प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा पक्का

समाधान संवाददाता २०७६ पुष २५ गते १४:३२

समाधान संवाददाता, काठमाडाैं

शुक्रबार बिहान बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रदेश ३ को संसदीय दलको बैठकले नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय गरेको छ।

नेकपाको सचिवालय बैठकको निर्देशनअनुसार नै संसदीय दलले पनि नाम र राजधानीबारे निर्णय गरेको नेकपा प्रदेश ३ का प्रदेश सदस्य विजय सुवेदीले जानकारी दिए।

Advertisement

‘केही फरक मत पनि आएका छन्। तिनलाई सुरक्षित राखेर प्रदेशको नाम बाग्मती र राजधानी हेटौंडा राख्ने निर्णय भयो,’ सुवेदीले भने,‘केहीबेरमा बस्ने कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रदेश सभाको बैठक बोलाउँछ। सोही बैठकमा नाम र राजधानीबारे निर्णय हुन्छ।’

प्रदेशसभाको बैठक आइतबार बस्ने सम्भावना छ।

Advertisement

सोही बैठकमा प्रदेश सरकारले प्रदेशको नाम र स्थायी राजधानी तोक्ने प्रस्ताव लैजाने तयारी गरेको छ।

प्रदेश ३ को संसद १ सय १० सदस्यीय रहेको छ। जसमध्ये ८० जना नेकपाका सांसद छन्। प्रदेशको नाम र राजधानी २ तिहाइले पारित गर्नुपर्छ। ७४ जना भए दुई तिहाइ पुग्छ। तर नेकपाकै केही सांसदहरू भने राजधानी हेटौंडा बनाउन नहुने पक्षमा छन्।

यसअघि गत पुस १३ गते बसेको नेकपा सचिवालय बैठकले प्रदेश ३ को नाम बाग्मती र स्थायी राजधानी हेटौंडा कायम गर्ने निर्णय गरेको थियो।

सचिवालयको निर्णय अनुसार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश कमिटीका पदाधिकारी तथा प्रदेश सांसद रहेका पार्टीका केन्द्रीय नेताहरूलाई बालुवाटार बोलाएर सचिवालयको निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका थिए।

तपाईको प्रतिक्रिया