चिजाकाे हत्या आरोपमा श्रीपाली पक्राउ

समाधान संवाददाता २०७६ पुष १४ गते १३:१९

सुरेशराज अधिकारी
पोखरा

माछापुच्छ्रे ५ पल्लो हुम्दी डाँडागाउँकी ६३ वर्षीय चिजाकुमारी विकको हत्या आरोपमा खिमबहादुर श्रीपाली पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख दानबहादुर कार्कीका अनुसार म्याग्दी धवलागिरि गाउँपालिका ३ का श्रीपालीले वृद्धालाई लुटपाट गरी हत्या गरेको स्वीकारेका छन् ।

श्रीपालीले लुटेको सुन डेढ तोला २ पसलमा लगेर बेचेको प्रमाणि भएको छ । चिजाकुमारीको ६ गते बेलुका हत्या भएको थियो । २ दिनसम्म कतै नदेखिएपछि स्थानीयले मंगलबार चिजाको खोजी गरे । ८ गते बेलुका मात्र उनका परिवारले घरमै शव भेटेका थिए ।

Advertisement

६ गते बेलुका विकको घरमा नै हत्या गर्ने योजनाका साथ मादक पदार्थ सेवन गर्नका लागि विकको घरमा गएको श्रीपालीले प्रहरीलाई बयान दिएका छन् । बेलुका विकको घरमा नैसुत्ने योजना श्रीपालीले बताएका थिए । विकको घरमा मादक पदार्थ सेवन गरेपछि सुत्छु भनेर चिजाका नातिले श्रीपालीलाई ओछ्यान लगाइदिएका थिए । नाति घरबाट निस्केको केही समयपछि श्रीपालीले विकलाई लुटेर हत्या गरेका थिए ।

श्रीपालीले बेचेको ठाउँको सुन र मोबाइलसमेत प्रहरीलाई देखाएका छन् । शवनजिकै रगत लागेको ढुंगा प्रहरीले प्रमाणका लागि राखेको छ । चिजाले लगाउने गरेका गहना पनि शवमा थिएनन् । चिजा घरमा एक्लै बस्थिन् । उनको घरनजिकै उनकै छोराको घर र अर्काे एउटा पुरानो उनकै घर थियो ।

Advertisement

१ वर्षअघिको हत्यारा निस्कन सक्छ
गत वर्ष कात्तिक ११ गते राति माछापुच्छ्रे ८ खोरामुखकी ७९ वर्षीया कौशिला गुरुङको हत्या भयो । गुरुङका हत्यारा प्रहरीले अझै समात्न सकेको छैन । एसपी कार्कीका अनुसार घटनाको प्रकृति उस्तै छ । गुरुङको हत्यामा पनि श्रीपाली नै जोडिन सक्ने सम्भावना कार्कीले औंल्याए ।

विकको र गुरुङको हत्यास्थल करिब २ किलोमिटर दुरीमा पर्छन् । गुरुङको शव खाटामुनि भेटिएको थियो । दराजमा राखेका कपडा, थैली, तासीमा राखिएका भाँडाकुडा पनि छरिएका थिए । उनले लगाएका कुनै गहना भेटिएनन् । पोस्टमार्टम रिपोर्टमा घाँटीमा ५ औंलाको डाम र टाउकोमा चोट देखिएको थियो । घटनाबारे प्रहरी अनुसन्धान गरिरहेको बताउँछ । गुरुङको हत्या भएको पनि २ दिनपछि मात्र थाहा भएको थियो ।

तपाईको प्रतिक्रिया