उपसभामुखलाई राजीनामा गराउने नेकपाकाे निर्णय

समाधान संवाददाता २०७६ पुष २७ गते ११:५२

समाधान संवाददाता
काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई पदबाट राजीनामा गराउने भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुखको निर्वाचन थाल्ने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

नेकपाले सभामुख आफैंले लिने गरी प्रक्रिया थाल्ने भएको हो । ‘आजको बैठकले प्रतिनिधिसभामा रिक्त सभामुख पदको सन्दर्भमा निर्णय गरेको छ । रिक्त पदमा हाम्रो पार्टी नेकपाको तर्फबाट उम्मेदवारी दिनेछ,’ प्रवत्ता श्रेष्ठल भने, ‘त्यसका लागि हाम्रो पार्टीका तर्फबाट उपसभामुख पदमा निर्वाचित माननीय शिवमाया तुम्बाहाङफेले राजीनामा दिने निर्णय भएको छ ।’ सभामुख र उपसभामुख एकै दलबाट निर्वाचित नहुने भएकाले त्यसपछि मात्र सभामुख को हुने टुंगो लाग्ने उनले प्रतिक्रिया दिए ।

Advertisement

लामो समयदेखि सभामुखको टुंगो नलाग्दा प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । पुस ११ र १६ गते सूचना टाँसेर बैठक स्थगित भएको बैठक बैठक आइतबार बस्दै छ । तत्कालीन माओवादी केन्द्रबाट सभामुख निर्वाचित कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख रिक्त भएको हो । नेकपा एमाले र माओवादी केन्द्र फरक फरक पार्टी हुँदा माओवादीले सभामुख र एमालेले उपसभामुख लिएका थिए । अहिले एमाले र माओवादी केन्द्र एकीकरण भएपछि सभामुख र उपसभामुख दुवै एकै दलले लिन मिल्दैन ।

सभामुखमा नेकपाभित्र पूर्वएमालेका सुवास नेम्वाङको चर्चा छ । पटक पटक सभामुखको जिम्मेवारी निर्वाह गरिसकेका नेम्वाङ प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिन्छ । पूर्व माओवादीको तर्फबाट अग्नि सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ । यसअघि आफ्नो भागमा परेकाले साविक माओवादी सभामुख आफ्नो पक्षले पाउनुपर्ने अडानमा छ भने साविक एमाले पार्टी नै एकीकरण भइसकेकाले भागबन्डा खोज्नु नहुने अडानमा छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटक पटक छलफल भए पनि यसबारेमा सहमति जुट्न सकेको छैन ।

Advertisement

वर्तमान उपसभामुख शिवमाया तुम्बाहाङफेले समेत सभामुखम दाबी गरेकी छन् । यसअघि उनलाई मन्त्री नियुक्त गर्ने चर्चा चले पनि उनले अस्वीकार गरेकी थिइन् ।

यता, उपसभामुख तुम्बाहाङ्फेले भने आफूलाई पार्टीको निर्णयबारे जानकारी नभएको जनाएकी छन् । उनले आइतबारको बैठक आफैंले चलाउने जनाएकी छन् । उनले अहिलेसम्मको तालिका अनुसार नै आफू अगाडि बढ्ने जनाइन् । ‘पार्टीको औपचारिक निर्णय आएको छैन, भोलिको बैठक सुचारू हुन्छ’, उनले भनिन् ।

पार्टीको औपचारिक निर्णय हात पारेपछि मात्रै त्यसबारे आफूले निर्णय लिने उनको भनाइ छ । उनी पार्टीले सभामुखको उम्मेदवार तय गरेपछि मात्र उनले राजीनामा दिने मनस्थितिमा छिन् । शुक्रबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई भेटेर तुम्बाहाङ्फेले आफू सभामुखका लागि योग्य भएको जनाएकी थिइन् ।

सभामुख आफूले लिएर नेकपाले साना दललाई उपसभामुख दिने सम्भावना देखिएको छ । प्रदेश २ को राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टीसँग तालमेल गरेपछि राजपा संघीय सरकारमा सामेल हुने र प्रदेश सरकारसमेत परिवर्तन हुने सम्भावनासमेत विश्लेषकहरुले औंल्याएका छन् । राजपा वा गत निर्वाचनमा तालमेल गरेको राष्ट्रिय जनमोर्चाबाट उपसभामुख बन्न सक्ने देखिन्छ ।

तपाईको प्रतिक्रिया