ठण्डीले पर्यटकविहीन मुस्ताङ

समाधान संवाददाता २०७६ पुष २५ गते १३:२९

एसके थकाली
जोमसोम

हिउँँदयामको ठण्डीले मुस्ताङ सुनसान बनेको छ । हिमपात भएस‍ँंगै जाडो बढेकाले पर्यटकको रौनक र अन्य गतिविधि नभएको हो । स्थानीय पर्यटन व्यवसायी समेत व्यवसाय बन्द गरी जिल्ला बाहिरिएका हुन् ।

मुस्ताङ सदरमुकाम जोमसोम र पुथाङ एअरपोर्ट आसपासमा सञ्चालित होटल तथा रेस्टुरेन्ट यतिबेला आधाजसो बन्द छन् । तर केहीले भने होटल खुल्ला गरी पर्यटकको पर्खाइ बसेका छन् । मुस्ताङको समग्र मौसमी तापक्रम माइनस १५ डिग्रीभन्दा माथि पुगेको छ । उपल्लो मुस्ताङको लोमान्थाङ, चराङ र घमी लगायतमा सञ्चालित अधिकांश होटल पनि बन्द छन् । मुक्तिनाथका अधिकांश होटल भने खुल्लै रहेको पर्यटन व्यवसायी मानबहादुर थकालीले जानकारी दिए ।

Advertisement

हिउँ पर्न रोकिए पनि बेजोडको उत्तरी हावा चल्ने र अत्याधिक जाडो बढेकाले सदरमुकाम जोमसोम बजारमा मानिसको आउजाउ पातलिएको छ । संघीय सरकार अन्तर्गतका संघ, प्रदेश र स्थानीयतहका कर्मचारीको उपस्थित अत्यन्तै न्यून छ भने सेवाग्राहीको उपस्थितसमेत देखिँदैन । राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको प्याकेज २, ३ र ४ वटा खण्डमा केही उपकरणले सडक फराकिलो पार्न चट्टान कटिङको काम गरे पनि अन्य कार्यालयहरुको भौतिक पूर्वाधार विकासको काम ठप्पै भएको हो ।

जिल्लास्थित कार्यालयका कर्मचारीहरु तालिम, सेमिनार, गोष्ठी र बिदाको बहाना बनाएर जाडो छल्न बेसी झरेको बुझिएको छ । केही कार्यालयका प्रमुखले आलोपालो मिलाएर बेसी झरेको जनाइएको छ । त्यसो त हिउँदयाम लागेपछि कतिपय स्थानीय तहका जनप्रतिनिधिहरु पनि जाडो छल्न बेसी झरेका हुन् ।

Advertisement

जिल्लाको घरपझोेङ, बारागुङ र थासाङ गाउँपालिकाका कार्यालयमा केही कार्यालय सहयोगी र आंशिक कर्मचारीले पालिका धानेर बसेका छन् । उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाले नागरिकलाई अतिआवश्यकीय सेवा उपलब्ध गराउन पोखरामा सम्पर्क कार्यालय खोलेको लोमान्थाङका अध्यक्ष सुवर्णकुमार बिष्टले जानकारी दिए । उनले जिल्लामा जाडो र हिमपातका कारण अधिकांश स्थानीयबासी बेसी झरेको र जाडोले गर्दा विकासका काम ठप्प भएको जनाए । बर्खायाममा दैनिक सयौंको संख्यामा सवारी आउजाउ गर्ने मुस्ताङमा यतिबेला दैनिक १५ वटा भन्दा कम सवारी भित्रिने गरेको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ ।

पर्यटन वर्षको पहिलो साता २ सय ४४ जना पर्यटक
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० सुरु भएपछि मुस्ताङमा २ सय ४४ पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप जोमसोम चेकपोस्टका अनुसार म्याग्दी हुँदै जोमसोम आएका १ सय ९७ पर्यटकमध्ये ३३ जना पश्चिमेलीमूलका छन् । अरु सबै भारतीय पर्यटक छन् । राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत मनाङ हुँदै मुस्ताङमा ४७ जना पर्यटक भित्रिएको कार्यालय प्रमुख तुलसी दाहालले जानकारी दिए । गत वर्षको जनवरी महिनाको पहिलो साता ८९ जना पर्यटक मुस्ताङ भित्रिएका थिए भने ६७ जना पर्यटकले राउन्ड अन्नपूर्ण पदमार्ग हुँदै मुस्ताङ आएको कार्यालय प्रमुख दाहालको भनाइ छ । दाहालका अनुसार गत वर्षको तुलनामा यस वर्षको पहिलो साता दोब्बर पर्यटक बढेको हो । राउन्ड अन्नपूर्ण गर्ने पर्यटक चौथाइले घटेको हो । सन् २०१९ को जनवरीमा ५ सय ८ विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । सन् २०१८ भन्दा सन् २०१९ मा २ हजार २ सय पर्यटक घटेको हो ।

मुक्तिनाथ सडकमा २ फिट हिउँ, डाडाकाँडा सेताम्मे
मुस्ताङको प्रमुख पर्यटकीय धार्मिक केन्द्र मुक्तिनाथ सडकमा २ फिट हिउँ जमेको छ । मुस्ताङका डाँडाकाँडा सेताम्मे बनेका छन् । कालोपत्रे सडक माथि बाक्लो हिउँ जमेकाले मुक्तिनाथ सवारी आउजाउ कठिन बनेको छ । जोमसोमबाट छुट्ने गरेका फोरह्विल जीप जोखिम मोलेर मुक्तिनाथ पुग्छन् । टु ह्विलर र बसलाई हिउँले अवरोध पु¥याएको हो । हिउँले सडक चुनौती बनेपछि मुक्तिनाथ जाने तीर्थालुले दोब्बर भाडा तिर्नुपर्ने बाध्यता आएको हो । ६ दिनअघि हिउँ पर्दा कागबेनीबाटै घोडाले तीर्थालु ओसार÷पोसार गरेका थिए । मुक्तिनाथ परिसरको १ सय ८ धारा र २ वटा स्नानकुण्डको पानी ठन्डीले जमेको छ । तीर्थालुले दर्शन अघि चोखिनका लागि कुण्ड र धारामा स्नान गर्ने चलन रहेको मुक्तिनाथका पुजारी कृष्णप्रसाद सुवेदीले उल्लेख गरे ।

चिसो मौसमकै कारण जोमसोम अस्पतालमा बिरामीको संख्या भने घटेको छ । पर्यटक, स्थानीय र कर्मचारीको संख्या न्यून भएकाले बिरामीको संख्या घटेको अस्पतालले जनाएको छ । मुस्ताङमा दोस्रो पटक हिमपातले स्थानीयको दैनिकीमा प्रतिकुल असर पुगेको छ ।

पोखरा –जोमसोम उडान प्रभावित
हिमपात र हावाहुरीले पोखरा–जोमसोम हवाई सेवा लगातार ९ दिन अघिदेखि उडान हुन सकेको छैन । भिजिट नेपाल २०२० पछिको जनवरी २ देखि ९ तारिख सम्म उडान हुन नसकेको जोमसोम नागरिक उडड्यन कार्यालयले जनाएको छ । विद्युत आपूर्ति, सञ्चार सेवा र यातायात आवागमन प्रभावित बनेको हो । जोमसोमका बैंक तथा वित्तीय संस्था र कार्यालय लगायतको गतिविधि र कार्यसम्पादन असहज बनेको छ ।

हिमपात र चिसोले गुमनाम बनेको मुस्ताङ सदरमुकाम जोमसोम बजार । तस्बिर ःसमाधान ।

तपाईको प्रतिक्रिया