कालिका र जनसेवीको एकीकृत कारोबारः २८ जिल्लामा ९६ शाखा सञ्जाल

समाधान संवाददाता २०७६ पुष २५ गते १२:५५

समाधान संवाददाता
पोखरा

स्याङ्जाको वालिङमा मुख्य कार्यालय रहेको कालिका लघुवित्त वित्तीय संस्था र पर्वतको कुश्मामा मुख्य कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था मर्ज भएका छन् ।

नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति लिएर दुवै संस्था गाभिएर बुधबारबाट एकीकृत कारोबार सुरु भएको छ । मर्जरपछि संस्थाको नाम कालिका लघुवित्त वित्तीय संस्था लिमिटेड राखिएको छ । केन्द्रीय कार्यालय पनि वालिङमा नै राखिएको छ ।

Advertisement

राष्ट्रिय मानव अधिकार आयोगका सदस्य गोविन्द पौडेल र निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त नीलकण्ठ उपस्थितिमा एकीकृत कारोबार शुभारम्भ भएको हो । मर्जर पश्चात बनेको संस्थाको चुक्तापुँजी २५ करोड २३ लाख ३० हजार र अधिकृत पंँजी ५० करोड रुपैयाँ छ । संस्थाले हाल २८ जिल्लामा ९६ शाखा सञ्जाल विस्तारसहित ५९ हजार सदस्यलाई ३ सय ९२ कर्मचारीहरु मार्फत् सेवा प्रदान गर्दै आएको मर्जरपछि बनेको संस्थाका अध्यक्ष विकास गौचनले बताए । संस्थाले १ अर्ब ४७ लाख निक्षेप संकलनसहित सदस्यलाई २ अर्ब ४५ करोड ५० लाख कर्जा प्रवाह गरेको संस्थाका नायव कार्यकारी अधिकृत कमलबहादुर खत्रीले जानकारी दिए ।

मानवअधिकार आयोगका सदस्य पौडेलले आर्थिक अवस्था सबल भए मात्र मानवअधिकार सुनिश्चित हुने भनाइ राखे । लक्षित वर्गमा पहुँच पुर्‍याउने गरी उत्पादनमूलक क्षेत्रमा लगानी बढाउन उनले आग्रह गरे । पूर्व प्रमुख आयुक्त उप्रेतीले अझै पनि कतिपय ठाउँमा बैंकिङ पहुँच नपुगको भन्दै कमाइसँगै बचतको बानी विकास गर्न लघुवित्त संस्थाहरुले प्रभावकारी भूमिका खेल्दै आएको बताए ।

Advertisement

संस्थाका निवर्तमान अध्यक्ष कृष्ण खाँणले उपस्थित अतिथि एवं सेयरधनीहरुलाई स्वागत गर्दै मर्जरमा सहयोग गर्ने दूवै संस्थाका पूर्व सञ्चालक समितिका पदाधिकारी, कर्मचारी र सम्पूर्ण सरोकारी निकायलाई धन्यवाद दिए ।

कार्यक्रममा मर्जर समिति संयोजक पद्मराज रेग्मी, निवर्तमान सञ्चालक कृष्णकाजी केसी, नित्यानन्द तिवारी, तथा वर्तमान सञ्चालक मेघनाथ सुवेदीले संस्थाको उत्तरोत्तर प्रगतिको शुभकामना सहित मर्जर सफल पर्ने सबैलाई धन्यवाद दिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष चन्द्रबहादुर बस्नेतसहित सञ्चालक समितिका सदस्य शान्ताकुमारी उप्रेती, कुलप्रसाद गुरुङ, सन्तोष श्रेष्ठ, विश्वराज नेपाललगायतको उपस्थितिे थियो । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव मीनबहादुर बोहराले चालु आर्थिक वर्ष भित्रमा नै थप २० वटा नयाँ शाखा विस्तारसहित सेयरधनीलाई उत्कृष्ट प्रतिफल प्रदान गर्ने योजना सुनाए ।

तपाईको प्रतिक्रिया