टोपी दिवसमा युवाले उठाए लिपुलेक कालापानीको मुद्दा

समाधान संवाददाता २०७६ पुष १७ गते १२:५५

समाधान संवाददाता
पोखरा

७ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा नेपाली टोपी लगाएर युवाले लिपुलेक र कालापानीको मुद्दा फेरि उठाएका छन् । पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तार लगायतका विषयले स्थान लिँदा भारतले मिचेको नेपाली भूमि लिपुलेक र कालापानीको मुद्दा सेलाएको अवस्थामा नेपाल टोपी प्रतिष्ठान गण्डकीले ढाका टोपी लगाएर प्रदेश सरकार समक्ष उठाएको हो ।

विभिन्न सरकारी दस्तावेज तथा जनगणना अनुसार उक्त भूमि नेपालको हो भनेर स्पष्ट छ । नेपाल भारत सीमा समस्याको प्रमुख कारण पश्चिमी सीमा बिन्दु यकीन नहुनु नै हो । नेपालले आफ्ना प्रमाणका आधारमा गर्दै आएको दाबीलाई भारतले नमान्दा यो समस्या आएको हो ।

Advertisement

प्रतिष्ठान गण्डकीले प्रदेश प्रमुख अमिक शेरचनलाई नेपाली टोपी लगाएर लिपुलेक, लिम्पियाधुरा र कालापानीको भुभागबारे जिज्ञासा राखेका थिए । जिज्ञासामा प्रदेश प्रमुखले सरकारको माथिल्लो स्तरबाटै उक्त भूमिबारे राष्ट्रिय मुद्दा बनाउनुपर्ने धारणा व्यक्त गरे ।

यसैबीच १ कार्यक्रममा प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्साल, सामाजिक विकास मन्त्री नरदेवी पुन, भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेत, आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमान, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर पुन, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, प्रदेशका सांसदहरु र पोखरा महानगरका मेयर मानबहादुर जिसी लगायतलाई नेपाली टोपी लगाएको थियो ।

Advertisement

नेपाल भ्रमण वर्ष २०२० को सुरुआतसँंगै हवाई माध्यमबाट पोखरा भित्रिने अन्तर्राष्ट्रिय पर्यटकलाई नेपाली ढाका टोपी लगाएर पोखरामा स्वागत गरेको प्रतिष्ठानका अध्यक्ष महेश्वर सिंह भण्डारीले जानकारी दिए ।

विगत ६ वर्षयता नेपाली युवाले अंग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ तारिखलाई ढाका टोपी दिवसका रुपमा मनाउँदै आएका छन् ।
नेपाली टोपी दिवस मनाउनुको प्रमुख उद्देश्य नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपाली मूलका नागरिकको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित गराउनु र राष्ट्रियता बचाउनु रहेको प्रतिष्ठान गण्डकीका सचिव सचिन रानाभाट बताउँछन् ।
के हो त ढाका ?
ढाका टोपी नेपाली पहिचान हो । नेपाल भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने आलंकारिक धागोलाई सचिका भनिन्छ । कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको हो । ढाका टोपीको ढाका शब्दलाई बंगलादेशको राजधानी ढाकासँग जोडेर ढाका टोपीलाई नेपालको आफ्नै होइन, आयातीत भन्ने गलत प्रचार गरिएको छ, जुन मिथ्या हो ।

तपाईको प्रतिक्रिया