२३ वर्षपछि साहित्य सम्मेलन

समाधान संवाददाता २०७६ पुष १८ गते १२:३४

कृष्ण न्यौपाने
दमौली

दमौलीमा दोस्रो राष्ट्रिय साहित्य सम्मेलन हुने भएको छ । २०५३ फागुन १ गते पहिलो सम्मेलन भएकोमा गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँले आगामी फागुन २४, २५ र २६ गते दोस्रो राष्ट्रिय साहित्य सम्मेलन आयोजना गर्न लागेको हो ।

भाषा, साहित्य र संस्कृतिको उत्थान गर्दै साहित्यिक जागरणका लागि राष्ट्रिय साहित्य सम्मेलन गर्न लागिएको सोमबार आयोजित पत्रकार सम्मेलनमा वाङ्मयका अध्यक्ष अर्जुन अधिकारीले बताए । नेपाली भाषाका धरोहर आदिकविको जिल्ला भए पनि साहित्यिक कार्यक्रम निकै कम हुने गरेकाले साहित्यक जागरण ल्याउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको अधिकारीले बताए ।

Advertisement

अधिकारीका अनुसार हाल नेपाली भाषामाथि आक्रमण बढ्दै गएकाले भाषामाथिको आक्रमण रोक्ने प्रयास स्वरुप कार्यक्रम गर्न लागिएको छ । ‘आदिकवि भानुभक्त, वेदव्यास जन्माएको यस जिल्लामा साहित्यिक कार्यक्रम कम भएका छन्, साहित्यको जगेर्ना गर्न कार्यक्रम फलदायी हुनेमा विश्वस्त छौं,’ अधिकारीले भने ।
साहित्य सम्मेलनमा ७ वटै प्रदेशबाट रचना संकलन गरिनेछ ।

संकलन गरिएका कवितामध्ये उत्कृष्ट छनोट गरी साहित्य सम्मेलनमा वाचन गराइने अध्यक्ष अधिकारीले बताए । उनका अनुसार संकलन भएका कवितामध्ये अन्तिम ३० वटा कवितालाई प्रतियोगितामा सहभागी गराइनेछ । २३ वर्ष अघिको प्रतियोगितामा बागलुङका साहित्यकार भूपिन व्याकुलको ‘नदीहरु मान्छे जस्ता हुँदैनन्’ कविता प्रथम उत्कृष्ट भएको थियो ।

Advertisement

सम्मेलनमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश नगद ५० हजार, ३० हजार र २० हजार प्रदान गरिनेछ भने सान्त्वना हुने ७ जनालाई जनही १० हजार प्रदान गरिने छ । साहित्य सम्मेलन सम्पन्न गर्न प्रतिष्ठानका अध्यक्ष अधिकारीको संयोजकत्वमा १ सय २१ सदस्यीय मूल समारोह समिति र विभिन्न उपसमिति गठन गरिएको छ । सम्मेलन सम्पन्न गर्न करिब २१ लाख खर्च हुने अनुमान गरिएको सम्मेलनका आर्थिक समिति संयोजक समुन्द्र गोदारले बताए । सम्मेलनबाट बचेको रकमबाट अक्षयकोष स्थापना गर्ने सोच राखिएको छ ।

नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्यले लामो समयपछि हुन लागेको साहित्य सम्मेलन तनहुँका लागि गौरवको विषय भएकाले सञ्चारमाध्यमको तर्फबाट पूर्ण सहयोग रहने बताए ।
प्रतिष्ठानले प्रत्येक महिनाको दोस्रो शनिबार साहित्यवाचन कार्यक्रम गर्दै आएको छ । मासिक साहित्यवाचनमा जिल्लाका साहित्यकारले आफ्नो रचनावाचन गर्दै आएको प्रतिष्ठानका सचिव अन्जु दाहालले जानकारी दिइन् ।

तपाईको प्रतिक्रिया