रुखा सरकारी कर्मचारी

समाधान संवाददाता २०७६ पुष १६ गते १४:३४

सुमन थापामगर

सरकारी जागिर । भरपर्दो, लोभलाग्दो सेवा र सुविधा तथा १ पटक नाम निकालेपछि जीवनभरीका लागि हुने । १ पटक पाएपछि सधैंका लागि ढुक्क । विभिन्न किसिमका भत्ता र फरक जिल्लामा पुगेर त्यहाँका बारेमा जान्न पनि पाइने । निश्चित उमेर हदसम्मका लागि सेवा गरेपछि पेन्सन पाक्ने । यी र यस्ता विभिन्न कुराले नेपालमा सरकारी जागिरको महत्व छ । धेरैले ज्वाइँ पनि सरकारी जागिर या त्यो पनि भएन भने विदेशमा पिआर भएका र राम्रा देशमा गएका नै रोज्छन् । अझ सरकारी जागिर नै छ भने त केही पनि नसोचेर छोरीको विवाह गरिदिनेको संख्या पनि धेरै छ ।

नेपालमा पढ्नका लागि अहिलेको समयमा आफ्नो सन्तानका लागि बोर्डिङ स्कुल, उपचारका लागि अस्पताल पनि निजी नैरोजेपनि धेरैले जागिरका रुपमा भने सरकारी नै चाहन्छन् । चाहेको भरमा सरकारी जागिर सजिलै पाउन सकिन्न । तर असम्भव भने छैन । दिनरात मेहनतका साथ पढेर परीक्षा दिनुपर्छ । परीक्षा दिइहालेपनि पहिलो पटकमा नै नाम निकाल्ने व्यक्ति कम नै हुन्छन् । केही संख्यामा कर्मचारी माग गरिएको भएपनिपरीक्षाका लागि फारम भर्नेको संख्या भने हजारौं हुन्छ । मानौं, नेपालमा सरकारी बाहेकका अन्य रोजगारी नै छैन र सरकारी जागिर नै सर्बेसर्बा हो ।

Advertisement

सरकारी जागिरका लागि पढ्नेले पनि मेहनत गरेर दिनरात पढेर नाम निकाल्छन् । पहिलो पटकमा नाम छनोटमा नपरेपनि कोसिस गरिरहे कुनै दिन अवश्य निस्कन्छ भन्ने उनीहरुको सोंच हुन्छ ।र सरकारी जागिर नै लक्ष्य भएकाले त प्रयास गरेपछि नाम निकाल्न सफल हुन्छन् पनि । सरकारी जागिरे भएपछि उनीहरुले आम नागरिकको सेवा गर्न पाउँछन् भने आर्थिक रुपमा पनि उनीहरुको भविष्य बनिसकेको हुन्छ ।सरकारी अफिसर बनेपछि देश तथा आम नागरिकको सेवा गर्न पाउनु पनि अहोभाग्य नै हो । फेरि पनि धेरैले यो अहोभाग्यलाई ‘जा अनि गिर’ जस्तै बनाइरहेका हुन्छन् । धेरै सरकारी कर्मचारीको व्यवहार हाम्रो सोंचभन्दा धेरै फरक हुन्छ । रुखो र कहिले पनि सरकारी कार्यालयमा कामका लागि जानै नपरे हुन्थ्यो जस्तो । सबै सरकारी कर्मचारी सबै नै रुखो बोल्छन् र राम्रोसँग बोल्दैनन् भन्ने होइन । तर धेरैको व्यवहार भने रुखो नै हुने गरेको छ ।

यसको अनुभव म आफैंले पनि धेरै पटक गरेको छु । केही दिन अगाडि एउटा काम विशेषले पोखराकै सरकारी अफिसमा गएको थिएँ । म अहिलेसम्म धेरैपटक सरकारी अफिसमा जानुपर्ने आवश्यकता आएको थिएन । तर त्यो दिन नगइ नहुने भएपछि गएँ । मन नलागी–नलागी गएको म, त्यसपछि उक्त अफिसको कर्मचारीको व्यवहार देखेर कता–कता रिस उठ्यो भने कता–कता दया लाग्यो । मलाई सरकारी कामकाजको त्यति अनुभव छैन । त्यसकारण त्यहीका कर्मचारीले केही त सिकाइदेलान् भन्ने थियो । तर भइदियो त्यसको ठीक विपरित । सिकाएर नजानेका विषयमा जानकारी दिनु त कता हो कता झन् उल्टो हुकाई पो खाइयो ।

