चार महिनामा कर तिर्ने एनसेलकाे प्रस्ताव, सरकारले निर्णय गर्न बाँकी

बीबीसीबाट
लामो समयसम्म पुँजीगत लाभकर तिर्न आनाकानी गरेको एनसेलले चार महिनामा किस्तामा कर तिर्न ठूला करदाता कार्यालयमा निवेदन बुझाएको अधिकारीहरूले बताएका छन्।
सो निजी क्षेत्रको दूरसञ्चार कम्पनीले तिर्न बाँकी रकम प्रत्येक महिनाको मसान्तमा बुझाउने निवेदनमा उल्लेख गरेको बताइएको छ।
ठूला करदाता कार्यालयका प्रमुख झलकराम अधिकारीका अनुसार उनीहरुले चार किस्तामा सबै रकम भुक्तानी गर्ने प्रतिबद्धतासहित निवेदन मङ्गलवार पेस गरेका र यसबारेमा निर्णय गर्न भने बाँकी नै रहेकाे छ ।
केही दिनअघि २० प्रतिशत कर बुझाएको एनसेलले अब १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ।
उक्त निवेदनका विषयमा आन्तरिक राजस्व विभाग र अर्थ मन्त्रालयसँग समन्वय गरेर निर्णय गरिने बताइएको छ।
आयकर ऐन २०५८ को दफा ११० ले करदातालाई किस्ताबन्दीको सुविधा माग गर्ने अधिकार दिएको छ।
तर दफा ११९ ले उक्त सुविधा लिँदा थप पाँच प्रतिशत ब्याज बुझाउनुपर्ने व्यवस्था गरेको छ।
हाल तोकिएको कर रकमको प्रत्येक महिना १५ प्रतिशत ब्याज तिर्नुपर्ने र किस्ताबन्दीको माग स्वीकृत भएमा उक्त ब्याज २० प्रतिशत पुग्नेछ।
एनसेलले तिर्नुपर्ने कुल २२ अर्ब ४४ करोड पुँजीगत लाभकरमध्ये १८ अर्ब २३ करोड रुपैयाँ तिर्न बाँकी छ।
सो रकमको हिसाब गर्दा चार महिनामा तिर्दा प्रत्येक महिना २३ करोड ब्याज लाग्नेछ। पाँच प्रतिशत थपिँदा उक्त ब्याज रकम २७ करोडसम्म हुनेछ।
तपाईको प्रतिक्रिया