नेताको विरोधाभाषपूर्ण चरित्र

समाधान संवाददाता २०७६ पुष १८ गते १४:४२

युवराज पौडेल
हाम्रो देशको राजनीति अझै शुद्ध भइसकेको छैन । लोकतन्त्र स्थापनाको ७ दशक पुग्दा पनि नेपालमा लोकतन्त्र बलियो भइसकेको छैन । प्रत्येक दलको आन्तरिक लोकतन्त्र कमजोर अवस्थामा छ । ठूला भनिएका दलको लोकतन्त्रप्रतिको विश्वास व्यावहारिक रुपमै कमजोर देखिएको छ । आन्तरिक संरचनामा लोकतन्त्रको धुकधुकी सकिनै लागेको छ । अहिले सरकारमा भएको दल नेकपामा २ ठूला नेता केपी ओली र प्रचन्डले निर्णय गरेपछि ती निर्णय वैधानिक हुन्छन् । कांग्रेसमा शेरबहादुरले बोल्नु भनेको जंगबहादुरले बोले जस्तै हो । शेरबहादुरले गरेको निर्णय उल्ट्याउने तागत कसैले राख्दैन । संघीय समाजवादीमा उपेन्द्र यादव र बाबुरामले निर्णय गरेपछि भयो । यस्तो व्यक्ति केन्द्रित शक्ति अभ्यास सायद संसारको कुनै लोकतन्त्रमा हुँदैन होला । नेकपाको स्थायी समिति, पोलिटब्युरो, केन्द्रीय कमिटी सबै ‘प्यारालाइज्ड’ भएका छन् । कांग्रेसमा कुनै निर्णय संस्थागत हुँदैनन् । भातृ निकायको अध्यक्ष चुन्न महाभारत युद्धभन्दा बढी जटिलता भोगिरहेको कांग्रेस व्यक्तिवादी राजनीतिको माखे सांलोमा फसेको छ । नेविसंघ, तरुण दल जति भने पनिसंस्थामा आन्तरिक लोकतन्त्रको अभ्यास कम छ ।

आर्थिक पारदर्शिताका सन्दर्भमा झनै ठूलो समस्या छ । आफ्नो दलको र भातृ सगंठनको आयव्यय पारदर्शी राख्दैनन् । दलले आफ्नो खर्च कसरी चलाउँछन् भन्ने कुरा आम जनतालाई थाहा छैन । कर्णालीका किसानले भोेकमरीले आत्महत्या गर्दा ठूला दलका हजारौं हजार ‘होलटाइमर’ कार्यकर्ताको जीवनशैली अचम्म लाग्दो गरी फेरिएको छ । गाउँमा सरकारी कार्यालय राख्न नपाएर आपत छ । तर गाउँ–गाउँमा ठूला दलका भव्य पार्टी कार्यालय छन् । त्यसको खर्च कसरी व्यवस्थापन हुन्छ ? कसैलाई चासो हुँदैन । चप्पल लगाएर सिहंदरबार छिरेका नेता अरबपति भए, भोट हाल्ने जनता सडकमा जीवनको भिख मागिरहेका छन् । युद्धमा सँगै लडेकालाई शक्तिले अन्धभक्त भएको माउ कमरेडले चिन्दैनन्, उसले भेट्न पनि पाउँदैन । वर्ग परिवर्तनको महान् सपना लिएर हिँडेका आफैंले वर्ग परिवर्तन गरे । तर समाजमा वर्ग विभाजनको खाडल झनै पेचिलो बन्दै छ । केही नेताले जुनी फेरे, आम जनताले भोटो फेर्न पाएनन् । वास्तविक युद्ध लड्ने आज शरीरमा गोली बोकेर हिँडेका छन् । या अरबको भेडी गोठमा आफ्ना माउ नेताका अनुहार र विगत सम्झँदै टोलाइरहेका छन् ।

दलका नेताका हिजोका संघर्षकालका तस्बिर र आजको काया हेर्दा जो–कोही छक्क पर्न सक्छन् । हिजो आन्दोलन वा युद्धका समयमा निरोगी थिए, उकाली ओराली धेरै हिँड्थे । शारीरिक श्रम थियो, आज करोडौंको गाडीभन्दा बाहिर पाइला नराख्ने भएका छन् । जनता पुष÷माघको जाडोमा शरीर ढाक्न नसकेर रुँदै रात काट्दा आलिसान महलमा फाइबरको सिरकभित्र गुटमुटिएका छन् । जनता १ छाक खानका लागि रात–दिन पसिना बगाइरहँदा तिनीहरु जुम्लाको मार्सी भात मगाएर ‘फाइब स्टार’ होटलमा सपरिवार रमाउन सक्छन् । सुत्केरी व्यथा लाग्दा हेलिकोप्टर नपाएर थुप्रै आमाले कर्णालीमा ज्यान गुमाउँदै गर्दा तिनले आफ्ना दलका कार्यक्रममा वा व्यक्तिगत काममा राज्यको हेलिकोप्टर बिना रोकतोक प्रयोग गर्न सक्छन् । गरिबका छोराछोरीले ६ घण्टा हिँडेर स्कुल पुग्नुपर्ने, ६ महिनासम्म किताब नपाएर पढ्न नपाउने अवस्था छ । नेताका छोराछोरी अमेरिका, क्यानडा, अष्ट्रेलियामा पढिरहेका छन् । आन्दोलन वा युद्धमा गरिबका छोराछोरीलाई लडाउने तर आफ्ना छोराछोरी विदेशका प्रतिष्ठित विद्यालय वा विश्वविद्यालयमा पढाउने दोहारो चरित्र विशेषता बनेको छ ।

Advertisement

आफै भएको विकासलाई हामीले गरेका हौं भनेर गफ दिन नेताले छाड्दैनन् । यो २ दशकमा हामीसँग समान आर्थिक हैसियत भएका थुप्रै देश विकासको शिखरमा पुगिसक्दा हामी जहाँको त्यहीं छौं । डोजरे विकासको राग अलाप्नु बाहेक अर्काे विकासको कुनै योजना नै छैन । गाउँमा डोजर जाँदैमा विकास हुने भए अब देश अर्कै हुनु पर्थेन र ? गाउँ–गाउँ डोजरले सडक खनेर पाखा बारी रातै पारिएका छन् । जबकि गाउँमा मान्छे नै छैनन् । गाउँका मान्छेको सहरतर्फको बसाँइसराइँ रोक्नेतिर ध्यान छैन । रित्ता गाउँमा सडक पु¥याएर मात्र त्यसले राज्यलाई के प्रतिफल दिन्छ ? गाउँ–गाउँमा राम्रा–राम्रा घर छाडेर सहरमा थुप्रिने प्रवृत्तिलाई रोक्नेतर्फ राज्यको ध्यान किन जाँदैन ? सडक बनाएको केही महिनामै भत्किन्छ, नाली खनेको केही दिन मै पुरिन्छ । सार्वजनिक शौचालय केही महिनामै हेर्न नहुने हुन्छ । दिगो विकास भनेको यही हो ? गाउँको बाटो खनिन्छ, ठेक्का पाउनेले नेता, इन्जिनियरसँग मिलेर कमाउँछ, बाटो केही वर्षमै जस्ताको तस्तै हुन्छ । यो सबैले देखे–भोगेकै विषय हो ।

हाम्रा नेताले हाम्रा सरकारी विद्यालयमा विश्वास गर्दैनन् । हाम्रा सरकारी अस्पतालमा तिनले उपचार गराउँदैनन् । तिनको खानपान, उठ–बस, जीवनशैली आम जनतासँग मिल्दैन । ती छिनमै नेपाल र छिनमै विदेश सयर गर्छन् । नेताका श्रीमतीलाई कुनै जागिर वा पेसा व्यवसाय गर्नु पर्दैन । तिनीहरुलाई घुम्न सके, खान सके र किन्न सके हुन्छ । नेताका छोराछोरीले कुनै आयोग लड्नु पर्दैन, सामान्य जागिरका लागि तिनीहरुले संघर्ष गर्नुपर्दैन । फोनका भरमा तिनले भनेजस्तो जागिर पाउँछन् । युएनमा, दुतावासमा वा कुनै विदेशी आइएनजिओमा, राम्रो आम्दानी हुने ठाउँमा तिनले सजिलै काम पाउँछन् । साधारण जनताका छोराछोरीले जस्तो तिनका छोराछोरीले डिग्री एमफिल गरेर पनि २० हजारको जागिर खोज्न गल्ली–गल्ली जुत्ताका तलुवा फटाल्नु पर्दैन । एउटा शिक्षकले रातदिन गाउँमा बसेर मिहिनेत गरेर कमाउँदा आफ्नी श्रीमतीलाई वर्षदिनमा एउटा गुनियो किनेर दिन सक्ने हैसियत राख्दैन । तर नेताका श्रीमती एकै दिन सिंगापुर, हङकङ, भाटभटेनी, ठूलाठूला सुपरमार्केटमा लाखौंका सपिङ हुन्छन् ।

Advertisement

गरिब जनता फुटपाथमा सय रुपैयाँको सामान खोज्दै हिँड्दा तिनै जनताको राजनीति गर्ने सबैभन्दा महंगा ‘सपिङ मल’ मा पुग्छन् । फेरि तिनका सपिङ गर्ने पनि अर्कै, गाडी चलाउने पनि अर्कै, खाना बनाउने पनि अर्कै, लुगा धुने पनि अर्कै सबै सबै अरुले नै गरिदिनुपर्छ । फेरि भन्न छाड्दैनन्, ‘सामन्तवाद मुर्दावाद !’

जनता भुकम्पले घरवारविहीन भएर खुला आकाशमा रात बिताउन बाध्य हुँदा तिनै भुकम्प पीडितका लागि आएका जस्तापाता बेचेर पैसा कमाउने घृणित कर्ममा पनि पछि पर्दैनन् । चितवनको सडक किनारको एउटा चेपाङ परिवारले लाज ढाक्ने टालो नपाएर रोइरहेका तस्बिर सार्वजनिक मिडियामा आउँदा त्यो परिदृश्यले हृदयलाई छुँदैन । मानवीय संवेदना भन्ने कुरा पटक्कै देखिन्न । कालो सिसावाला गाडीमा अगाडिको सिटमा बसेर घुइँकिदा सडक किनारमा मुटुमा प्वाल परेको बच्चाले रुँदै बचाउन गरेको अपिलको परिदृश्यले आत्मा पग्लदैंन । घरीघरी लाग्छ ती हृदय शुन्य भइसके । काठमाडौंमा छिरेपछि तिनको हृदय रसाउन छाडिसक्यो ।

अधिकांश ठूला नेताका घरमा नेपाली टेलिभिजन हेरिँदैन । हिन्दी वा अंग्रेजी गीत, सिरियल वा यस्तै कार्यक्रम घन्किरहेका हुन्छन् । आफ्नो भाषा र संस्कृतिप्रति खासै गर्व छैन । दौरा सुरवाल सामन्तवादका प्रतीक भए, ढाका टोपी पाखे भयो, नेपाली भाषा राजाको भाषा भयो, नेपालभित्रका मातृभाषा पिछडिएका भए । जाने–नजाने पनि अंग्रेजी बोल्दा गर्व गर्छन् । फेरि खोक्रो राजनीति धान्न कहिलेकाहीं विभिन्न जातजातिका ड्रेस लगाएर मञ्चमा तमासा देखाउन छाड्दैनन् । सुरक्षाकर्मी वरिपरि लगाएर पञ्चायतकालका मुखियाको शैलीमा ठाँटसँग हिँड्छन् ।

उनीहरुको झोला बोक्ने, पानी पर्दा वा घाम लाग्दा छाता ओढाउने, चप्पल बोक्ने हुन्छन् । विदेशी अत्तर छरेर लाखौंको सोफामा बस्दा गाउँबाट आएका हिजोको कार्यकतालाई घरको गेटबाट छिर्न मुस्किल पर्छ । गाउँबाट गएको कार्यकर्ताले आफ्नो नेता हिजोको जस्तै सम्झेर जानुमा उसको के दोष ? मुस्किलले जब ऊ नेताको महलमा छिर्छ, बल्ल उसले थाहा पाउँछ, वास्तविक राजनीतिको रूप र रंग ।

आज अधिकांश नेताले हिजोका दुःख बिर्सिएका छन् । विकट गाउँमा पुल नभएर बर्खे भेलमा हेलिँदा ज्यान गुमाउने परिवारको पीडाले रत्तिभर फरक पार्दैन । गाउँमा पाक्न लागेको खेती बाँदरको हुल आएर खाइदिपछि पुर्पुरोमा हात राख्दै बिलौना गर्ने ७० वर्षे वृद्ध आमाबाबाको वेदनाले छुँदैन । मल नपाएर समयमा खेती गर्न नपाउने कृषकको पीडा बुझ्दैनन् । धेरै नेताको प्राइभेट अस्पताल, कलेज, निजी स्कुल, हाउजिङमा लगानी छ ।

मुखले जे भने पनि सरकारी विद्यालय, सरकारी कलेज, सरकारी अस्पतालप्रति विश्वासै छैन । टाउको दुख्दा पनि सिंगापुर र अमेरिका पुगेर उपचार गर्ने बानी लागेको छ । हिजो क्रान्ति वा आन्दोलनका बेलामा गाउँका जनता आवश्यक थिए, अहिले आन्दोलन वा क्राान्तिको सिजन होइन, बरु कमाउने र थुपार्ने सिजन हो भन्ने नेताले राम्रैसँग बुझेका पनि छन् । अपवाद बाहेक धेरै नेतासँग भोलिको नेपाल कस्तो बनाउने भन्ने खास भिजनै देखिँदैन । ‘माइक्रो म्यानेजमेन्ट’ मा रुचि बढी छ, ‘म्यक्रो म्यानेजमेन्ट’ तर्फ रुचि नै देखिँदैन ।

तपाईको प्रतिक्रिया