—सम्पादकीय— भ्रमण वर्ष सफल पारौं

समाधान संवाददाता २०७६ पुष १६ गते १४:००

नेपाल सरकारले घोषणा गरेको ‘नेपाल भ्रमण वर्ष२०२०’आजदेखि सुरु हुँदैछ । घोषणा कार्यक्रम काठमाडौंमा सँगै ७ वटै प्रदेशमा हुँदैछ । त्यसको भव्य तयारी सरकारले पूरा गरिसकेको छ । महत्वपूर्ण रुपमा भ्रमण वर्षको शुभारम्भ गर्नुबाट यसप्रति सरकारको गम्भीरपना देखिन्छ । यो कार्यक्रममा सम्पूर्ण नेपालीले अपनत्व अनुभूत गर्ने भए भने नै विदेशमा नेपालको प्रचार हुनसक्छ । हरेक नेपालीले पर्यटक भित्र्याउन आआफ्नो ठाउँबाट कसरत गर्छ । केवल सरकारी कार्यक्रम र सीमित व्यवसायीको फाइदाका लागि हो भन्ने सन्देश गयो भने भ्रमण वर्ष उपलब्धिमूलक हुन सक्दैन ।

भ्रमण वर्ष नै घोषणा गरेर जुन ढंगले पर्यटनलाई महत्व दिइएको छ । त्यसका लागि आवश्यक पूर्वाधार र वातावरणको प्रमुख दायित्व सरकारको त हुँदै हो, निजी क्षेत्रको पनि उत्तिकै हो । र, सर्वसाधारण नेपाली पनि यो दायित्वबाट पर छैनन् । बाटोमा हिँडिरहेको पर्यटकसँग मुस्कुराएर बोल्ने नेपाली शैलीबाटै नेपालको ठूलो प्रचार विदेशमा भएको छ । नेपालीहरु मिजासिला छन्, फरासिला छन् र अतिथि सत्कार मनैदेखि गर्छन् भनेर यहाँ आएका पर्यटकले भनेकै कारण यहाँको पर्यटन अहिलेसम्म यहाँ आइपुगेको हो । तर विस्तारै पर्यटन व्यावसायिकभन्दा व्यापारिक हुन थाल्दा कमीकमजोरी देखिएका छन् । ती सच्च्याउनुपर्छ ।

पर्यटनका लागि हामीसँग प्रकृतिको कमी छैन । पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक कुनै पनि चिजको कमी छैन । कमी छ त केवल प्रचार र व्यवस्थापनको । अपार सम्भावनाको क्षेत्रलाई उपयोग गर्न नसक्नु राज्यको ठूलो कमजोरी हो । ७० वर्षको इतिहास छ नेपाली पर्यटनको । यतिका वर्षमा पनि बल्लतल्ल २० लाख पर्यटकको लक्ष्य राखिएको छ र त्यति पुर्‍याउन हम्मेहम्मे नै छ । जब कि १० वर्षयतामात्रै पर्यटनमा पाइला चालेका भियतनाम, कम्बोडिया लाओस् जस्तो देशले लाखौं लाख पर्यटक भित्र्याएका छन् ।

Advertisement

भ्रमण वर्षको लक्ष्य २० लाख पर्यटक छ । यो लक्ष्य पूरा त गर्नैपर्छ । तर त्यतिलेमात्रै पुग्दैन । एकपटक २० लाख पर्यटक ल्याएरमात्रै न सरकारको दायित्व पूरा हुन्छ न देशको आवश्यकता । यहाँनेर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले भ्रमण वर्षका अवसरमा दिएको शुभकामना सन्देशका वाक्य मननयोग्य छन् । उनले भनेका छन्, ‘नेपाल घुम्न आएका पर्यटकहरुले फर्केर जाँदा राम्रा कुराहरु आफ्नो देशमा लगेर जाउन्, नेपाललाई सँधै सम्झिरहुन्, फेरि आफू पनि आउन् र अरुलाई पनि आउनलाइ प्रेरित गरुन् भन्ने कुरामा हाम्रो मुख्य ध्यान जानुपर्दछ र सोही बमोजिम पर्यटकको मनमा छाप पार्ने गरी अतिथि देवोः भवः भन्ने हाम्रो मूल मन्त्रलाई व्यवहारमा उतार्न सक्नुपर्दछ ।’ यति कुरा ख्याल गरेर काम भयो भनेमात्रै हाम्रो पर्यटन दिगो पर्यटन हुनसक्छ । दिगो पर्यटनले मात्रै नेपालीलाई सुखी बनाउन सक्छ, नेपाललाई समृद्ध बनाउन सक्छ । तसर्थ सबैले आआफ्नो ठाउँबाट कर्तव्य पूरा गरी नेपाल भ्रमण वर्षलाई सफल बनाउनुपर्छ ।

Advertisement

तपाईको प्रतिक्रिया