दरबार, मौलिक भेषभुषा र मुस्ताङका ऐतिहासिक संस्कृति चित्रमा समेटेका छन् । उनी भन्छन्, ‘आगामी दिनमा मुस्ताङमा लुकेर रहेका अरु विषयलाई समेट्ने प्रयास गर्छु ।’

एकल चित्रकला प्रर्दशनीमा छिरिङका ४३ चित्र प्रदर्शनीमा थिए । उनले सरकारले आर्थिक र प्राविधिक सहयोग गरे ७७ वटै जिल्लामा चित्रकला प्रदर्शनी गर्ने योजना सुनाए । सरकारले पर्यटन प्रर्वद्धनका कुरा गरे पनि पर्यटन प्रर्वद्धन गर्ने सृजनालाई समेट्न नसकेको दुखेसो गरे । चित्रकलाबाट उनले मासिक ५० हजारदेखि ३ लाखसम्म कमाउने गरेका छन् ।

तपाईको प्रतिक्रिया