कानुन र संसदीय पत्रकारलाई अभिमुखीकरण

समाधान संवाददाता
पोखरा
पोखरामा रहेर पत्रकारिता गरिरहेका पत्रकारलाई कानुन सम्बन्धी विषयमा आवश्यक ज्ञान उपलब्ध गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम भएको छ । गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयको आयोजना र संसदीय पत्रकार मञ्च गण्डकीको संयोजनमा शनिबार भएको कार्यक्रममा ४५ पत्रकार सहभागी थिए । अदालत, संसद र कानुन निर्माणबारे जनतालाई सही जानकारी दिन पत्रकारले बुझ्नुपर्ने आवश्यक प्रक्रिया र पद्दतिबारे तालिमका ४ स्रोत व्यक्तिले प्रशिक्षण दिए ।
अदालतको समाचार र सम्प्रेषणको शैलीबारे जिल्ला अदालत कास्कीका न्यायाधीश तेजेन्द्रप्रसाद सापकोटाले पहिलो सत्रमा प्रशिक्षण गराए । अदालतमा प्रयोग हुने शब्दावली, समाचारको प्रस्तुति, अदालतको मान हानी हुन सक्ने समाचारीय शैली र पत्रकार सजग रहनुपर्ने अवस्थाबारे उनले प्रस्तुति दिए । दोस्रो सत्रमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी दानबहादुर कार्कीले सुरक्षा र पत्रकारिताबारे प्रस्तुति दिए । अपराध अनुसन्धानमा पत्रकारले समाचारले पार्ने प्रभाव, सूचनाको स्रोत निक्र्यौल र प्रहरीमाथिको पत्रकारको दृष्टिकोणको विषयमा उनले जानकारी गराए ।
तेस्रो सत्रको विषय संसदीय रिपोर्टिङका सिद्धान्त र व्यवहार रह्यो । उक्त विषयमा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले प्रशिक्षण गराए । संसदमा पत्रकारले थाहा पाउनुपर्ने खास खोजीका विषय र पालना गर्नुपर्ने अभ्यासबारे उनले जानकारी दिए ।
चौथो सत्रमा संसदीय अभ्यास र विधि निर्माण प्रक्रियाबारे अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिबहादुर थापाले प्रशिक्षण दिए । उक्त सत्रमा थापाले कानुन निर्माणको प्रक्रिया, कानुन निर्माणकर्ताले राख्ने छिद्रहरु र त्यसले पार्ने दीर्घकालीन प्रभावबारे जानकारी दिए । अन्तिममा शिव गाउँलेले अदालती रिपोर्टिङमा पत्रकारले स्रोत पहिचानमा हुनुपर्ने सजग र गोपनियता कायम गर्नुपर्ने विषयमा समाचारीय प्रस्तुतिको भूमिकाबारे प्रशिक्षण गराए । कार्यक्रमपछि बोल्दै सहभागी सरिता तिमिल्सेना, विशन क्षेत्रीले अभिमुखीकरणले पत्रकारको ज्ञान अभिवृद्धिमा योगदान गरेको बताए । मञ्च अध्यक्ष लालप्रसाद शर्माले पत्रकारको क्षमता बढाउन विषयगत तालिम जरुरी रहेको बताए ।
सत्र सञ्चालनअघि गण्डकी प्रदेशका मुख्य न्यायाधीवक्ता डा राजेन्द्र घिमिरेले तालिमले पत्रकारिता क्षेत्रलाई आवश्यक सुधार गर्न प्रेरित गर्ने बताए । ‘१ दिनको तालिम पर्याप्त होइन,’ उनले भने, ‘तर पत्रकारको क्षमता अभिवृद्धि गरी सुधारको दिशामा जान तालिमले सहयोग गर्छ ।’ पछिल्लो समय गम्भीर विषयमा संसारभरी मिडिया ट्रायलको नाममा बढाइ चढाइँ गर्ने चलनतर्फ भने पत्रकार सचेत हुनुपर्ने उनको आग्रह थियो ।
अभिमुखिकरण तालिमपछि सामूहिक तस्बिर लिँदै प्रशिक्षक तथा सहभागिहरुः तस्बिर समाधान ।
तपाईको प्रतिक्रिया