हिमालको सुन्दरता नियाल्न मानहुँकोट

समाधान संवाददाता २०७६ पुष १८ गते १३:३५

कृष्ण न्यौपाने
दमौली

हिमालको मनोरम दृश्य नियाल्न दमौलीबासीले मानहुँकोट उत्कृष्ट गन्तव्य बनाएका छन् । सदरमुकाम दमौलीबाट नजिकै रहेको मानहुँकोटबाट ५ वटा हिमालको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ ।

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको व्यास नगरपालिका ५ स्थित मानहुँकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको दृश्यावलोकन गर्न सकिन्छ । व्यास नगरपालिका ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले भ्रमण वर्ष २०२० का लागि हिमाल हेर्न उत्कृष्ट गन्तव्य मानहुँकोट हुने बताए । मानहुँकोटमा बिहानै घाम लाग्ने भएकाले पनि आन्तरिक पर्यटक बिहानै मानहुँकोट पुग्ने गरेको वडाध्यक्ष श्रेष्ठ बताउँछन् । ‘दमौली बजारमा दिउँसो १२ बजेसम्म घाम लाग्दैन तर मानहुँकोटमा बिहान ७ बजे नै घाम लागिसक्छ,’ उनले भने, ‘बिहानै हिमाल पनि खुल्ने भएकाले हिमालको दृश्यावलोकनका लागि पर्यटक मानहुँकोट पुग्ने गरेका छन् ।’

Advertisement

वडाध्यक्ष श्रेष्ठका अनुसार नेपाल भ्रमण वर्ष २०२० लक्ष्य गरी वडाले ‘हिमाल हेर्न मानहुँकोट जाऔं’ अभियान सञ्चालन गरेको छ । नेपाल भ्रमण वर्ष सफल पार्न धेरैभन्दा धेरै पर्यटक मानहुँकोटमा भित्र्याउने लक्ष्य राखेको श्रेष्ठले बताए ।

मानहुँकोटमा आन्तरिक पर्यटकको चाप बढ्न थालेपछि स्थानीयबासी घर घरमा होटल खोलेका छन् । मानहुँकोट खाजा घरका सञ्चालक रेवती आलेले शुक्रबार र शनिबार बाहेक मानहुँकोटमा दैनिक २÷३ सय आन्तरिक पर्यटक आउने गरेको बताइन् । उनका अनुसार शुक्रबार, शनिबार र बिदाको दिनमा मानहुँकोटमा दैनिक ५÷६ सय पर्यटक पुग्ने गरेका छन् ।

Advertisement

‘शुक्रबार राति बास बस्ने गरी नै आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ,’ उनले भनिन्, ‘बिहान घाम लागेर हिमाल खुलेपछि दृश्य हेरेर आन्तरिक पर्यटक मोहित हुने गरेका छन् ।’

मानहुँकोटबाट दमौली बजार लगायत आसपासका क्षेत्र छर्लंग देखिन्छ । जाडो मौसममा न्यानो घाम र बिहान सूर्योदय र बेलुकाको अस्ताउँदो सूर्य नजिकबाट नियाल्न पाउँदा आनन्द लाग्ने व्यास ३ का विनय शाहले बताए । मानहुँकोटबाट दमौली बजार, मादी नदी, साँगे खोला, तनहुँ जलविद्युतको ड्याम निर्माणस्थल एवं मनोरम दृश्य देख्न सकिन्छ ।

मानहुँडाँडा प्राकृतिक भ्युटावर हो । यहाँबाट दमौली बजारका साथै आसपासका ठाउँ देख्न सकिन्छ । मानहुँडाँडाबाट दृश्यावलोकन गर्न आउने पर्यटकको सुरक्षालाई ध्यानमा राखी व्यास नगरपालिकाले डाँडाको छेउमा रेलिङ निर्माण गरेको छ । नगरपालिकाको २५ लाख र वडा कार्यालयको ५ लाख लागतमा रेलिङ निर्माण गरिएको वडाध्यक्ष श्रेष्ठले बताए ।

मानहुँडाँडा पुग्न सडक कालोपत्रे गर्न सुरु गरिएको छ । सडक छेउमा नाला निर्माणको काम अन्तिम चरणमा पुगेको र कालोपत्रे छिट्टै सुरु हुने बताइएको छ । सडकका लागि संघ सरकारको ७ करोड बजेट विनियोजन भएको थियो ।

सोही वडाको अलैंचेबाट मानहुँकोटसम्म पुग्ने साढे ६ किमी बाटो कालोपत्रेका लागि काठमाडौंस्थित रानीबारी कन्स्ट्रक्सन प्रालिले जिम्मा पाएको छ । मानहुँसम्म पुग्ने बाटो कालोपत्रे भएपछि पर्यटकको संख्या अझै वृद्धि हुने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया