हटाइयो ढुंगा कटिङ उद्योग

समाधान संवाददाता २०७६ पुष २३ गते १२:२५

सचिन आचार्य,पुष्पराज चापागाईं
पोखरा

पोखरा महानगरपालिकाले पोखरा ५ पस्र्याङका ५ वटा ढुंगा उद्योग हटाएको छ । पटक पटक सूचना दिँदासमेत अटेरी गरेको भन्दै महानगरपालिकाले बुधबार प्रहरीसमेतको उपस्थितिमा ती उद्योगका टहरा भत्काइदिएको छ ।

महानगरको गत माघ २८ गते बसेको प्रमुख स्तरीय बैठकले ती ठाउँका ढुंगा कटिङ उद्योग हटाउने निर्णय गरेको थियो । महानगर त्यसयता पटक पटक सूचना जारी गरिसकेको छ । तर, उद्योगधनीले उद्योग त्यहाँबाट नहटाएपछि माघमा ३५ दिने सूचनासमेत जारी गरेको थियो ।

Advertisement

करिब ७ वर्षअघि स्थानीय रुद्रप्रसाद लुइँटेल र विनोद पौडेलले महानगरमा धुलो, धुवाँ र ध्वनिबाट छुटकारा पाउन ‘ढुंगा कटिङ उद्योग हटाइ पाऊँ’ भन्दै निवेदन दिए । त्यतिबेला महानगरले दुवै पक्षलाई कार्यालयमा उपस्थित गराएर उद्योग हटाउने सम्झौता पनि गराएको थियो । तर, कार्यान्वयन भएन ।

महानगर विपद् व्यवस्थापन तथा निरीक्षण महाशाखा प्रमुख नारायण शर्माका अनुसार जीवनप्रसाद बास्तोला, अष्टमान प्रधानांग, कृष्ण तिवारी, ऋषिराम तिवारी र राजु नेपालीले सञ्चालन गरेको ढुंगा कटिङ उद्योग हटाइएको हो । ‘एक त हाइवे पनि भयो । त्यसमाथि अवैध ढंगले सञ्चालन भएका थिए,’ शर्माले भने, ‘आफैं हटाउन पटक पटक सूचना जारी गर्‍यौं । अटेर गरेकाले आफैं हटाउन बाध्य भएका हौं ।’

Advertisement

‘छानबिनका क्रममा उद्योग सञ्चालकले मापदण्डविपरीत सार्वजनिक ठाउँमा चर्पी बनाएको पनि पाइयो । त्यो पनि डोजर लगाएरै भत्काइसक्यौं,’ निरीक्षण महाशाखाका प्रहरी नायब निरीक्षक पुरुषोत्तम थापाले भने ।

महानगरले उद्योगका ५ वटा ढुंगा काट्ने उद्योग भत्काएको थापाले जानकारी दिए । सामान जफत नगरिएको र अन्यत्र नियमपूर्वक उद्योग सञ्चालन गर्न उद्योगीसँग अनुरोध गर्दै टहरासमेत भत्काएको छ । ‘उद्योग सुरु गर्दा दर्ता गरिएको भए पनि महानगरमा निवेदन परेदेखि अहिलेसम्म बिना दर्ता सञ्चालन भएका रहेछन्,’ उनले भने ।

महानगरले आफूहरुमाथि ज्यादती गरेको ए वान स्टोन सप्लायर्सका सञ्चालक जीवन बास्तोलाले बताए । ‘पहिले ध्वनि प्रदूषण भयो भनेर मेसिन नचलाउने निर्देशन थियो, हामीले मेसिन बन्द गर्‍यौँ,’ उनले भने, ‘कसैको लहैलहैमा लागेर महानगरले हामीमाथि अमानवीय व्यवहार गर्‍यो ।’ डोजरले बास्तोलाको मेसिन राखिएको घर भत्काई मेसिन उखेलेर बाहिर फालेको थियो ।

ढुंगा सप्लायर्स कम्पनीसँगै भएको सहमतिको आधारमा डोजर चलाएको महानगरपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष धनबहादुर नेपालीले बताए । ‘पहिले नै मापदण्डमा परेकालाई हटाउन भन्यौं, नमानेपछि म आफै लागेको हुँ,’ उनले भने, ‘गैरकानुनी रुपमा बनाइएका संरचना आज नभए भोलि भत्किन्छन्, यो त्यसैको उपज हो ।’

आफूहरुले महानगरको मेसिन नचलाउने आदेश मान्दामान्दै पनि परालले छोपेर थन्क्याएको मेसिनमा डोजर चलाएर मनपरी गरेको अर्का सप्लायर्सका सञ्चालक हरिप्रसाद अधिकारीले बताए । स्टोन कटिङ नजिकका छिमेकीले भने आफूहरुलाई कुनै बाधा नभएको बताए ।

तपाईको प्रतिक्रिया