अनि फर्केनन् लाहुरे….

मोहसिन अलि मियाँ
गोरखा
अर्जुन लाहुर फर्केको १२ दिनमात्रै बितको थियो । असारमा विवाह गरेपछि अर्जुनले जीवनसाथीसँग राम्रोसँग न्यास्रो मेट्नै पाएका थिएनन् । त्यही न्यास्रो मेट्न र परिवारको यादले अर्जुन १ महिना छुट्टी मिलाएर नेपाल आए ।
लाहुरे सपनालाई पूरा गर्न बिदा सकेर पुस ५ गते अर्जुन फेरि भारत फर्के । श्रीमती, परिवार र आफन्तलाई भने, ‘छिट्टै आउँछु, न्यास्रो नमान्नु ल ।’ अर्जुनले बुधबार श्रीमतीसँग कुराकानी गर्दै थिए । एक्सासी आवाज आयो, ‘ड्याम्म ।’ आवाजसँगै कुराकानी शिलशिला काटियो । श्रीमतीले फेरि फाेन गरिन् तर मोबाइलमा स्विच अफको सन्देश दियो ।
घरपरिवारमा खैलाबैला भयो । केही डर र आशंकाकै बीच भारतीय सेनाबाट बिहान ११ बजे खबर आइपुग्यो । दुखद खबरले खबरले परिवारसँगै गाउँनै स्तब्ध बनायो । खबर थियो, ‘कश्मिरमा भएको गोली हानाहानमा अर्जुनले ज्यान गुमाए ।
‘अस्ति भर्खरै असार २२ गते दुलेगौंडाबाट दुलही ल्याएको थियो’ ठूलिआमा नन्दकुमारीले सम्झिइन् । आफन्त पनि स्तब्ध बने । ‘छुट्टी मिलाएर ३÷४ महिनामै आउँछु भनेको थियो’ उमेरले उस्तै रहेका भतिज पर्ने वासुदेव थापाले भने ‘एक्कासि यस्तो खबर सुन्दा आकाशले चेपे झै भयो, कसरी सहने ?’
‘साह्रै मिजासिला थिए अर्जुन’ गहभरी आँसु बनाउँदै ठूलीआमा नन्दकुमारी थापा सुक्सुकाउँदै थिइन् । गोरखा नगरपालिका ५ रिप ढाडगाउँका अर्जुन थापा जम्बु कस्मिरको लाइन अफ कन्ट्रोलको भिडन्तमा मारिएपछि अहिले उनको गाउँ शोकमा डुबेको छ । ठूलीआमा नन्दकुमारी भक्कानिन्छिन्, ‘राम्ररी बस्नुस् है भन्दै १२ दिनअघि बिदा भएर गएको छोरो अहिले यस्तो खबर सुन्नुपर्यो ।’
४ बर्षअघि भारतीय सेनामा भर्ती भएका थिए, अर्जुन । २५ वर्षको उमेरमै अर्जुनले ज्यान गुमाए । रिप गाउँ पुग्दा अर्जुनको घरमा ताला नलागेपनि ढोका भने खुला थिएन । उनको मृत्युको खबरले सन्नटा छ घरभरि । पल्लो घरमा छिमेकी जम्मा भएका थिए । तर बोल्ने हिम्मत कसैसंग थिएन ।
‘हामी त खाना खाएर बसेका थियौ, अंकलको घरमा एक्कासी रुवावासी चल्यो’ सँगैको घरमा भएका वासुदेवले भने ‘बुझ्न जाँदा यस्तो अपत्यारिलो खबर सुन्नुपर्यो ।’
अर्जुनको शव काकडभित्ता ल्याउने तयारी छ । तत्काल हिँड्न भारतीय सेनाले आग्रह गरेपछि बुहारीसहित केही आफन्तलाई लिएर अर्जुनका बुवा प्रेमबहादुर थापा बुधबार बेलुका ५ बजे घरबाट निस्किएका थिए । हाल उनको परिवार काकडभित्ता पुगिसकेको छ ।
अर्जुन एकमात्र छोरा थिए । उनको मृत्युको खबरले घरमा रहेकी दिदी प्रमिला बोल्न सक्ने अवस्थामा थिइनन् । गोठमा बाँधिएको गाईलाई छिमेकीले नै घाँस कुँडो गरिदिएका छन् ।
कश्मिरमा यो यो घटनामा भारतको महाराष्ट्रस्थित सतारा जिल्ला निवासी सावन्त सन्दीपको पनि ज्यान गुमाएका छन् ।
तपाईको प्रतिक्रिया