राष्ट्रिय सभाका कांग्रेस उम्मेदवार सूर्यप्रसादः जीवनभर त्याग, हार्नेबेला टिकट

समाधान संवाददाता २०७६ पुष २१ गते १२:१७

अमृत सुवेदी
पोखरा

२०४८ को संसदीय निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउँदै गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । २०५१ सालको जेठमा सरकारले संसदमा पेस गरेको नीति तथा कार्यक्रम पारित भएन । नीति तथा कार्यक्रम नै फेल भएपछि कोइरालाले संसदको विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरे ।

मध्यावधि निर्वाचनमा कांग्रेसकै २ समूहबाट उम्मेदवार खडा भए । कोइराला नेतृत्वको सरकार असफल बनाउन कांग्रेसकै ‘छत्तिसे समूह’ सक्रिय भएको निष्कर्ष निकाल्दै त्यतिबेला ठाउँ ठाउँमा बागी उम्मेदवार खडा गरिएको थियो । २०५१ सालको कात्तिक तेस्रो साता भएको मध्यावधि निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ का बागी उम्मेदवार थिए, सूर्यप्रसाद रेग्मी । पार्टीका आधिकारिक उम्मेदवार थिए, कांग्रेस नेता गोपालमान श्रेष्ठ ।

Advertisement

सूर्यप्रसादले ७ हजार मत ल्याए । सूर्यप्रसादले जीत हाँसिल गर्न त सकेनन् तर गोपालमानलाई हराउन उनले प्राप्त गरेको मत काफी बन्यो । कांग्रेसबीचकै प्रतिष्ठाको लडाईंको फाइदा उठाउँदै त्यो बेला बहुमत प्राप्त गरेको पार्टी नेकपा एमालेका धु्रव लम्साल सांसद बने । मध्यावधि निर्वाचनमा स्याङ्जाका यी वागी उम्मेदवार पार्टीमा अवसर र शक्तिको सत्तामा कहिल्यै रहन पाएनन् ।

शनिबार अनौठो संयोग उनीसामु आइपर्‍यो । मध्यावधि चुनावमा जोसँग बागी उठेका थिए, उनै गोपालमानले माघ ९ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पार्टीले टिकट दिने निर्णय गरेको खबर सुनाए । उनी एकछिन् अक्कमकाए । अनि भने, ‘हुन्छ त नि ।’

Advertisement

बिपीबाट निष्ठा सिके, अवसर छोप्न सिकेनन्
प्रजातन्त्र स्थापनापछि कांग्रेसले थालेको सरकारको भ्रद अवज्ञाका अभियान्ता थिए, उनी । २०१४ सालमै उनी कांग्रेसमा आवद्ध थिए । तत्काल संसदीय निर्वाचन गर्न दबाब दिन वनारसबाट हस्ताक्षर संकलन गरेर तत्कालीन राजा महेन्द्रलाई पठाउनेमध्येका १ सूर्यप्रसाद पनि हुन् । ‘वनरसमा अध्ययन गर्न जाँदा तत्काल निर्वाचन गराउन माग गर्दै ‘सिग्नेचर क्याम्पेन’ गरेर राजा महेन्द्रलाई पठाएका थियौं,’ त्यो बेलाको घटना स्मरण गर्दै सूर्यप्रसादले भने, ‘२०१५ सालमा आम निर्वाचन भयो । तर केही वर्षमै महेन्द्रले ‘कु’ गरिहाले ।’

छात्र संघको नेतृत्वमा वनारसबाट बिपीको आह्वानमा राजनीतिक आन्दोलनमा लागेका सूर्य पछि त्यही छात्र संघको कोषाध्यक्ष बने । ‘त्यो बेला नै विपीसँग भेट भयो । पछि उहाँ पनि जेल पर्नुभयो र म पनि जेल परें, २२ सालमा । फेरि २५ सालतिर उहाँसँग भेट भयो,’ सूर्यप्रसादले भने, ‘कांग्रेसले सशत्र संघर्ष थाल्ने निर्णय गर्दा सर्वश्व हरण गर्ने घोषणा गर्‍यो । हामी फरार भएर बाहिर गर्‍यौं ।’

सुवर्णशमशेरले थालेको पञ्चायतविरोधी आन्दोलन चलिरहँदा सूर्य भने बिपीकै साथमा संघर्षमा लागेको बताउँछन् । परिवर्तनका निम्ति हरेक राजनीतिक आन्दोलनमा नेपाल कांग्रेसको झन्डा बोकेर सक्रिय भएर लागेका सूर्यले ७ वर्ष जेल जीवन बिताएका छन् ।

विपी कोइरालासँग वनारसमा भेटेको स्मरण गर्दै उनले राजनीतिमा निष्ठाले लाग्न त्यतिबेलादेखि नै पैरित भएको बताउँछन् । ‘विपी, गणेशमान, गिरिजादेखि सुशील र अहिले शेरबहादुर देउवासम्म ब्यहोरें,’ सूर्यप्रसादले भने, ‘निरन्तर पार्टीमा निष्ठाको राजनीतिमा लागिरहें तर पछिल्लो क्रममा नेतामा निष्ठा हराउँदै गयो । हामी छायाँमा पर्दै गयौं ।’

जायज्यथा सर्वश्वहरण गर्ने पञ्चायतले घोषणा गरे पनि हरणै भने हुन पाएन । तर, उनले पुख्र्यौली सम्पति पनि आफ्नो नाममा बनाएनन् । भन्छन्, ‘सर्वश्व हरणबाट जोगियो । २ दाजुभाइ थियौं । तर, एक टुक्रा जमिन मेरो नाममा गराइन् । अहिले पनि दाइ परिवारसँगै बसिरहेको छु । किन चाहियो र सम्पति ?’

लामो समय स्याङ्जा जिल्ला पार्टी राजनीतिको केन्द्रमा रहेका सूर्यप्रसाद महाधिवेशन प्रतिनिधिभन्दा माथि जान सकेनन् । भद्र अवज्ञादेखि हरेक राजनीतिक आन्दोलनमा सहभागी हुँदै जनआन्दोलन २०६२÷०६३ सम्म उनी होमिए ।

‘कहिल्यै पदको लोभ गरिन । एक दिन पार्टीले हेर्छ, निष्ठाका साथ लाग्नुपर्छ भनेर झण्डा बोकेर हिँडिरहें,’ सूर्यप्रसादले भने, ‘न कुनै उपल्लो पदमा पुगें न कुनै संसदीय निर्वाचनमा पार्टीको टिकट पाएँ ।’ पार्टीमा अवसर र मौका छोप्नेहरु थुप्रैले पद र राजनीतिक उचाई प्राप्त गरे । सूर्यप्रसाद भने सिद्धान्त र विचारको जरो समाएर फेदमै रमाइरहे ।

… त्यो फोनले सूर्यप्रसादलाई निद्रा परेन
दुबै हात हल्लाउँदै भाषण गर्न थालेपछि माहोल आफ्नो पक्षमा पार्न सक्ने र सिद्धान्त, निष्ठा र विचारको राजनीति गर्नुपर्छ भन्ने अग्रज नेताका रुपमा जिल्लाका कार्यकर्ताले सूर्यलाई चिन्छन् । नेताअनुसार गुटगत राजनीति हुँदा सूर्यप्रसाद एक पक्षको निर्णयक भूमिकामै रहन्थे । पार्टीको अप्ठेरो अवस्थामा पनि उनी संस्थापन पक्षमै उभिन्थे । ‘म सधैं पार्टीको संस्थापन पक्ष हुँ । अहिले शेरबहादुर देउवा मेरा नेता हुन्,’ सूर्यप्रसादले भने ।

