खुला नहरः मृत्युको कारक

समाधान संवाददाता २०७६ पुष २२ गते १२:१८

ईश्वर देवकोटा
पोखरा

घरछेउकै नहरमा ढक्कन (स्ल्याब) नभएकै कारण १ बालिकाको आइतबार साँझ ज्यान गुम्यो । पोखरा ५ मालेपाटन निवासी इन्दिरा सुवेदीकी ४ वर्षीया छोरी सिर्जना नहरमा खसिन् ।

खेल्दै गरेकी सानी नानीलाई क्षणभरमै नहरले निल्यो । झन्डै ५ फिट गहिरो नहरमा भरिएको पानीमा खसेकी बालिकाको उद्धारमा स्थानीयसहित सुरक्षाकर्मी खटे । तत्कालै उद्धारमा जुटे पनि साढे ६ बजे खसेकी उनी १ घन्टाभन्दा बढीको खोजीपछि मृत अवस्थामा फेला परिन् । खसेको ठाउँबाट झन्डै २ सयमिटर बग्दै गएर बागवानी कृषि अनुसन्धान अगाडिपट्टीको सिँचाई बाँधमा अड्किएको अवस्थामा भेटिइन् ।

Advertisement

नहरमा स्ल्याब नभएकै कारण बालिका खसेको प्रहरी बताउँछन् । ‘नहरमा पानीको बेग अधिक थियो,’ वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी यादव ढकालले भने, ‘तत्कालै उद्धारमा खटिए पनि सकुसल भेट्टाउन सकिएन ।’

सिँचाइ नहर र ढल निकासका लागि बनाइएका नालीकै कारण पोखरामा बर्सेनि ज्यान गुमाउनेको संख्या थपिएको छ । महानगर, सडक वा अन्य आयोजनाले बनाउने संरचनामा जोखिम थुपारेकै कारण ४ वर्षीया बालिकाको जस्तै नियति पोखराका सर्वसाधारण भोग्न विवश छन् ।

Advertisement

मानिसको ज्यानै जानेगरी भएका दुर्घटना टाल्न भने पोखरा महानगरपालिकासँग कुनै योजना छैन । सेती सिँचाइ आयोजनाले पनि नहरमा ढक्कन लगाउन चासो दिँदैन । मानवीय जोखिम कम गर्ने भन्नेबारे न सिँचाइ र महानगरबीच कुनै समन्वय छैन । न आफैंमा ठोस योजनाको विकल्प नै ।

खतरा देखिएका ठाउँका नालीहरुमा ढक्कन हालिने मेयर मानबहादुर जिसीले बताए पनि यो आर्थिक वर्षमा त्यससम्बन्धी शीर्षकमा बजेट छैन । मानवीय संरचना र बसोबास बृद्धिले पनि घटना बढिरहेको मेयरको तर्क छ । ‘हिजो बस्ती पातलो थियो । आजभोलि बस्ती बाक्लोसँगै नहर पनि नालीमा परिणत भइसकेका छन्,’ उनले भने, ‘मुख्य क्षेत्रमा खतरा टार्न सिँचाइ आयोजनाले दायित्व लिएको देखिँदैन ।’ कतिपय ठाउँमा भने बाक्लो जाली भए पनि पानी झिक्न जाली काटेर संरचना बिगार्दा स्वयं जोखिम निम्तिरहेको मेयर जिसी बताउँछन् ।

‘सिँचाइसँग पनि धेरैपटक छलफल भएको छ । मुख्य क्षेत्रका कतिपय ठाउँमा राइट अफ वे कब्जा भएका कारण पनि समस्या देखिएको उहाँहरु भन्नुहुन्छ,’ उनले भने, ‘समस्या देखिएका मुख्य क्षेत्रमा अध्ययन गरी महानगरले योजना बनाउँछ । तत्कालका लागि भैपरि मार्फत पनि समस्या टार्छौ ।’ छोप्ने वाहेकको विकल्प नभएकोले महानगरले आगामी वर्ष विस्तृत योजना बनाउने उनले सुनाए ।

खुला नहरकै कारण पुस २ गते पोखरा २७ रिठ्ठेपानी एकताटोलकी ६३ वर्षीया टीकामाया कुमालको ज्यान गएको थियो । प्रहरी पुगेर उद्धार गर्ने बेलासम्म उनले प्राण त्यागिसकेकी थिइन् ।

गत साल माघ ५ गते पोखरा १४ खसीबजार नजिकै बाटोको नालीमा पोखरा १३ काहुँखोला निवासी २५ वर्षीय कृष्ण पौडेलको ज्यान गयो । नालीमा डुबेको अवस्थामा उनी फेला परेका थिए । सडक किनारको नाली खुला भएकै कारण पानीमा खस्दा ज्यान गएको अनुसन्धान पछि प्रहरीको भनाइ थियो ।

खुला नहरले पोखराका एक संगीतकर्मीलाई पनि धरापमा पार्‍यो । २०७५ चैत २८ गते साँझ पोखरा १२ शितलादेवी निवासी श्रीमान थुलुङ राईको ग१२प ६७९ नम्बरको स्कुटर भित्तामा ठोक्किई नहरमा खसेको थियो । स्कुटर सहित नहरमा परेका उनलाई नहरले बगाएर केही सयमिटर तल पुर्‍याउँदा प्राण हरिसकेको थियो ।

बर्सेनि नाली र नहरमा ज्यान गुमाउने संख्या अघिल्ला ३ वर्षमा पनि देखिएको थियो । स्याङ्जा घर भएका गंगाप्रसाद सुवेदीले २०७३ असोज १ गते पोखराकै नालीमा परेर ज्यान गुमाएका थिए । बिरौटा सडक छेउमै सुवेदी बगेका थिए । सोही दिन लामाचौरमा कृष्णबहादुर थापाको पनि नालामा परी मृत्यु भयो । लामाचौर गैराबारीका ५६ वर्षीय थापालाई खत्री डहरको भेलले बगाएर नालीमा पुर्‍याएको थियो ।

२०७३ भदौ २२ गते बुलौदी खोलामा बाइकसहित बगाउँदा सुरवीर जिसीको ज्यान गएको थियो । पोखरा २८ कालिकाका २१ वर्षीय जिसीलाई मालपोत कार्यालय नजिकबाट बाइकसहित बगाएको थियो । त्यसको सातादिन अघि मात्रै नालाले नै बगाएर सिद्धार्थचोकमा दाङ घर भएकी ४५ वर्षीया मीना भण्डारीको मृत्यु भएको थियो ।

तपाईको प्रतिक्रिया