५ घरले मात्र पूजा गर्ने गुम्बा

समाधान संवाददाता २०७६ पुष २८ गते १३:१९

एसके थकाली
जोमसोम

मुस्ताङमा सामान्य भूगोलका बासिन्दालाई अनौठा लाग्ने धेरै संरचना र भूबोट छन् । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका ३ छुसाङमा गुफाभित्रै गुम्बा छ । ८ औं शताब्दीअघि प्राकृतिक रुपमा निर्मित यो गुफामा मेन्तेन वंशका ५ परिवारले गुम्बा बनाएका हुन् ।

मनाङको ब्रकबाट भागेर मुस्ताङको छुसाङ आएको मेन्तेन समुदायले गुफामा कुल देवताको पूजा गर्न गुम्बा बनाएको थियो । छुसाङमा मेन्तेन समुदायका ५ घरमात्रै छन् । उनीहरु अझै यो गुम्बामा बर्सेनि कुल देवताको पूजा गर्छन् । यसका अलावा अन्य अवसरमा पनि त्यहाँ पूजाआजा गर्ने गरेको याङजीन ढोका गुरुङले बताइन् ।

Advertisement

मेन्तेन समुदाय मनाङबाट आउँदा ३ वटा स्थानमा बसोबास गरेको थियो । अहिलेको गुफामाथि उनीहरुको बस्ती रहेको त्यहाँ रहेको संरचनाले पुष्टि गर्छ । मनाङबाट उनीहरु भागेर आउदा झमक्क साँझ परेको थियो । नजिकैको भित्तोसँग जोडिएको ओडार जस्तो गुफाभित्र उनीहरुले कुल देवतालाई राखेका थिए । सँगै ल्याएका कुल देवता यसरी राखेपछि सोही स्थानमा गुम्बासमेत बनाएर पूजाआजा गर्ने चलन बसेको उनीहरु बताउँछन् ।

गुफाभित्र कुल देवताका साथै ७ वटा बुद्धका मुर्तिसमेत गरेको याङजीन बताउँछिन् । गुफाभित्रै सम्तेन वंशको एउटै ऐतिहासिक चिनो हो सेतो बाख्रामाथि चढेर हातमा तरबार समातेको ठूलो मुर्ति । यहाँ दिउँसोको १२ बजेपछि मात्रै पूजाआजा गर्ने चलन छ । ८ औं शताब्दीमा भारतबाट राक्षसको बध गर्न तिब्बततर्फ आएका गुरु पद्यसम्भवले यो गुफामा १ साता ध्यान गरेको स्थानीयहरु बताउँछन् ।

Advertisement

यहाँको गुम्बामा ३ वटा प्वाल छन् । माथिल्लो भागको प्वाललाई झ्याल बनाइएको छ भने अर्को प्रवेशद्धार हो । छुसाङमा ३८ घुरधुरी छन् । यहाँ जान स्वदेशी तथा विदेशी पर्यटकलाई निषेध गरिएको छ । झन्डै १३ सय वर्ष पुरानो यो गुफामा २०७२ को भूकम्पले क्षति गरेको थियो । माटोबाट निर्मित गुफाको छाउन केही विदेशी पर्यटकले जस्ता र काठ किन्ने रकम उपलब्ध गराएका थिए । गुफाभित्रको गुम्बामा सम्तेन वंशबाहेक अरुले पूजा गर्न पाउँदैनन् ।

जोमसोम कोरला सडकको दायाँ अवस्थित गुफा पर्यटकको नजरमा परेको छन् । उपल्लो मुस्ताङ जाने सीमित विदेशीले मात्र यसको अवलोकन गर्ने गरेको याङजिनले सुनाइन् । र गुफा भित्रको गुम्बा हेर्न विदेशी पर्यटकलाई २ सय र स्वदेशीलाई १ सय रुपैयाँ शुल्क लिने गरिएको छ । गुफा अवलोकन शुल्कको ३५ प्रतिशत छुसाङ गाउँलाई र ६५ प्रतिशत शुल्क गुफा मर्मत सुधारमा खर्च गर्ने गरिएको छ ।

तपाईको प्रतिक्रिया