सूर्य पार्टीमा अवसर पाउने र संसद छिर्ने मामिलामा उपेक्षामै परे । राजनीतिक प्रभाव देखाउने पद र अवसर नपाउँदा पछिल्लो समय सूर्यप्रसाद गुमनामजस्तै थिए । न पुराना पुस्तासँग जोडिइरहने ठाउँ पाए न नयाँ पुस्तामाझ चिनिने । परिवर्तन र राजनीतिक आन्दोलनका अगुवा सूर्यप्रसाद छायामा परेपछि धेरैका नजरमा थिएनन् ।

शनिबार उनी घरमै थिए । उनलाई फोन आयो । कांग्रेस नेता गोपालमान श्रेष्ठको फोन रहेछ । ‘सूर्यप्रसादजी तपाईंलाई राष्ट्रिय सभाको सदस्यको लागि निर्णय गरेका छौं है,’ गोपालमानले भने । सूर्य अक्मकिए । के कसो सोध्दै थिए, फेरि गोपालमानले नै थपे, ‘राष्ट्रिय सभामा तपाईं उम्मेदवार पक्का भयो । तयारी गर्नुहोस् ।’ सूर्यप्रसादले हुन्छ भनेर फोन काटे । अरु पार्टी कार्यकर्ता र नेताको फोन पनि आयो । सूर्यप्रसादलाई निद्रा परेन । कोल्टे फेर्दै सोंचिरहे, ‘योबेला किन पार्टीले पार्टी सम्झियो ?’

नेकपाको बहुमत रहेकाले राष्ट्रिय सभामा गण्डकीबाट कांग्रेसले जित्ने सम्भावना कम छ भन्ने सूर्यप्रसादलाई थाहा छ । अन्तिममा सूर्यप्रसादले चित्त बुझाए, ‘ठिकै छ पार्टीले ढिलै भए पनि न्याय गरेको छ । पार्टीले जित्ने अवस्था हुँदा त अब मभन्दा राम्रा र ऊर्जा भएका व्यक्तिले ठाउँ पाउनुपर्छ । अप्ठेरो अवस्थामा योगदान गरेको हुँ । जीत सुनिश्चित नभए पनि म उम्मेदवार हुनै पर्छ ।’ अनि आइतबार सूर्यप्रसादले निर्वाचन कार्यालय कास्की पुगेर राष्ट्रिय सभा सदस्यका लागि मनोनयन दर्ता गराए ।

जित्ने कुरा ‘परमात्माको भरोसा’
गण्डकी प्रदेशमा महिला र अन्य समूहबाट १–१ जनाका लागि राष्ट्रिय सभा सदस्यको चुनाव हुँदैछ । कांग्रेसका सुरेन्द्रराज पाण्डे र विन्दा देवी आले (राना) को पदावधि सकिन लागेकाले उनीहरुको ठाउँमा निर्वाचन हुन लागेको हो । गण्डकी प्रदेशमा नेकपाको सहज बहुमत भएकाले यो चुनावमा कांग्रेसले २ सिट गुमाउने निश्चित छ ।

पार्टीको निर्णयअनुसार आइतबार मनोनयन दर्ता गराएपछि सूर्यप्रसादले राष्ट्रिय सभाको सदस्य जित्ने कुरा ‘परमात्माको हातमा’ रहेको बताए । नागरिकताअनुसार २००५ साले सूर्यप्रसादले यो उमेरमा पार्टीले विश्वास गरेर टिकट दिएको खुसी व्यक्त गर्दै जीत सुनिश्चित गर्ने कुरा आफ्नो हातमा नरहेको बताए ।

‘ढिलै भए पनि बुढेसकालमा पार्टीले पत्यायो । जित्ने कुरा त उनै परमात्माको हातमा छ,’ उनले भने । उनले जीवननै निष्ठाको राजनीतिमा समर्पण गरेको भन्दै अब पैसा कमाउँला भन्ने लाभ, लालच नभएको बताए । ‘छोरा छैनन्, छोरीहरु आफ्नो घर गए, मेरो नाममा १ टुक्रा जमिन पनि छैन । मलाई किन चाहियो पैसा ?’ उनले भने, ‘जिते ठिकै छ । नत्र सके समाजसेवा गर्छु, बस्छु ।’

तपाईको प्रतिक्रिया