भूकम्प पुनर्निर्माणः सवा लाखको गुनासो फर्छ्याेट

समाधान संवाददाता २०७६ पुष १४ गते १२:२२

समाधान संवाददाता
काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७ हजार ४ सय ९४ पुनर्निर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समितिको शुक्रबार र आइतबार बसेको बैठकबाट पुन जाँच तथा छुट सर्भेक्षण, २०७५÷०७६ बाट संकलित लगतको विश्लेषणबाट विभिन्न जिल्लामा ती लाभग्राही थप भएका हुन् ।

बैठकले ३ हजार ७६ प्रवलीकरण लाभग्राही थप गरेको छ भने ५२ हजार ९ सय ९८ गुनासोकर्तालाई गैरलाभग्राही कायम गरेको छ । यसअघि, मंसिर तेस्रो साता बसेको समितिको बैठकले ४२ हजार ७ सय ४२ गुनासो सम्बोधन गरी ४ हजार ६ सय ४४ पुनर्निर्माण लाभग्राही थप गरेको थियो । त्यस्तै, उक्त २ हजार ६ सय ९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो ।

Advertisement

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले छुट तथा पुन जाँच सर्भेक्षण अन्तर्गत संकलित १ लाख ८९ हजार लगतमध्ये हालसम्म हालसम्म १ लाख १३ हजार ४३ को निर्णय भइसकेको जानकारी दिए । ‘बाँकी गुनासोको प्राधिकरणमा खटिएका इन्जिनियरले विश्लेषण गरिरहेका छन् । हामी पुस मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी निर्णय गरिसक्छौं,’ उनले भने ।

लाभग्राही कायम भएका भूकम्प प्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्ताबापट ५० हजार रुपैयाँ प्राप्त गर्ने छन् । पुन जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकाले २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्नुपर्नेछ । त्यसैगरी, २०७७ वैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने घिमिरेले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया