कालीगण्डकीमा नयाँ पानीजहाज

समाधान संवाददाता २०७६ पुष १४ गते १२:२३

समाधान संवाददाता
पोखरा

Advertisement

कालीगण्डकी ए जलविद्युत परियोजनाको जलाशयमा नयाँ खालको पानीजहाज सञ्चालनमा आएको छ । स्याङ्जा, पर्वत र गुल्मीको संगमस्थलमा बनेको जलाशयको ७ किलोमिटर क्षेत्रमा सञ्चालन हुने गरी बनाइएको पानीजहाज गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले शनिबार उद्घाटन गरे ।

२५ लाख रुपैयाँमा इटहरीमा निर्मित यो पानीजहाज शालिग्राम कालीगण्डकी जल यातायात कम्पनी प्रालिले सञ्चालनमा ल्याएको हो । उक्त जलाशयमा यसअघि नै १० स्टिमर सञ्चालनमा छन् । अहिले ल्याइएको पानीजहाज स्टिमरभन्दा आधुनिक बनोटको रहेको कम्पनीले जनाएको छ ।

Advertisement

मन्त्री लम्सालले नेपालमा जल पर्यटनबाट स्वदेशी र विदेशी पर्यटक आकर्षित गर्न सकिने बताए । भ्रमण वर्ष २०२० लक्ष्य गरी सञ्चालनमा ल्याइएको पानीजहाजबाट स्थानीय बासिन्दा र पर्टकलाई फाइदा पुग्ने उनको भनाइ थियो । मन्त्री लम्सालले कालीगण्डकी प्राकृतिक, साहसिक तथा धार्मिक पर्यटकीय हिसावले महत्वपूर्ण रहेको भन्दै देवघाट, रानीमहल, सेतीवेणी, मोदीवेणी हुँदै मुक्तिनाथसम्मको धार्मिक पर्यटकीय स्थललाई प्याकेजका रुपमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

कालीगण्डकी गाउँपालिका अध्यक्ष खीमबहादुर थापाले पर्यटनको सम्भावना भएर पनि कालीगण्डकी क्षेत्रले प्रचार नपाएको भन्दै जल यातायातसँग जोडेर पर्यटकीय गतिविधि बढाउन आफूहरु लागिपरेको बताए । पर्वतको विहादी गाउँपालिका, स्याङ्जाको गल्याङ नगरपालिका र कालिगण्डकी गाउँपालिकाको सहकार्यमा पर्यटन योजना बनाएर संयुक्त रुपमा अगाडि बढ्ने उनको भनाइ थियो ।

Advertisement

स्याङ्जाको कालिगण्डकी गाउँपालिका ७ मिर्मीबाट सुरु हुने जलयात्रा सेतीवेणीमा गएर टुंगिन्छ । मिर्मिबाट सेतीवेणी पानीजहाजबाट १० मिनेटमा पुगिने कम्पनीका सञ्चालक चित्रबहादुर रानाले जानकारी दिए । अहिले २० सिटको पानीजहाज सञ्चालनमा ल्याइएको र ३ महिनापछि १ सय २० जना अट्ने पानीनहाज चलाउने तयारी भएको उनले बताए । कार्यक्रममा कालिगण्डकी गाउँपालिकाकी उपाध्यक्ष सावित्रा कोइराला, वडा नम्बर ५ का वडाध्यक्ष विष्णु बस्याल, गल्याङ नगरपालिका ७ का वडाध्यक्ष मुक्तिप्रसाद भट्टराई, कालीगण्डकी जलयातायात प्रालिका कम्पनी सचिव हरि भट्टराई, संस्थापक अध्यक्ष भीष्मराज न्यौपाने लगायतले कालीगण्डकीमा सञ्चालन गरिएको पानीजहाज स्थानीय, स्वदेशी र विदेशी पर्यटकका लागि उपयोगी हुने बताए ।

तपाईको प्रतिक्रिया