Advertisement

म प्राय त्यस्तो कुनै पनि काममा जाँदा आवश्यक परेको खण्डमा बाहेक आफ्नो परिचय खुलाउँदिन र खुलाउनमनले मान्दैन । यदि कसैले क गर्नुहुन्छ भन्ने प्रश्न गरेमात्र खुलाउँछु । त्यसदिन पनि खुलाइनँ । उक्त सरकारी अफिसमा मेरो आफ्नै गल्तीले केही कागजातमा हस्ताक्षर गर्नबाट चुकेको रहेछु । पछि घर पुगेर सम्बन्धित व्यक्तिलाई जानकारी गराउँदा हस्ताक्षर पुगेन भनेपछि फेरि उक्त अफिस पुगेको थिएँ म । गल्ती मेरै थियो र त्यसलाई सुधार्न म उक्त सरकारी कार्यालयमा पुगेको थिएँ ।

तर जुन व्यवहार उनीहरुबाट मैले आशा गरेको थिएँ, त्यसको ठीक विपरित पाएँ । सोधपुछमा गएर सर यस्तो समस्या भएछ के गर्ने भनेर प्रश्न गरेपछि त्यहाँ बस्नुभएको सरले राम्रोसँग ध्यान पनि नदिएर सिधै यति नम्बरको झ्यालमा गएर सोध्नुस् भन्दै जवाफ दिनुभयो । त्यसपछि उहाँले जति नम्बरमा भन्नुभएको थियो त्यही नम्बरमा गएर सोध्ने प्रयास गरें । १ जना महिला हुनुहुँदो रहेछ । ‘म्याम यसलाई के गर्ने ?’ भनेर फाइल दिएपछि प्रश्न राख्न नपाउँदै उहाँले त ‘यति पनि आउँदैन, के गरेको ? फाइन लाग्छ भनेर थाहा छैन ?यति बेलासम्म के गरेर बसेको हो ?यति नम्बरको कोठामा गएर यो सबै मिलाएर आउनुस् । यति पनि नजान्ने ?’ भन्दै एक्कासी जंगिन थाल्नुभो । सर्वसाधारणप्रति सरकारी कर्मचारीको व्यवहार रुखो हुन्छ रे भन्ने मैले सुनेको मात्र थिएँ । तर त्यो दिन म आफैंले भोगें पनि । शुक्रबार परेकाले धेरै लाइन त थिएन । तरती कर्मचारीको व्यवहार थोरै मानिस भएपनि रुखो थियो । आफ्नै काम सक्काउने ध्याउन्नले होला, कर्मचारीले जे भनेपनि हामी जस्ता सर्वसाधारण पनि उनीहरुको रुखो व्यवहारलाई बेवास्ता गरिरहेका थियौं ।

यो त उदाहरण मात्र हो । सरकारी कर्मचारीको व्यवहार सर्वसाधारणप्रति रुखो हुन्छ भन्ने गुनासो धेरैले गरिरहेका हुन्छन् । तर आफ्नो काम सक्काउनै पर्छ, नत्र समस्या पर्न सक्छ भन्ने सोंचका साथ धेरैले आवाज नै उठाउँदैनन् । उनीहरुको नमिठो व्यवहारलाई पचाइदिन्छन् । हुन त सबै सरकारी कर्मचारीको व्यवहार नराम्रो नै हुन्छ भन्ने मेरो मनसाय पक्कै पनि होइन । केही यस्ता सरकारी कर्मचारी पनि हन्छन्, जसको व्यवहारले मन लोभ्याउँछ र फरि पनि जाउँ–जाउँ हुन्छ । म आफैं थोरै मात्र सरकारी अफिसमा गएपनि केही राम्रा र मिठासपूर्ण व्यवहार गर्ने कर्मचारीलाई भेटेको छु । तर केही बाहेक धेरैको व्यवहार भने रुखो नै हुने गरेको छ । त्यो दिनको व्यवहारले मलाई अहिले पनि नराम्रो अनुभव हुन्छ । केही नजानेका कुरा अरुलाई सिकाउनुपर्छ, बुझाउनुपर्छ भन्ने विषयमा हामीलाई सानैदेखि सिकाइएको हुन्छ । तर व्यवहारमा भने लागू भएको कम मात्र पाइन्छ ।

हामी आम नागरिकले अहिलेको अवस्थामा हरेक कुराको कर तिरिरहेका हुन्छौं । सरकारले आजको अवस्थामा त झन् हरेक कुराको कर नागरिकको ढाड सेक्ने गरेर लिइरहेको छ । महंगी उस्तै छ, आम नागरिक बढी कर तिर्ने व्यवस्था आएपछि आजित छन् । आम नागरिकले तिरेको करको नै तलब खाएर उही आम नागरिकलाई नै रुखो व्यवहार देखाउनु उचित हो त ? अवश्य पनि होइन । कुनै पनि व्यक्ति जन्मेदेखि नै जानेर आएका हुँदैनन् । सबैले समय अनुसार नै सिक्दै जाने नै हो । यहाँ त सबै कुरा आमाको गर्भबाट सिकेर आएको जस्तै व्यवहार गरिन्छ । त्यो किन ? अहिलेसम्म बुझ्न सकिएको छैन । सरकारी कामका विषयमा पनि सबैले सबै कुरा जानेका हुँदैनन् । नजानेका विषयमा यो गर्दा यस्तो हुन्छ है, यो फाइलका लागि यो कागजात पुगेन भनेर शिष्ट भाषामा भन्दा पनि के नै पो जान्छ र जस्तो हुन्छ कहिलेकाहीं ।

सरकारी कार्यालय नै हो । काम पनि धेरै हुने भएकाले भीड पनि धेरै नै हुन्छ । तर भीड भयो भन्दैमा रिस पोखेर सर्वसाधारणलाई अशिष्ट भाषामा गाली गर्नु, केही पनि नजानेको भन्दै उल्टो गाली गर्नु राम्रो त अवश्य पनि होइन । तर नेपालको धेरै सरकारी अफिसमा यही व्यवहार चल्छ । त्यही भीडलाई व्यवस्थित गरेर मिठासपूर्ण बोलीले केही छिन धैर्य गुर्नस् तपाईंको काम हुँदै छ भन्दैमा समय धेरै नै जाने पनि होइन । हो, कहिलेकाहीं कोही व्यक्तिले बिना कारण लफडा मच्चाइरहेका पनि हुन्छन् । तर आम नागरिकको सेवाका लागि भनेर नै सरकारी अफिसमा काम गर्न गइसकेपछि लफडा मच्चाउने व्यक्तिलाई पनि सम्झाएर बुझाउन सक्नुपर्छ । झगडा गरिहालेको भएपनि त्यहस्ता व्यक्तिलाई सबै कुराको बारेमा जानकारी गराउन सक्ने ल्याकत उनीहरुले राख्नुपर्छ ।

नबुझ्नेलाई बुझाउन सक्नुपर्छ । होइन भने कसरी आम नागरिकको सेवा गर्न सकिन्छ र भन्ने विषयमा पनि रुखो व्यवहार देखाउनेले सोच्नुपर्ने समय त अवश्य पनि आइसकेको छ ।कहिलेकाहीं लाग्छ, सरकारी कर्मचारीका रुपमा नाम निकाल्दैमा त्यति धेरै घमण्ड गर्नुपर्ने कारण नै के छ र ?आखिर सबैले बाँच्नका लागि काम त गर्नै पर्छ र आफ्नो क्षमता अनुसार काम पनि गरिरहेका हुन्छन् । नराम्रो व्यवहार मात्र होइन, सर्वसाधारणलाई फाइल पनि आफैं खोज्न लगाइने व्यवहार पनि हुने रहेछन् । म आफैंलाई पनि फाइल फाइल खोज्न लगाइएको छ । म लगभग ३ दिन जति सरकारी अफिसमा गएँ होला । हस्ताक्षर नमिलेर जाँदा पनि सोधपुछमा जाँदा आफ्नो फाइल खोज्नुस् भनियो र त्यो गरें पनि । किन कि मेरो काम जसरी पनि सिध्याउनु थियो त्यो समयमा । त्यो रुखो व्यवहार र वेवास्ता देख्दा अहिलेसम्म पनि मन कटक्क खान्छ ।

सायद अन्य सर्वसाधारणलाई पनि त्यस्तै व्यवहार भयो होला । फरक यत्ति हो, धेरैले बोल्न सक्दैनन् । नेपालीमा एउटा उखान नै छ नि, ‘सरकारी काम, कहिले जाला घाम’ भन्ने ।कहिलेकाहीं लाग्छ, नेपालका सरकारी अफिसका काम पनि यही उखानसँग ठ्याक्कै मिल्छ । काम हुँदा–हुँदै १ घन्टाभन्दा बढी खाजा खानु छ भनेर सर्वसाधारणलाई कुराएर राखिदिने र चलन नै भइसकेको छ यहाँ । खाजा खान र ट्वाइलेट जान त्यही धेरै समय लाग्छ जस्तो त लाग्दैन । ढिलो खाने केही अपवादका व्यक्तिबाहेक धेरैलाई खाजा खान समय त लाग्दैन होला । फेरि पनि उनीहरु सर्वसाधारणको कामलाई रोकाएर बसिदिन्छन् । खाजा खान हुन्न भन्ने होइन । तर खाजा खाएर भ्याइसकेपछि पनि समय व्यतित गरेर त्यसबै बसिरहँदा काम कसरी भ्याउने होला भन्ने तर्फ पनि सोच्नुपर्छ ।

अर्को कुरा सर्वसाधारण पनि कुनै सरकारी कार्यालयमा जाँदा फुर्सद भएर गएका हुँदैनन् । उनीहरुले पनि घरका सबै काम सिध्याएर त्यहाँको काम आज भ्याउनु छ भन्ने सोंचका साथ गएका हुन्छन् । समय सरकारी कर्मचारीका लागि मात्र महत्वर्पूर्ण हुँदैन, सर्वसाधारणका लागि पनि महत्वपूर्ण हुन्छ । अनि त्यही समयको महत्व किन नबुझ्ने उनीहरुले ? जबकी आम नागरिकले तिरेको करको नै उनीहरुले तलब खाइरहेका हुन्छन् । हुन त नागरिकको करले सरकारी कर्मचारीको तलब मात्र आउँछ भन्ने होइन । देशका हरेक विकास निर्माणका काम पनि त्यही करबाट नै सम्पन्न भइरहेको हुन्छ । तर जिम्मेवारी लिएपछि हरेक व्यक्तिले निभाउनु पनि पर्छ ।

समय व्यतित गरेर बस्नुभन्दा ‘मेरै काम हो, बरु छिटो नै भ्याएर बस्न पाए सजिलो हुन्छ ।’ भन्ने सोंचले काम गर्ने हो भने धेरै समय पनि लाग्दैन । भोलिपल्टको काम पनि केही हलुका हुन्छ आफैंलाई नै । मगएको थोरै सरकारी अफिसमध्ये केहीमा मात्र राम्रो व्यवहार पाएको छु । बाँकी सबैले सर्वसाधारणलाई यो पुगेन, त्यो पुगेन, यहाँ जानुस्, त्यहाँ जानुस् भनेर अशिष्ट बोलीमा भनेको मात्र सुनें । त्यही कुरालाई राम्रो भाषा तथा मिठासपूर्ण बोलीले भन्न सक्ने हो भने अवश्य पनि सरकारी कर्मचारी र अफिसप्रति आम नागरिकले विश्वास गर्न सक्नेछन् । सरकारी कर्मचारी भनेको आम नागरिकको करको तलब खाएर उनीहरुको नै सेवागर्ने व्यक्ति हुन् । अनि उनीहरुको नै सेवा गर्दा किन रिसाउनु र अशिष्ट व्यवहार देखाउनु ?यो सोचनीय पक्ष हो ।

हो, हरेकलाई सधैं एकनासको काम गर्दा कहिलेकाहीं झिजो लाग्नु स्वभाविक कुरा मान्न सकिन्छ । जोकोहीलाई पनि फरक काम गर्न पाए हुन्थ्यो भन्ने अवश्य पनि लाग्छ । तर आफैंले रोजेर कडा मेहनत गरेर कर्मचारी बनिसकेपछि त्यसको मर्म अनुसार काम गर्नुपर्छ । सर्वसाधारणलाई रुखो व्यवहार देखाएर मात्र समस्याको समाधान हुने पक्कै पनि होइन । एउटै काम गर्नुप¥यो भन्ने सोंच राख्ने हो भने उक्त कामलाई त्यागेर आफूलाई मन लागेको विषय रोज्नु नै उचित हुन्छ । सरकारी जागिरे हुँ भन्दैमा घमण्ड सहित आम नागरिकलाई रुखो र अनुचित व्यवहार देखाउनु पक्कै पनि सभ्य नागरिकको पहिचान होइन । सरकारी कर्मचारी पनि सामान्य मानिस नै हुन् । उनीहरुले पनि आफूले आफैंलाई सर्वसाधारणको ठाउँमा राखेर हामीलाई पनि यस्तै व्यवहार भयो भने के गर्ने होला भन्ने सोच्ने कि नसोच्ने त ?के रुखो व्यवहार नै धेरै जस्तो सरकारी जागिरेको पहिचान हो त ?

बेलाबेलामा सरकारी कर्मचारीका लागि तालिम पनि हुन्छन् । तर धेरैको सर्वसाधारणप्रतिको व्यवहार देख्दा त तालिममा पनि जर्बजस्ती र समय व्यतितका लागि मात्र गएका हुन् कि जस्तो पनि लाग्छ । या त फेरि तालिममा सर्वसाधारणलाई कसरी र के कस्तो व्यवहार गर्ने भन्ने विषयमा सिकाइन्न, त्यो भने थाहा भएन । तर उनीहरुका लागि आयोजना हुने तालिममा सर्वसाधारणलाई कस्तो व्यवहार देखाउने भन्ने विषयमा पनि जानकारी गराउनु अपरिहार्य छ ।

जति मिठो बोलेर नजानेकालाई सिकाउन सकियो, त्यति नै हामी आफैंले पनि धेरै कुरा जानिरहेका हुन्छौं । एक हिसाबले भन्ने हो भने जानेको कुरा अन्य व्यक्तिलाई सिकाउनु पनि आफ्नै ज्ञान बढाउनु हो । रुखो र त्यसै पनि मै मात्र हुँ भन्ने सोंच त्यागेर सर्वसाधारणलाई सही तरिकाले सेवा दिनु हरेक सरकारी कर्मचारीको दायित्व हो र वर्षौं मेहनत गरेर सेवामा प्रवेश गरिसकेपछि त्यो पेसाको मान पनि राख्नुपर्छ । सबै सरकारी कर्मचारीको व्यवहार रुखो र उदेक लाग्दो हुन्छ भन्ने अवश्य पनि होइन । तर त्यस्तो व्यवहार गर्नेले पनि एकपटक आफूले आफैंलाई अन्य सर्वसाधारणको स्थानमा राखेर सोच्नुपर्छ, ‘यदि मलाई पनि कोही सरकारी कर्मचारीले आफ्नो काममा जाँदा यस्तै रुखो र कडा व्यवहार गरे भने के गर्ने होला ?’ सरकारी कार्यालय तथा त्यहाँ काम गर्ने कर्मचारीले आफूप्रति विश्वसनीयता कायम राख्ने नै हो भने आफ्नो व्यवहारमा परिर्वतन ल्याउनु जरुरी छ ।

तपाईको प्रतिक्रिया