कुन्मिन क्रस कन्ट्रीमा रसिला प्रथम

समाधान संवाददाता २०७६ पुष १४ गते १२:५८

समाधान संवाददाता
पोखरा

चीनको कुन्मिन सहरमा भएको कुन्मिन माउन्टेनियरिङ एन्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौडमा महिला व्यक्तिगतर्फको उपाधि नेपालले जितेको छ । दौडमा सहभागी रसिला तामाङले हजारौं प्रतिष्पर्धीलाई पछि पार्दै पहिलो स्थान जितेकी हुन् ।

नेपाली टोलीका व्यवस्थापक यामबहादुर गुरुङका अनुसार रसिलाले सो दौड ८ घन्टा ६ मिनेट १९ सेकेन्डमा पूरा गरिन् । चिसो मौसममा ५० किलोमिटरको दौडका क्रममा ४ हजार २ सय ४७ मिटर अग्लो पहाड पार गरेकी उनले स्वर्ण पदकसँगै ४ हजार ५ सय चिनियाँ आरएमबी अर्थात् करिब ७२ हजार नेपाली रुपैयाँ नगद प्राप्त गरिन् ।

Advertisement

सो दौडको पुरुषतर्फको स्पर्धामा नेपाली खेलाडी दुर्गाराज बुढा दोस्रो, दामोदर बुढा तेस्रो र सन्तोषविक्रम विष्ट पाँचौँ बने । दुर्गाले निर्धारित ५० किलोमिटर ६ घन्टा ४६ मिनेट १७ सेकेन्डमा पूरा गरे भने सन्तोषले ७ घन्टा ८ मिनेट १९ सेकेन्ड लगाए । उनीहरुले मेडलसहित क्रमश ३५ सय र २५ सय चिनियाँ आरएमबी पाए । ७ घण्टा ४० मिनेट २४ सेकेन्डमा निर्धारित दूरी पूरा गरेका सन्तोषलाई भने मायाको चिनो मात्र प्रदान गरिएको नेपाली टोलीका प्रशिक्षक गजबहादुर गुरुङले बताए ।

असोज २९ गते पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड–२०१९ मा पहिलो र दोस्रो हुने नेपाली टोलीका ८ खेलाडीले सो प्रतियोगितामा सहभागिता जनाएका हुन् । सो प्रतियोगितामा व्यक्तिगत र समूहगत रुपले चिनियाँ खेलाडी पनि सहभागी थिए ।

Advertisement

खेलकुदको माध्यमबाट पोखरालाई चिनियाँ पर्यटन बजारमा चिनाउन आयोजित प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो हुने टोलीलाई चीनको कुन्मिनमा आयोजना हुने क्रस कन्ट्री दौडमा सामेल गराइने घोषणा गरिएको थियो । घोषणा अनुसार नै पहिलो र दोस्रो हुने नेपाली टोलीले चालु अंग्रेजी वर्षको डिसेम्बर २१ र २२ तारिखमा आयोजना भएको ‘कुन्मिन माउन्टेनियरिङ एन्ड एक्प्लोरेसन जियाओजी क्रस–कन्ट्री दौड मा सहभागिता जनाउने अवसर पाएको हो । नेपालका गणेशसिंह ठकुरीले दौडको क्रममा करिब ३० किलोमिटर गलत बाटोमा दौडँदा उपाधिबाट विमुख बन्नुपरेको टिमका व्यवस्थापक यामबहादुर गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया