अर्गानिक स्वादको माछा महल

समाधान संवाददाता २०७६ पुष २८ गते १२:३९

समाधान संवाददाता
पोखरा

सहरमा अनैकौं स्वाद पस्किन सयौं रेष्टुरेन्ट खोलिएका छन् । इन्डियन, चाइनिज, जापानिज, कोरियन लगायत कन्टिनेन्टल स्वादका पारखीहरु चल्तीका रेष्टुरेन्ट चहार्छन् । तर सहरमा चल्तीका रेष्टुरेन्ट र खोजी बाहेकका रेष्टुरेन्ट पनि ग्राहकको रोजाइमा पर्ने गरेका छन् ।

ग्राहकको स्वास्थ्यलाई सर्वोपरी ठान्दै जडीबुटी मिश्रित परिकार पस्किने रेस्टुरेन्ट पनि पोखरामै छ, बाजेको माछा महल । पोखराको शान्तिनगरमा ७ वर्षदेखि यो रेष्टुरेन्ट सञ्चालनमा छ । उहीँ स्वाद कायम राख्दै सहरको भिडमा पृथक तौरमा माछा महल सञ्चालनमा छ । यसको खास विशेषता दैनिक रुपमा पस्किने खान्कीको स्वाद हो ः खाना थालीमा सिस्नोको साग र जलुको । त्यसअघि १७ थरी जडिबुटी मिश्रित १ कचौरा सुप दिइन्छ । माटोको मट्कामा चिकेन, माछा र खसीका परिकार पनि ।

Advertisement

तेलरहित परिकार पस्किनु माछा महलको अर्को विशेषता हो । कोलेस्ट्रोल, प्रेसर, मधुमेह, पायल्सका बिरामीले पनि सजिलै पचाउन सक्ने खान्की यहाँ बन्छ । बाँसको ढुंग्रोमा पोलिने मासुका परिकारको स्वाद चाख्न पनि माछा महल पुग्नैपर्ने हुन्छ ।

सञ्चालक राम भुसाल (बाजे) आफैं वैद्य हुन् । माछा महलमा तयार गरिएका मेनु उनले नै डिजाइन गरेका हुन् । कुन रोगका बिरामीलाई कस्तो खाना दिनेदेखि कुन परिकारमा कुन चिज राख्ने वा नराख्ने उनको पाक कलाले निर्धारण गर्छ । तरिका मिलाएर खानामा मिश्रित सामग्रीको संयोजन नभऐ समस्या निम्तिने उनी बताउँछन् । उनी भन्छन्, ‘मानिसको जनजीवन अस्तव्यस्त छ, खानाकै कारणबाट । त्यसैले विचार आयो खानालाई स्वस्थ्य बनाई आयुर्वेदिक तरिकाले ख्वाऊ ।’

Advertisement

माछा महलमा ६५ थरीका माछाका मात्र परिकार पाइन्छन् । दाना नखाएका माछा प्रयोग हुने भुसालको दाबी छ । ‘सम्पूर्ण माछा खोलाबाट ल्याउँछौं । तिनले दाना खाएका हुँदैनन्,’ उनी भन्छन्, ‘नेचुरल ह्याबिट्याट (प्राकृतिक बासस्थान)का माछा प्रयोग गर्दा खोलाका साथै विशेषगरी रुपा तालका माछा हामी कहाँ आइपुग्छन् ।’

हाम्रैवरपर पाइने वनस्पतिबाट भुसालले जडीबुटीको संयोजन मिलाउँछन् । कुन खानामा कुन जडीबुटी मिश्रण लाभदायक हुन्छ, त्यसबारे उनको अध्ययन छ । उनले अध्ययनलाई व्यवहारोपयोगी बनाएका छन् । खाना खाइसकेपछि पाचन प्रक्रिया र त्यसले निम्त्याउने समस्याबारे पहिल्यै उनी चनाखो छन् । त्यसैले उनले माछाका परिकारसँग ग्राहकलाई मुला र दूध दही खान दिँदैनन् । त्यतिमात्र होइन, दैनिक भान्सामा सर्वाधिक भित्रिने सेतो चिनी र मैदाले माछा महलमा प्रवेश पाएका छैनन् । ‘त्यस्ता सामग्री न हामी सर्भिस गर्छौ, न त खाने सल्लाह नै,’ उनी भन्छन्, ‘कोदो, मकै, गहुँ, जौ, फापरको रोटी जसमा प्रशस्त पौष्टिक तत्व पाइन्छ । त्यस्ता सामग्रीमात्र प्रयोग गर्छौ र प्रयोग गर्न सल्लाह दिन्छौं ।’

पाचन शक्ति सुरक्षित राख्नु सहरीया जीवनशैलीमा चुनौती हो । तर माछा महलले त्यस्ता कयौं विकल्प सुझाउँछ । माछा महलका हरेक परिकार त्यसरी नै निर्मित छन् । जस्तै पुदिना र घोडटाप्रे या पुदिना र ब्राम्हीको चटनी ।

तपाईको प्रतिक्रिया