उत्सवका रुपमा पृथ्वी जयन्ती मनाउने

समाधान संवाददाता २०७६ पुष २५ गते १४:०३

मोहसिन अलि मियाँ
गोरखा

पृथ्वी जयन्तीमा भिन्न कार्यक्रम गरी मनाउन गोरखा नगरपालिकाले तयारी थालेको छ । पहिलो पटक सार्वजानिक बिदा गरेको नगरपालिकाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ती मनाउने गरी तयारी गरेको हो । आगामी पुस २७ गते जन्मजयन्ती परेपनि नगरपालिकाले २६ गतेदेखि नै विभिन्न कार्यक्रम तय गरेको छ । ‘हामी इतिहासको सम्मान गर्छौं, प्रचार गर्न चाहान्छौं’ नगरप्रमुख राजनराज पन्तले बुधबार पत्रकार सम्मेलनमा भने, ‘सोही अनुरुप पहिलो पटक बिदा नै घोषणा गरेर उक्त दिनलाई उत्सवका रुपमा मनाउने तयारी गरेका हौं ।’

ऐतिहासिक विषयको उजागर र प्रचार गर्दै पर्यटक भित्र्याउने दाउमा रहेको नगरपालिकाले २६ गते नेपाल पत्रकार महासंघ गोरखासँगको सहकार्यमा पृथ्वीनारायण शाह र एकीकरण सम्बन्धी प्रवचन र अन्तक्र्रियासमेत आयोजना गरेको छ । कार्यक्रममा इतिहास महासंघका केन्द्रीय महासचिव डा. डोलराज काफ्लेले गोरखा र पृथ्वीनारायण शाहको इतिहास र महत्वका बारेमा प्रवचन दिने बताइएको छ ।

Advertisement

त्यस्तै २७ गते बिहान नगर क्षेत्रको सरसफाइसँगै दिउँसो खेलकुद मैदानबाट झाँकीसहितको ¥याली गोरखा संग्रहालय परिसरमा पुग्ने बताइएको छ । मंसिर ३० गतेको कार्यपालिकाको बैठकबाटै पृथ्वीजयन्तीमा बिदा गर्ने र पृथ्वी जयन्ती मनाउने निर्णय गरेको नगरपालिकाले सो दिन १४ वटै वडाबाट विभिन्न जातजातीको भेषभूषासहित संस्कृति झल्कने र्‍याली आयोजना गर्ने तयारी गरेको हो । र्‍यालीमा पृथ्वीनारायण शाहकै पोसाकमा नेपाली सेनाको १ समूहसमेत सहभागी हुने बताइएको छ । पृथ्वी जयन्तीलाई मनाउन गोरखा नगरपालिकाले नगरका सरोकारवालालाई समावेश गरेर नगरप्रमुख पन्तको संयोजकत्वमा १ सय ५१ सदस्य मूल आयोजक समितिसमेत गठन गरेको छ ।

नेपाल एकीकरणका नायकका रुपमा मानिने पृथ्वीनारायण शाहको सम्मान गर्दै भ्रमण वर्षलाई सफल बनाउन पनि कार्यक्रमलाई उत्सवका रुपमा मनाउने तयारी गरिएको बताइएको छ । गोरखा नगरपालिकासँगै पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाले समेत पृथ्वीजयन्तीमा सार्वजानिक बिदा दिने घोषणा गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया