पर्यटनले फेरेको ताङतिङे अनुहार

समाधान संवाददाता २०७६ पुष २२ गते १२:३६

तस्बिरः युनिश गुरुङ

विकास रोकामगर
पोखरा

मादी २ ताङतिङकी रोशमाया गुरुङ करिब ६ वर्ष पहिलेसम्म घरायसी काममा व्यस्त रहने साधारण महिला थिइन् । ताङतिङको सामुन्नेको सिक्लेसले धमाधम स्वदेशी र विदेशी पर्यटक भित्र्याएर प्रगति गर्दा ताङतिङ भने शून्य थियो । केही होमस्टे सञ्चालनमा आइसकेको भए पनि ती नाम मात्रका थिए ।

Advertisement

पर्यटक आउँदा सुविधासम्पन्न हाटेल तथा गेस्ट हाउसको व्यवस्था थिएन । पर्यटक आउँथे र त्यतैबाट सिकलेस हुइँकिन्थे । पोखरादेखि उत्तरपूर्व दिशामा करिब २७ किलोमिटर यात्रा गरेपछि आइपुग्छ– ताङतिङ गाउँ । ताङतिङमा गुरुङ समुदायको बाहुल्य छ भने केही घर दलित पनि बस्छन् ।

रोशमायाका श्रीमान् दिलीप गुरुङ गाउँकै १ सरकारी स्कुलमा अस्थायी शिक्षक थिए । उनकै कमाइले परिवार धान्नुपर्ने बाध्यता थियो । गाउँ आएका पर्यटक पनि ताङतिङ हुँदै सिक्लेस सोझिन थालेपछि करिब ६ वर्षअघि ताङतिङमा आएका पर्यटकलाई ‘खाजा खुवाउने’ गरी रोशमायाले सानो होटल सुरु गरिन् ।

Advertisement

६ वर्षको बीचमा रोशमायाको दिनचर्या नै फेरिएको छ । सानो होटललाई बढाएर अहिले २० कोठे सुविधायुक्त गेस्ट हाउस बनाएकी छिन्, ताङतिङ गेस्ट हाउस । गाउँमै भएपनि पर्यटकको गच्छेअनुसार बस्न मिल्ने एटेज र नन एटेज कोठा बनाएकी छन् ।

‘पहिले त सानो होटलमात्रै थियो । तर, पछि गेस्ट हाउस बनायौं । पाहुना बढ्दै गए । होटलका कोठा बढाउँदै लग्यौं,’ रोशमाया खुशी व्यक्त गर्छिन्, ‘अहिले त उनीहरुकै चाहनाअनुसार एटेज र नन एटेज बनाएपछि पाहुना पनि खुसी छन् ।’ होटल राम्रोसँग चल्न थालेपछि उनका श्रीमान दिलीप अहिले अस्थायी शिक्षकबाट पनि विदा लिइसकेका छन् ।

गाउँमा करिब १ वर्ष पहिले गाडी बाटो पुग्यो । बाटो पुगेपछि त झन् पर्यटकको संख्या ह्वात्तै बढेर गयो । ‘पोखराका पर्यटन व्यवसायीले हामीसँग सम्पर्क राख्छन् । त्यही अनुसार हामीले व्यवस्था गर्छौं,’ भन्छिन्, ‘पाहुना १ रातमात्र बस्छन् । उनीहरुका लागि ५ सयदेखि ७ सय रुपैयाँसम्म लिने गरेका छौं ।’

घरमै होटल खोलेर वार्षिक ६ देखि ७ लाख रुपैयाँसम्म आम्दानी गरिरहेकी रोशमायाले गेस्ट हाउसमा नेपालीभन्दा विदेशी पर्यटक धेरै आउने गरेको सुनाइन् । गाउँमा उनका जस्तै ५ वटा होटल छन् । पर्यटकको संख्या बढ्दै गएको र कमाइ पनि राम्रै हुन थालेपछि बाँकी होटल तथा गेस्ट हाउस पन खुल्ने तर्खरमा रहेको उनी सुनाउँछिन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप)मा पर्ने मादी २ ताङतिङ समुद्र सतहदेखि १६ सय मिटरमा उचाइमा पर्छ । पोखरा काहुँखोला कसेरी, विजयपुर खोला, छाचोक हुँदै मादी खोला उक्लँदै ताङतिङ पुग्न सकिन्छ । ताङतिङमा महिलाले नै होमस्टे पनि चलाएका छन् । २०६८ देखि सुरु भएको होमस्टे अहिले १४ घरमा सञ्चालित छ ।

केही समयअघि हामेस्टेमा सुनसान भएपनि अहिले गाउँमै बाटो पुगेपछि धेरै सुधार भएको ताङतिङ होमस्टेकी सचिव पूर्णसुब्बा गुरुङ बताउँछिन् । सिजनमा पोखरा आसपासका क्षेत्रबाट २÷३ जना होमस्टेमा बास बस्न पुग्छन् । ‘हामीले रोलक्रमको व्यवस्था गरेका छौं । त्यहीं अनुसार यहाँ आएका पाहुनालाई हामेस्टेको अनुभव दिने गरेका छौं,’ पूर्णसुब्बाले भनिन् ।

होमस्टेमा पुग्ने प्राय नेपाली हुन्छन् । सञ्चालकले पाहुनाका लागि होमस्टे प्याकेज सुविधा दिँदै आएका छन् । साँझ मासु खाना, बिहानको खाजा र सादा खानाको जम्मा १ हजार रुपैयाँ लिने उनीहरुको नीति छ ।

होमस्टेमा बाहिरको खानालाई सकेसम्म प्रतिबन्ध गरिएको पूर्णसुब्बा बताउँछिन् । ‘होमस्टेमा चाहिने आलु, साग, पिँडालु, भूइँस्याउ, चामल सबै गाउँमै उत्पादन महिला समूहले सामूहिक उत्पादन गर्छौं,’ भन्छिन्, ‘नपुगे पनि यतै गाउँलेसँग किन्छौं । बाहिरबाट सकेसम्म नल्याउने नीति नै छ ।’

होमस्टेको मुख्य आकर्षक भने ‘नारेप्हा’ हो । नारेप्हाको अर्थ कोदोको रक्सी हुन्छ । होमस्टेमा आएका पाहुनालाई २ गिलास कम्प्लिमेन्ट्री हुन्छ । तर, त्यसभन्दा बढी लिन चाहे प्रतिगिलास ३५ रुपैयाँ तिर्नुपर्ने हुन्छ । सचिव गुरुङले अघिल्लो वर्षमात्रै १२ सय जना होमस्टेमा आएको जानकारी दिइन् ।

ताङतिङ पुग्न मादी तरेर जानुपर्छ । मादीमा पुल नभइसकेकाले वर्खाको समयमा पाहुना नआउने गुरुङले बताइन् । ‘बैशाखदेखि भदौसम्म पाहुना आउँदैनन् । बाटो बन्यो तर, पुल बनेन । पुल नबन्दा ५÷६ महिना होमस्टे सुख्खा हुन्छ,’ उनले भनिन् । होमस्टेमा एकैचोटि ८५ जनालाई राख्न सक्ने क्षमता छ । प्रदेश सरकारबाट गत वर्ष पाएको १० लाख रुपैयाँले गाउँकै शीरानमा पिकनिक क्षेत्र बनाएका छन् ।

विदेशी शालिन, स्वदेशी अनुशासनहीन !
ताङतिङका व्यवसायीका अनुसार नेपालीभन्दा विदेशी पर्यटक शालीन र सजिला हुन्छन् । नेपाली होहहल्ला गर्ने र अनुशासनहीन भएको उनीहरुको अनुभव छ ।

गाउँमा बाटो पुग्नुभन्दा पहिले विदेशी पर्यटक त्यहाँ जाने विदेशी पर्यटकको संख्या धेरै थियो । बाटो पुगेपछि भने नेपाली पाहुनाको संख्या बढेको त छ तर, त्यसको अनुपातमा गाउँको शान्ति पनि खल्बिलिएको छ ।

‘विदेशी पाहुना हिँड्न मन पराउँछन् । प्राय उनीहरु हिँडेर यहाँ आउँछन,’ ताङतिङ गेस्ट हाउस सञ्चालक रोशमाया गुरुङ अनुभव सुनाउँछिन्, ‘तर नेपाली पाहुनालाई त घरसम्मै गाडीमा आउनुपर्छ ।’ उनले विदेशी पर्यटकको निश्चित समय अनुसार हिँड्ने र त्यही अनुसार खाने, सुत्ने गरेको सनाइन् ।

ताङतिङ होमस्टेकी सचिव पूर्णसुब्बा गुरुङको अनुभव पनि त्यही छ । गाउँमा ११ बजेसम्ममात्रै होहल्ला गर्न पाइने भएपनि नेपाली पाहुनाले पालना गरिदिँदैनन् । भन्छिन्, ‘पाहुनाको चित्त दुखाइदिनु पनि भएन । कहिलेकाहीं त रातभरि पनि हल्ला गरेर बसिदिन्छन् ।’ उनीहरुले नेपाली पाहुनाले विदेशीभन्दा धेरै खर्च गर्ने गरेको सुनाउँछन् ।

स्वदेशी होमस्टेमा, विदेशी गेस्ट हाउसमा
ताङतिङमा मोटर बाटो र सुविधासम्पन्न होटल तथा गेस्ट हाउस खुल्न थालेपछि पर्यटकको संख्या पनि बढ्न थालेको छ । पोखरा र आसपासका क्षेत्रबाटमात्र होइन विदेशी पर्यटक पनि त्यहाँ पुग्छन् । प्राय विदेशी पर्यटक पैदलमार्ग हुँदै त्यहाँ बास बस्न पुगेका हुन्छन् । तर, ताङतिङमा अहिलेसम्म व्यवसायीले भारतीय पर्यटकलाई भने देखेका छैनन् ।

ताङतिङ पुग्ने स्वदेशी पर्यटक होमस्टे बस्ने र विदेशी पर्यटक गेस्ट हाउसमा बस्ने गरेको मादी २ वडाध्यक्ष एकजङ गुरुङ सुनाउँछन् । विदेशी पर्यटक पोखराका पर्यटन व्यवसायीको सम्पर्कमा त्यहाँ पुग्ने भएकाले होमस्टेमा बढी बस्ने उनको बुझाइ छ । भन्छन्, ‘नेपालीहरु प्राय ग्रुपमा आउँछन् र यतै आएर होमस्टे खोज्छन् । तर विदेशी पर्यटक सुरुमै योजना बनाएर हिँड्ने भएकाले होमस्टेमा थोरै आउँछन् ।’ ताङतिङबाट अन्नपूर्ण हिमाल, लमजुङ हिमाल, बोजुपुंगी लामा महायन बौद्ध गुम्बा, बोनधर्म घर, शिवालय लगायत दृश्यावलोकन तथा दर्शन गर्न सकिने उनले जानकारी दिए । भ्रमण वर्ष सुरु भएको र त्यसअवधिमा गाउँमा झनै पर्यटक बढ्ने स्थानीयको विश्वास छ ।

तपाईको प्रतिक्रिया