मेयर कप ब्याडमिन्टन उपाधि पौडेल र ठकुरीलाई

समाधान संवाददाता २०७६ पुष २१ गते १३:०२

कृष्ण न्यौपाने
दमौली

व्यास नगर ब्याडमिन्टन क्लबले तनहुँको दमौलीमा गरेको दोस्रो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको उपाधि बुटवलका विनोद पौडेल र राजेश ठकुरीले जितेका छन् । आइतबार सम्पन्न फाइनलमा काठमाडौंका दीपक राना र प्रियसु क्षेत्रीलाई पराजित गर्दै पौडेल र ठकुरीले उपाधि जितेका हुन् ।

२–० को सोझो सेट जित्दै पौडेल र ठकुरीले समूह (क) तर्फको उपाधि जितेका हुन् । पौडेल र ठकुरीले नगद ४० हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे भने उपविजेता राना र क्षेत्रीले नगद ३० हजार, ट्रफी र प्रमाणपत्र पाए ।

Advertisement

सोही समूहतर्फ दुलेगौडाका विशाल बस्नेत र कमल राना र दमौलीका राजु थापा र रक्षा गुरुङले सान्त्वना पाए । सान्त्वना पाउनेले नगद ७÷७ र प्रमाणपत्र हात पारे ।

समूह (ख) तर्फ चितवनका महेन्द्र कार्की र कृष्णप्रसाद सापकोटा प्रथम भए । आयोजक टिमका कृष्णराज घिमिरे र कृष्णप्रसाद पौडेल द्वितीय भए । प्रथम र द्वितीय हुने टिमले क्रमश २० हजार, १५ हजार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । आयोजक टिमकै पदम खाँण र सागर थापा र जिल्ला प्रहरी कार्यालयका धनबहादुर गुरुङ र मानबहादुर पाटामगरले सान्त्वना पाए । सान्त्वनालाई नगद ५÷५ हजार दिइएको छ ।

Advertisement

समूह (ग) तर्फ आयोजक टिमका जीवन गुरुङ र सुरेश गुरुङ प्रथम तथा एकप्रसाद श्रेष्ठ र रुवि श्रेष्ठ द्वितीय भएका छन् । उनीहरुले क्रमश ५ हजार र २ हजार प्राप्त गरे ।

विजेताहरुलाई पुरस्कार वितरण गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले आगामी वर्षदेखि व्याडमिन्टन प्रतियोगितालाई व्यवस्थित गरी नगरपालिकाको तर्फबाट छुट्टै बजेट विनियोजन गरिने बताए । स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेकोमा जोड दिँदै नगरप्रमुख न्यौपानेले खेल क्षेत्रको विकासका लागि नगरपालिका सदैव क्रियाशील रहेको बताए । पुस १८ गतेदेखि सुरु प्रतियोगितामा ६० टिमको सहभागिता रहेको ब्याडमिन्टन क्लबका अध्यक्ष जीवन गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया