कोरला नाका प्रयोगको बाटो खुला

समाधान संवाददाता २०७६ पुष २८ गते ११:२३

समाधान संवाददाता, काठमाडौं

उत्तर छिमेकी चीनसँग गण्डकी प्रदेश जोड्ने मुस्ताङको कोरला नाका प्रयोग गर्ने कानुनी बाटो खुलेको छ । नेपाल र चीनबीच भएको पारवहन सम्झौता कार्यान्वयनमा आएसँगै कोरला र अरु ५ नाका पनि प्रयोग गर्न सकिने भएको हो ।

नेपालले चीनका ७ वटा बन्दरगाह प्रयोग गर्न पाउने भएको छ । त्यसमा ४ वटा सामुद्रिक र ३ वटा सुख्खा बन्दरगाह छन् । चीनका तियानजिन, लियनयुंगा, सेन्जेन र झानजियाङ गरी ४ वटा सामुद्रिक बन्दरगाह नेपालले प्रयोग गर्नसक्ने जानकारी उद्योग वाणिज्य तथा आपूति मन्त्रालयमा आइतबार भएको पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले दिए । ३ सुख्खा बन्दरगाहहरु लन्झाउ, ल्हासा र सिगात्से पनि नेपालले प्रयोग गर्ने बाटो खुलेको छ ।

Advertisement

मुस्ताङको कोरलासँगै रसुवा, सिन्धुपाल्चोकको तातोपानी, हुम्लाको यारी, सुंखवासभाको किमाथांका र ताप्लेजुङको ओलाङचुङगोला गरी ६ वटा नाकाबाट नेपालले चीनसँग व्यापार गर्न सक्ने मन्त्रालयले जनाएको छ । रसुवा र तातोपानी नाका अहिले पनि सञ्चालनमा छन् । नेपालमा दर्ता भएका सवारी साधन अनुमति लिएर सिगात्सेसम्म जानसक्ने सहमति भएको मन्त्रालयले जनाएको छ ।

भारतसँग भएको पारबाहन सम्बन्धी सन्धि पनि तत्कालका लागि नवीकरण भएको छ । सचिव अर्यालले सन्धिमा आवश्यक नयाँ कुरा थप गरेर पुनः सन्धि गर्ने तयारी मन्त्रालयले पूरा गरेको बताए । ‘नयाँ सन्धि भएपछि नेपालले भारतको आन्तरिक जलमार्ग प्रयोग गरेर आयात निर्यात गर्न सक्नेछ,’ उनले भने, ‘त्यसैगरी नेपाली ध्वजाबाहक पानी जहाज भारतीय आन्तरिक जलमार्गमा सञ्चालन गर्न पनि बाटो खुल्नेछ ।’

Advertisement

भारतको जलमार्गमा रहेका आन्तरिक ३ वटा टर्मिनलहरु साहेबगन्ज, कालुघाट र बाराणसीबाट व्यापारिक वस्तुहरु आयात निर्यात गर्न सकिने र नेपालको व्यापार लागत कम हुने जानकारी अर्यालले दिए । भारतसँगको रेल्वे सम्झौताको म्याद पनि ५ वर्षका लागि थप भएको छ । नेपालले विराटनगर, वीरगञ्जबाट भारतको कोलकत्ता र हल्दियासम्म नेपाली रेल सञ्चालन गर्ने सम्वन्धमा सैद्धान्तिक सहमति भएको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा नेपालको व्यापार घाटामा पनि कमी आएको छ । आन्तरिक उत्पादन बढाएर वितरण प्रणालीमा सुधार हुँदा, उपभोग नगर्दा पनि हुने वा जनस्वास्थ्यमा हानि पुर्‍याउने वस्तुहरुको आयातमा कडाइ गरिएपछि व्यापारघाटा कम भएको अर्यालले बताए । अघिल्लो आर्थिक वर्षको तुलनामा यो वर्षको पहिलो ५ महिनामा ६ प्रतिशतले व्यापार घाटा घटेको छ ।

तपाईको प्रतिक्रिया