गण्डकी चाँडै सडक मानवमुक्त क्षेत्र !

समाधान संवाददाता २०७६ पुष २४ गते १५:५८

तस्बिरः युवराज गुरुङ ‘युनिश’

विकास रोकामगर
पोखरा

पुसको जाडो महिना । रातको करिब साढे ९ बजे । लेकसाइड, बाराहीघाटस्थित नेपाल ट्रस्टको जग्गा । जग्गालाई घेरेर बाराही चोकदेखि बाराही घाटसम्म पुग्ने एउटा सानो पर्खाल बनाइएकोे छ ।

Advertisement

मौसम चिसो छ त्यसमाथि शीत खसिरहेको छ । त्यही चिसोमा नेपाल ट्रस्टको जग्गामाथि बनाइएको पर्खालमा सुतिरहेका छन्, अर्जुन (नाम परिवर्तन) । भूइँमा केही कार्टुन बिछ्याइएको छ । त्यहीमाथि पातलो पुरानो सिरक ओडेर उनी गुटुमुटु परेर निदाइरहेका थिए ।

गण्डकी प्रदेश सरकार सामाजिक विकासमन्त्री नरदेवी पुन, पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहित मानव सेवा आश्रम पोखराका कर्मचारी उद्धार गर्न अर्जुन नजिक पुगे । उनीहरुले अर्जुनलाई त्यहाँबाट न्यानो कोठामा लैजान आएको सम्झाए । तर, उनले मानेनन् ।

Advertisement

‘कतै जान्नँ मलाई यही सुत्न दिनुस्,’ सुरुमा अर्जुनले जिद्दी कसे, ‘मैले मासु भात खाइसकें के ! मलाई आर्मी अंकलले दिनु भएको हो । जान्नँ म । जान्नँ म ।’ तर, उनको उद्धारका लागि गएको टोलीले राम्ररी सम्झाइबुझाइ गरेपछि बल्ल राजी भए ।

रत्नचोक प्रतीक्षालयमा श्रीमान श्रीमती सुतिरहेका थिए । करिब ९ बजेतिर उद्धार टोली त्यहाँ पुग्दा श्रीमतीको अनुहारभरि रगत लत्पतिएको थियो । ह्वास्स रक्सीको दुर्गन्धसहित श्रीमान् कराइरहेका थिए, ‘केटाहरुले हाम्रो पैसा खोस्न आए । नदिएपछि मेरी बुढीलाई पिटेर गए ।’ तर, उद्धार टोलीले प्रत्यक्षदर्शीबाट थाहा पायो, श्रीमानले दिउँसो मदिराको तालमा बीच सडकमै श्रीमती कुटेका रहेछन् ।

टोलीले ती चिसो सडकमा बास बस्ने जोडीलाई पनि उद्धार गर्‍यो र घाइते महिलाको उपचारका लागि सम्बन्धित ठाउँमा पठायो । यी दृश्य बुधबार साँझ पोखराका विभिन्न सडकमा देखिएका हुन् । उनीहरुजस्तै बुधबार एकै रातमा पोखराका विभिन्न सडकबाट बुधबार राति १२ जनाको उद्धार गरिएको छ । गण्डकी प्रदेश सरकार, मानव सेवा आश्रम पोखरा र पोखरा महानगरको संयुक्त पहलमा असहाय तथा सडक बालबालिकाको उद्धार गरिएको हो ।

उद्धार भएकामध्ये ३ महिला २ बालबालिका र बाँकी पुरुष छन् । उद्धारपछि उनीहरुलाई मानव सेवा आश्रमको पोखरास्थित शाखामा लगिएको छ । सडक मानवमुक्त बनाउने सोही अभियानका लागि सडकमा रात बिताउने मान्छेको उद्धार सुरु गरिएको मानव सेवा आश्रम पोखरा शाखा संयोजक होमनाथ तिमिल्सिनाले बताए ।

तिमिल्सिनाले उद्धार गरिएकामध्ये कतिपय दोहोरिएकोसमेत खुलाए । ‘आश्रममा माछा, मासु र कुनै पनि नशा लिन बन्देज छ । उनीहरु १ पटक आश्रममा आइसकेपछि पनि नशाका लागि त्यहाँबाट भाग्ने धेरै समस्या छन्,’ उनले भने । सडकमा भेटिएकामध्ये धेरै मानसिक रोगी हुने उनको भनाइ थियो ।

मानव सेवा आश्रमले गत वर्ष पनि सडकबाट ४० जनाको उद्धार गरेको थियो । गतवर्षको तुलनामा यस वर्ष केही संख्या घटे पनि समस्या समाधान नभएको तिमिल्सिनाको भनाइ थियो । ‘विगतका तुलनामा केही घटेका छन् । सडकमा नयाँ मान्छे आउन भने छोडेका छैनन्,’ उनले भने ।

सडकमा भेटिएका ९० जनाभन्दा बढीलाई पारिवारिक पुनर्मिलन गराइसकेको समेत संयोजक तिमिल्सिनाले जानकारी दिए । ‘केही समस्याका कारण सडकमा आएका उनीहरुको समस्या पहिचान गरेर परिवारसँग मिलाइसक्यौं । फलोअप गर्दा अवस्था सन्तोषजनक नै छ,’ उनले भने, ‘तर यहाँ आएका विदेशीलाई भने पारिवारिक मिलन गराउन समस्या परिरहेको छ ।’ उनले मानव सेवा आश्रममा ५ जना भारतीय नागरिक रहेको सुनाए ।

मानव आश्रम पोखराको क्षमता १ सय ५० जना हो । अहिले त्यहाँ १ सय १७ जनाले आश्रय लिइरहेका छन् । त्यहाँ आश्रितका समय कटानका लागि तरकारी खेतीसमेत गरिएको छ । ‘नजिकै तरकारी खेती सुरु गरेका छौं । उहाँहरु आफैं काम गर्नुहुन्छ,’ होमनाथ भन्छन्, ‘८० प्रतिशत तरकारी त उहाँले आफैं उत्पादन गरेको यहाँ प्रयोग गर्छौं ।’ आश्रममा अहिले ६ महिने शिशुदेखि सय वर्षीय महिलासमेत छन् ।

गण्डकी चाँडै सडक मानवमुक्त क्षेत्र !
गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनमगरले गण्डकी प्रदेश चाँडै सडक मानवमुक्त घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् । उनले घोषणामात्रै नभएर उनीहरुको अवस्था सुधार गर्नतिर पनि गम्भीर हुनुपर्ने धारणा राखिन् ।

‘प्रदेश सरकार सडकलाई मानवमुक्त बनाउन गम्भीर भएर लागिरहेको छ । त्यसका लागि बजेटको पनि व्यवस्था गरेका छौं,’ मन्त्री मगरले भनिन्, ‘सडक मानवको पक्षमा काम गर्ने समाजसेवीको पक्ष सरकार जहिले पनि उभिन्छ ।’

पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले सडक मानवलाई आश्रय दिने सरकारको काम भए पनि निजी संस्थाले पनि सहयोग गरेको बताइन् । उनले पनि पोखरा महानगरलाई मानवमुक्त क्षेत्र घोषणा गर्न गृहकार्य भइरहेको सुनाइन् । उनले भनिन्, ‘केही दिन यसरी सडकमा रात बिताउन बाध्य नागरिकको उद्धारमा संलग्न होऔं । त्यसपछि प्रक्रिया पूरा गरेर फेरि सडकमा नआउने गरी महानगरलाई मानवमुक्त सडक बनाउन तयार छाैं।’

तपाईको प्रतिक्रिया