भ्रमण वर्षमा पर्यटक भित्र्याउन गण्डकीकाे आधा योगदानः मुख्यमन्त्री गुरुङ

समाधान संवाददाता २०७६ पुष १७ गते ११:५४

समाधान संवाददाता
पोखरा

एकै वर्षमा २० लाख विदेशी पर्यटक भित्र्याउने लक्ष्यसहित नेपाल भ्रमण वर्ष २०२० बुधबारदेखि सुरु भएको छ । भ्रमण वर्षको उद्घाटन केन्द्र सरकारले काठमाडौं र गण्डकी प्रदेश सरकारले पोखरा लेकसाइडबाट गरे । ७ वटै प्रदेशबाट भ्रमण वर्ष सुरुआत गरिएको छ ।

फेवाताल किनारमा भ्रमण वर्षको उद्घाटन बुधबार गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत प्रदेशका ११ वटै जिल्लाका जनप्रतिनिधिको सहभागितामा गरिएको थियो । कार्यक्रममा मुख्यमन्त्री गुरुङले भ्रमण वर्ष सफल हुने या नहुने भन्ने विषय गण्डकी प्रदेशको हातमा रहेको दाबी गरे । उनले नेपाल आउने बाह्य पर्यटकमध्ये ४० प्रतिशत गण्डकी प्रदेशमै आउने भएकाले त्यसले निर्णायक भूमिका खेल्ने दाबी गरेका हुन् ।

Advertisement

‘नेपाल सरकारले भनेको २० लाख पर्यटकमध्ये कम्तीमा ८ लाख गण्डकी प्रदेशमा आउँछन्,’ मुख्यमन्त्री गुरुङले भने, ‘यदि ती पर्यटकलाई यहाँ आउने पूर्वाधार बनाइएन भने, प्रदेश तथा स्थानीय तह, पर्यटन व्यवसायी लागेनन् भने काठमाडौंमा त भ्रमण वर्ष सुरु भयो तर, त्यो अपुरो हुन्छ । अधुरो हुन्छ ।’ उनले नेपाल आएका पर्यटकमध्ये ८ लाखमात्रै होइन १० लाख पर्यटक भित्र्याउने गरी लाग्न सरोकारवालालाई अनुरोध गरे । नेपाल सरकारले २० लाख पर्यटक भित्र्याउन राखेको लक्ष्यमा गण्डकीले आधा योगदान गर्ने उनको भनाइ थियो ।

मुख्यमन्त्री गुरुङले गण्डकी प्रदेश धार्मिक, सांस्कृतिक तथा प्राकृतिक रुपले सबैभन्दा धनी भएकाले पर्यटक गण्डकी प्रदेशमा आउने विश्वास राखे । ‘हाम्रो प्रदेशमा सर्वश्रेष्ठमा पनि सर्वश्रेष्ठ धेरै कुरा छन्, त्यसले पर्यटकलाई आकर्षित गर्छ,’ उनले भने, ‘हाम्रो प्रदेशमा सबैभन्दा अग्लो ठाउँमा ताल, भन्ज्याङ, गहिरो गल्छी सबै छ ।’

Advertisement

‘हिमागृह÷रत्न मन्दिर १५ खुल्छ ’
केही दिनअघिसम्म गण्डकी प्रदेश सरकारले भ्रमण वर्षको उद्घाटन हिमागृह र रत्नमन्दिरबाट गर्ने बताउँदै आएको थियो । प्रदेशको भनाइ थियो, ‘राजतन्त्र ढलिसक्यो । अब जनताका लागि ती दरबार खुल्नुपर्छ । हामी जनवरी १ नेपाल भ्रमण वर्षको उद्घाटन त्यही प्रांगनबाट गर्छौं ।’

तर, बुधबार बाराही घाटमा उद्घाटन कार्यक्रम भयो । मुख्यमन्त्री गुरुङले भने, ‘आजकै दिन ती दरबार खोल्ने भनेका थियौं । केही कारणबश खुल्न सकेन । केही दिनमा खुल्छ ।’ उनले नेपाल ट्रस्टका अध्यक्ष ईश्वर पोखरेलसँग छलफल पनि चलिरहेको जानकारी दिए ।

‘माननीयले हिमागृह÷रत्नमन्दिर सबैको सम्पत्ति हो । त्यसको लेखाजोखा गर्नुपर्‍यो । समय केही लाग्ने भयो भन्नु भएको छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘१५ दिनभन्दा नमिल्न सक्छ । तर, ती दुवै दरबार नेपाल सरकार र नेपाल ट्रस्टसँग समन्वय गरेर यही वर्ष खोल्छौं ।’ उनले नेपाल भ्रमण वर्षलाई सघाउन पनि ती दरबार खोल्ने प्रतिबद्धता व्यक्त गरे ।

२० होइन ५० लाख पर्यटक ल्याउँछौंः मन्त्री लम्साल
गण्डकी प्रदेश सरकारले पर्यटनलाई नै मुख्य आधार मानेर विभिन्न भ्रमण वर्ष मनाइरहेको छ । गत वर्ष प्रदेशले १५ लाख पर्यटक भित्र्याउने गरी आन्तरिक भ्रमण वर्ष मनाएको थियो । बुधबार भएको नेपाल भ्रमण वर्ष कार्यक्रममा गण्डकी प्रदेश पर्यटनमन्त्री तथा भ्रमण वर्ष गण्डकी प्रदेश संयोजक विकास लम्सालले आफूहरु लक्ष्यमा पुगिसकेको र केही ‘समीक्षा’ बाँकी रहेको बताए ।

नेपाल सरकारले भ्रमण वर्ष घोषणा गरिरहँदा गण्डकी प्रदेशको छिमेकी राष्ट्र भ्रमण वर्षसमेत सुरु भएको छ । प्रदेशको अबको योजना २० लाख पर्यटक एक्लै ल्याउने घोषणा गरिसकेको छ । भ्रमण वर्ष कार्यक्रममा मन्त्री लम्सालले २० नभई ५० लाख पर्यटक ल्याउन प्रदेश सक्षम भएको जिकिर गरेका छन् ।

‘२० लाख पर्यटक हाम्रा लागि त्यति ठूलो समस्या होइन । छिमेकी राष्ट्रका पर्यटकलाई मनाउन सक्यौं भने बाहिर जानु पर्दैन,’ मन्त्री लम्सालले भने, ‘२० लाखमात्र होइन । हामी सबै लागौं ५० लाख पर्यटक यो भ्रमण वर्षमा ल्याउन सक्छौं ।’ उनले भ्रमण वर्षलाई सघाउन पूर्ण तरिकाले लाग्ने जनाए । पोखरा महानगर मेयर मानबहादुर जिसीले पर्यटकको स्वागत र सबैको टाउको गनेर भ्रमण वर्षलाई सहयोग गर्न तयार रहेको बताए ।

भ्रमण वर्ष उद्घाटनअघि लेकसाइड फिस्टेल गेटदेखि बाराही घाटसम्म विभिन्न जातजातिका झाँकी प्रस्तुत गरिएको थियो । झाँकीमा च्याब्रुङ, थारु, लाखे, घाटु लगायत प्रस्तुति देखाइएको थियो ।

तपाईको प्रतिक्रिया