पोखरा महोत्सवमा चुस्त सुरक्षा

समाधान संवाददाता २०७६ पुष २४ गते १२:२०

समाधान संवाददाता
पोखरा

१० औं पोखरा महोत्सव सुरक्षित वातावरणमा भव्य तवरले गर्न कास्कीमा रहेका सम्पूर्ण सुरक्षा निकायले सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । आयोजक युनाइटेड क्लबका पदाधिकारीसँगको अन्तक्र्रियामा सुरक्षा निकायका प्रमुखहरुले महोत्सवमा शान्ति, सुरक्षा चुस्त रहने प्रतिवद्धता जनाएका हुन् ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले पोखरा महोत्सवलाई सुरक्षित रुपमा सञ्चालन गर्न सुरक्षा निकायसँग समन्वय गर्न आग्रह गरे । केसीले अर्को महोत्सव कम्पनी रजिस्टर्डको कार्यालयमा दर्ता गरी गर्नसमेत सुझाए । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले महोत्सवमा सुरक्षा प्रदान गर्नका लागि महोत्सव आयोजक र अन्य सुरक्षा निकायसँग समन्वय गरी काम हुने उल्लेख गरे ।

Advertisement

कालिका गण मालेपाटनका गणपति सशस्त्र प्रहरी उपरीक्षक प्रेमध्वज शाहले विगतका वर्षमा पनि सशस्त्र प्रहरीले अन्य सुरक्षा निकायसँग सहकार्य गरेको स्मरण गरे । राष्ट्रिय अनुसन्धान कार्यालय कास्की प्रमुख अनुसन्धान निर्देशक भूमीराज पाठकले महोत्सवको सफलताको कामना गरे । वडा प्रहरी कार्यालय रामबजार प्रमुख प्रहरी निरीक्षक प्रकाश थापाले महोत्सव स्थल वडामा पर्ने महोत्सव स्थल र परिसरको सुरक्षामा कुनै कसुर बाँकी नरहने प्रतिवद्धता गरे । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की औद्योगिक क्षेत्र बिटका प्रमुख प्रहरी नायब निरीक्षक जीतजंग कार्कीले महोत्सव अवधिभर यस क्षेत्रको ट्राफिक व्यवस्थापन चुस्त बनाउने योजना बनाइने उल्लेख गरे ।

महोत्सव सुरक्षा व्यवस्थापन उपसमिति संयोजक तथा युनाइटेड क्लबका सचिव सूर्यबहादुर बानियाले सिसी क्यामेरा जडान गरिने, पार्किङ व्यवस्थित बनाउने र सुरक्षा निकायसँग सहकार्य गर्ने योजना सुनाए । कार्यक्रममा जेट सेक्युरिटी कम्पनी प्रालिका सञ्चालक कृष्ण सुवेदी, स्वयंसेवक परिचालन उपसमिति संयोजक विष्णुकुमार गुरुङ, ट्राफिक व्यवस्थापन उपसमिति संयोजक रामबहादुर थापामगर, महोत्सव आयोजक मुल समारोह समिति संयोजक तथा युनाइटेड क्लबका अध्यक्ष लालकाजी गुरुङ र क्लबका महासचिव तथा महोत्सव प्रचारप्रसार संयोजक शान्तबहादुर थापाले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया