तनहुँ महोत्सव सुरु

समाधान संवाददाता २०७६ पुष २५ गते १२:३४

कृष्ण न्यौपाने
दमौली

तनहुँको दमौलीमा सातौं तनहुँ महोत्सव सुरु भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर सुरु गरिएको महोत्सव माघ ६ गतेसम्म चल्नेछ । जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गर्दै समग्र आर्थिक तथा सामाजिक विकासका लागि उद्योग, व्यापार, शिक्षा, कृषि, पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धनमा टेवा पु¥याउने महोत्सवको उद्देश्य रहेको महोत्सव संयोजक एवं तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले बताए । १ सय ४० स्टल रहेको महोत्सवमा ५ करोडको कारोबार र ४ लाखले अवलोकन गर्ने लक्ष्य राखिएको छ ।

महोत्सव नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे । नेता पौडेलले कृषि, पर्यटन र ऊर्जाबाट देश समृद्धिको बाटोमा अघि बढ्न सक्ने बताएका छन् । नेता पौडेलले सरकार अलमलिएको र विकासका प्राथमिकता पहिचान गर्न नसकेको उल्लेख गरे ।

Advertisement

उनले उद्योगी व्यवसायी संरक्षणका लागि कांग्रेस प्रतिबद्ध रहेकाले स्थानीय व्यवसायी आफ्नै जिल्लाको विकासमा लाग्नुपर्नेमा सुझाए । नागरिक अधिकार संकुचन गर्नेतर्फ सरकार लागेको आरोप लगाउँदै वरिष्ठ नेता पौडेलले बोल्न नपाउने गरी बनाउन लागिएको कानुनले लोकतन्त्र खतरामा पर्ने बताए ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य प्रकाश पन्त, गण्डकी प्रदेशसभा सदस्य डोबाटे विक, सरीता गुरुङ, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, आदिबासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् अध्यक्ष बसुन्धरा घर्ती लगायतले स्थानीय स्तरमा सञ्चालन हुने मेला महोत्सवले कला, संस्कृति संरक्षणका साथै कृषि उपज बिक्री वितरणमा टेवा पुर्‍याउने बताएका थिए ।

Advertisement

महोत्सवबाट भएको आम्दानीले व्यास नगरपालिका ३ स्थित भतेरीमा रहेको सार्वजनिक जग्गामा पूर्वाधार निर्माण र दमौली बजारमा हाटबजार सञ्चालन गर्ने योजना बनाइएको संघका अध्यक्ष श्रेष्ठले बताए ।

महोत्सवमा मादीसेती नदीमा जलबिहारको व्यवस्था मिलाइने भएको छ । जिल्लाका ऐतिहासिक र सांस्कृतिक स्थलका ग्रामीण बस्ती प्रवद्र्धन गर्न दर्शकलाई सांस्कृतिक नमुना ग्राम भ्रमण गराउने योजना छ । महोत्सवका दर्शकलाई मानहुँकोट, कुमालटारी, बोटेगाउँ, दरैगाउँ लगायत गाउँ भ्रमणको व्यवस्था मिलाइएको छ ।

महोत्सवमा कृषिलाई विशेष प्राथमिकतामा राखेर १५ स्टल छुट्याइएको छ । किसानलाई महोत्सवस्थलबाट सुन्तला, अदुवा, मास, तरकारी लगायत सामग्री बिक्री गर्न व्यवस्था मिलाइएको संघका महासचिव इमकुमार मल्लले जानकारी दिए । महोत्सव अवधिभर करिब २० लाखको कृषिजन्य उत्पादनको कारोबार हुने लक्ष्य अनुमान गरिएको छ । उत्कृष्ट कृषि उपजका आधारमा किसानलाई सम्मानसमेत गरिनेछ ।

तपाईको प्रतिक्रिया