राष्ट्रिय हित अनुकूल भएमात्र एमसिसी अघि बढाइने

समाधान संवाददाता २०७६ पुष २५ गते १३:२८

समाधान संवाददाता
पोखरा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय हित अनुकूल भएमात्र एमसीसीलाई अगाडि बढाउने उल्लेख गरे । विगतको सरकारले औपचारिक रुपमा गरेको मागलाई अमेरिकाले स्वीकार गरेको जानकारी दिँदै उनले संसदमा छलफल भएको विषय राष्ट्रिय स्वार्थ अनुकूल भए अनुमोदन हुने धारणा राखे । नेपाल कुनै सैनिक गठबन्धनमा सहभागी नहुने अडान राख्दै उनले सम्प्रभुतालाई थाती राखेर सहयोग नलिने धारणा राखे । उनले विद्युत विकास र यातायात क्षेत्रमा खर्च गर्ने गरी ५५ अर्ब अनुदान आउन लागेको बताए ।

ऐतिहासिक दस्तावेज र सुनौली सन्धिले किटान गरेको सिमाना नै देशको सीमा भएको बताउँदै उनले २ देशबीच आपसी सहमति र अन्तर्राष्ट्रिय मान्यता अनुसार सीमा निर्धारण हुने भएकाले भारतले प्रकाशन गरेको नक्साको अर्थ नरहने तर्क गरे । उनले औपचारिक रुपमा डिप्लोम्याटिक नोट पठाएको उल्लेख गर्दे नेपालसँग भएका ऐतिहासिक प्रमाण र राष्ट्रिय एकताको बलमा भारतसँग वार्ता गर्ने बताए ।

Advertisement

कार्यक्रममा प्रेस संगठन नेपाल कास्कीका संयोजक माधव बराल, सहसंयोजक सन्देश श्रेष्ठ, जिल्ला सदस्य रामजी लम्सालले बोलेका थिए ।

उपप्रधानमन्त्री पोखरेलले पार्टी एकतापछि नेता र कार्यकर्ताले मन मिलाएर काम गर्नुपर्ने समेत बताएका छन् । पार्टीमा मतमात्र मिलाएर नपुग्ने उल्लेख गर्दै नेता पोखरेलले मन पनि मिलाएर काम गर्न निर्देशन दिए । नेकपा कास्कीले बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन् । नेकपाका कार्यकर्ता झपट रानाभाटले नेकपा माले र माक्र्सवादीको एकता चिनी र पानी घुलेजस्तो भए तापनि नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीचको एकता बालुवा र पानीको मिलनजस्तो भएको हो भन्ने प्रश्न गरे ।

Advertisement

‘२ पार्टीको मानसिकता कहिलेकाहीँ झल्कन्छ, कमिटी तथा नियुक्तिमा कसका कति परे भनेर हिसाब किताब हुन्छ,’ नेता पोखरेलले भने, ‘अब कसैले पनि एकताको भावना विपरीत पुरानो एमाले र पुरानो माओवादी भनेर अलमलिन हुँदैन ।’

२ फरक पृष्ठभूमिबाट आएको कारण कहिलेकाहीँ मानसिकताले दुख दिने उल्लेख गर्दै नेता पोखरेलले भने, ‘अहिलेको अवस्था नो मोर युएमएल, नो मोर माओइस्ट सेन्टर हो ।’ पार्टीको माघ १५ गते बस्ने केन्द्रीय कमिटीको बैठकले एकताको सबै पाटोलाई टुंगाउने उनले दाबी गरे ।

पार्टी र सरकार दुवै नयाँ उचाइमा पुगेका दाबी गर्दै उनले ठीक ढंगले काम गरे अघि जाने र नगरे टाउको फुट्ने डर भएको टिप्पणी गरे । उनले पार्टी तथा सरकारले ठीक ढंगले काम गरेर इतिहास रच्ने अवसरबाट पछि नपर्ने बताए ।

राजनीतिक र संरचनात्मक प्रणाली फेरिए पनि नीतिगत अलमल र प्रशासनिक संक्रमणकालका कारण नयाँ संघीय व्यवस्था अनुसार कानुन र संरचनालाई परिवर्तन गर्न नसक्दा सरकारको काम प्रभावकारी हुन नसकेको दाबी गरे ।

सभामुखको टुंगो लगाउन मत र मन मिलाउने काम भइरहेको बताउँदै पोखरेलले २ अध्यक्षबीच परामर्श भइरहेको सुनाए । उनले पार्टीको सचिवालयको बैठकले सर्वसम्मत रुपमा राष्ट्रिय सभा उम्मेदवार चयन गरेको उल्लेख गरे । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष कृष्ण थापा, सचिव बखानसिंह गुरुङ लगायतले बोलेका थिए ।

कानुसम्मत ढंगले हिमागृह र रत्न मन्दिरको सदुपयोग
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनसम्मत ढंगले पोखराको रत्नमन्दिर र हिमागृहको सदुपयोग गर्ने बताएका छन् ।

उनले गण्डकी प्रदेश र स्थानीय सरकारको परामर्शमा विद्यमान कानुन अनुसार नेपाल ट्रस्टको जग्गा सदुपयोग गर्ने उल्लेख गरे । प्रेस संगठन नेपाल कास्कीले बिहीबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेपाल ट्रस्टका अध्यक्षसमेत रहेका पोखरेलले ट्रस्टको सम्पत्ति कसैलाई त्यसै नदिने प्रतिबद्धता जनाए । ‘रत्न मन्दिर र हिमागृहको सही रुपमा सदुपयोग होस भन्ने पोखरेलीको चाहना छ, उपप्रधानमन्त्री पोखरेलले भने, ‘सरकार र ट्रस्टले जे गर्दछ, सबै कानुनसम्मत ढंगले गर्दछ ।’ उनले अपारदर्शी ढंगले प्रदेश र स्थानीय सरकारलाई बाइपास गरेर काम नगर्ने प्रष्ट पारे ।

उनले कास्कीमा रहेका नेपाल ट्रस्टको जग्गाको सदुपयोग गर्दा प्रदेश सरकारसँग सल्लाह गर्ने र पर्यटन व्यवसायीका कुरा सुन्ने बताए । उनले ट्रस्टको साढे २१ हजार रोपनी जग्गा, करिब १ अर्ब नगद र सेयर कानुन बमोजिम उपयोग गर्ने जानकारी दिए ।

तपाईको प्रतिक्रिया