—सम्पादकीय— दुग्ध बोर्ड र प्राधिकरणको ढिलाइ

गण्डकी प्रदेश सरकारले दुग्ध विकास बोर्ड गठन सम्बन्धी विधेयक पारित गरेको वर्ष दिनभन्दा धेरै नाघ्यो । प्रदेशलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको उद्देश्य हो । त्यसैले हतारहतारमै उक्त कानुन ल्याइएको थियो । दुग्ध विकास बोर्ड गठन सम्बन्धी विधेयक गत साउन २१ मै पारित भयो । साउन ३० गते प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकरण भयो । हतार किन भने त्यो कानुनबिना प्रदेश सरकारका अत्यावश्यक काम रोकिएको थिएन । पर्याप्त छलफल पनि उक्त विधेयकमा हुन पाएको थिएन । नयाँ चीन सरकारले गण्डकी प्रदेशसमेतलाई गरी नेपालमा ३२ अर्बका गाई अनुदान दिने प्रदेशले नै बताएको थियो । सोही प्रयोजनका लागि उक्त बोर्ड चाहिएको सरकारको प्रष्टोक्ति थियो । तर यतिका समयसम्म न गाई आएका छन्, न सरकारले उक्त बोर्ड गठन गरेको छ । बोर्ड नभएपछि अरु काम अघि बढ्ने कुरै भएन । दूधमा प्रदेशलाई आत्मनिर्भर बनाउने कुरा हावादारीजस्तै देखिएको छ । हुन त दुग्ध विकास बोर्डमात्रै होइन, सरकारले विधेयक ल्याएको लामो समय बितिसक्दा पनि ताल संरक्षण तथा विकास प्राधिकरण पनि गठन गर्न सकेको छैन । गत साल चैत २५ गते प्रदेश प्रमुखबाट विधेयक प्रमाणीकारण भएपछि प्राधिकरण गठन गर्ने बाटो खुलेको थियो ।
प्रदेश सभाको अर्थ तथा विकास समितिको मंगलबार बसेको बैठकले दुग्ध विकास बोर्ड र ताल प्राधिकरण गठनमा किन ढिलाइ हुनुको कारण ३ दिनभित्र पेस गर्न मन्त्रालयहरुलाई निर्देशन जारी गरेको छ । वास्तवमा उक्त बैठकमा मन्त्री स्वयं उपस्थित भएर जवाफ दिनुपर्ने पनि थियो । तर त्यस्तो जिम्मेवारीपन मन्त्रीहरुमा देखिएन । यो संसदीय अभ्यासलाई मात्रै होइन, प्रादेशिक संरचना र संघीयताको कार्यान्वयनलाई फितलो बनाउने कदम हो । संसदका समितिलाई चलायमान बनाउने, सरकारलाई उत्तरदायी बनाउने मामलामा मन्त्रीहरुको यस्तो बेवास्ताले लोकतन्त्रलाई कमजोर बनाउँछ, जुन लोकतन्त्र तिनै मन्त्रीहरु हाम्रो साना दुखले आर्जेको होइन भन्दै आइरहेका छन् ।
पोखरा र प्रदेशकै तालका हालत नाजुक छ । तिनको संरक्षण गर्ने ताल विकास प्राधिकरणको उद्देश्य हो । ताललाई हेर्नेमात्रै छुट्टै निकायको परिकल्पना आफैंमा सकारात्मक कुरा थियो । तर न प्राधिकरण गठन भएको छ, न तालको संरक्षण भएको छ । प्रदेशकै सबैभन्दा ठूलो ताल फेवा सबैभन्दा ठूलो संकटमा छ । तर सर्वाेच्च अदालतले गरेको फैसला अनुसार संघ सरकारले फेवातालको सीमांकन गरेको छैन । त्यही बहानामा प्रदेश सरकार र पोखरा महानगरपालिकाले पनि काम गर्न पाएका छैनन् । सीमा यकीन नभएसम्म यसको मापदण्ड कार्यान्वयन अघि बढ्न सम्भव छैन पनि ।
दुवै मामलामा प्रदेश सरकार जवाफदेही र संवेदनशील हुन जरुरी देखिन्छ । प्रदेश सरकारले आफ्नो उपस्थिति देखाउने अवसर पनि हो, दूधको आत्मनिर्भरता र तालको संरक्षण । आफ्नै अधिकार क्षेत्रको र आफूले नै गर्छु भनेको काममा पनि यसरी ढिलाइ हुँदा प्रादेशिक संरचनालाई विफलतातिर लैजाने अपजस प्रदेश सरकार स्वयं भएको अर्थ लाग्नेछ ।






पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया