जन्मस्थानको विकासमा प्रतिबद्ध छुः प्रचण्ड

समाधान संवाददाता २०७६ पुष २० गते १२:३४

समाधान संवाददाता
काठमाडौं

Advertisement

नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो जन्मस्थानको विकास निर्माणमा चासो देखाएका छन् । कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट काठमाडौँ आई बसोबास गर्नेहरुले स्थापना गरेको अन्नपूर्ण–काठमाडौँ समाजको साधारण सभालाई सम्बोधन गर्दै उनले आफ्नो जन्मभूमिको विकास र समृद्धिका लागि जति गर्नुपर्ने हो त्यति गर्न नसकेको महसुस गरेको बताए । उनले आउँदा दिनमा सक्दो सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाए ।

आफ्नो जन्मभूमिप्रति माया दर्शाउँदै दाहालले आफूमा सधैँ कास्की विशेष गरी अन्नपूर्ण गाउँपालिका त्यसमा पनि ढिकुरपोखरीप्रतिको लगाव सदैव रहने बताए । कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले जन्मभूमिप्रतिको लगाव र मनोवैज्ञानिक सम्बन्ध गहिरो रहने भन्दै अन्नपूर्ण गाउँपालिकाको विकास निर्माणका लागि केन्द्रीय सरकारले गाउँपालिकासँग मिलेर विकासका कामलाई तीव्रता दिएको बताए ।

कार्यक्रममा कास्की जिल्लाबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद दुर्गा विक प्रदेश सांसद राजीव पहारीले अन्नपूर्ण गाउँपालिकाको भौतिक पूर्वाधार निर्माणका साथै पर्यटनको विकासमा केन्द्रित रही समृद्धिको यात्रामा मुलुक अघि बढेको बताए ।

सोही कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष युवराज कुँवरले गाँउपालिकाले विकासको गति लिएको बताउँदै जनताका न्यूनतम आवश्यकता स्वास्थ्य, शिक्षा, स्वच्छ खानेपानीका लागि थप सहयोग आवश्यक रहेको बताए । उनले नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगको अनुरोधमा ३ अर्ब ५० करोड माग गरी सडक, पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य , खानेपानीमा उल्लेख्य काम गरेको बताए । हालसम्म ३ हजार घरधुरीलामा १ घर १ धारा निर्माण भइसकेको र बाँकीमा यर्सवर्ष पूरा गरिर्न, सामुदायिक विद्यालयको अवस्था सुधारका साथै क्षमताको विकास गर्न र प्राविधिक शिक्षामा जोड दिइएको समेत उल्लेख गरे ।

Advertisement

समाजका अध्यक्ष मनप्रसाद गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सगुन गुरुङ, समाजका उपाध्यक्ष झलकराम अधिकारी, महासचिव विष्णुप्रसाद अधिकारीले कास्कीको अन्नपूर्ण गाउँपालिकाको विकास र समृद्धिको लक्ष्य पूरा गर्न आफूहरुले समाज स्थापना गरी अघि बढेको बताए ।

ललित सम्मानित
अन्नपूर्ण काठमाडाैं समाजको तेस्रो वार्षिक साधारणसभा एवं दोस्रो अधिवेशनमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ सम्मानित भएका छन् । साधारण सभामा नेत्र चिकित्सक डा. रीता गुरुङ, प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. देवी गुरुङ, नेपाल सरकारका उप–महालेखा परीक्षक राममाया कुँवर, होटल काठमाडौं गार्डेन होम प्रालिका सञ्चालक रामप्रसाद सापकोटा लगायतलाई नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री दाहालले सम्मान गरेका हुन् ।

सामाजिक र राजनीतिक नेतृत्वका माध्यमबाट समग्र अन्नपूर्ण गाउँपालिका कास्कीको विकासमा महत्वपूर्ण भूमिका खेलेकाले अध्यक्ष गुरुङलाई सम्मान गरिएको समाजका कोषाध्यक्ष ऋषि भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया