मादीको केन्द्र तोक्न लफडा, ३ गतेसम्म सभा स्थगित

समाधान संवाददाता २०७६ पुष २९ गते १२:१८

अमृत सुवेदी
पोखरा

लामो समयदेखि मादी गाउँपालिकाको केन्द्र विवाद छ । साविकको थुमाकोडाँडा गाविस याङ्जाकोट तोकिएको गाउँपालिकाको केन्द्र अधिकांशलाई अयापक भएकाले सार्नुपर्ने माग सुरुदेखिकै उठेको थियो । तर, कुन ठाउँमा पालिकाको प्रशासनिक केन्द्र बनाउने भन्ने विषयमा लामो समयदेखिको लफडा अझै लम्बिएको छ ।

पालिकाको केन्द्र सार्ने निर्णय गर्ने प्रमुख एजेण्डासहित आइतबारदेखि सुरु भएको गाउँ सभाबाट विवाद टुंगो लगाउने योजना थियो । आइतबार राति अबेरसम्मै बसेको गाउँसभाले मतदानमार्फत केन्द्रबारे टुंगो लगाउन गरेको प्रयास असफल भएको छ ।

Advertisement

गाउँपालिकाको केन्द्र तोक्न उपाध्यक्ष विष्णु पौडेलको संयोजत्वमा गठित समितिको सिफारिसका आधारमा गाउँसभामा अध्यक्ष वेदबहादुर गुरुङले प्रस्ताव राखेका थिए । हालको प्रशासनिक केन्द्र रहेको वडा नम्बर ३ याङ्जाकोट नजिकैको देउराली र वडा नम्बर ४ को बेतेनी साझामध्ये मतदानमार्फत टुंगो लगाउने योजना थियो । समितिले देउराली, कुलेडाँडा, माझाडिही, तारकाङ, साझा भवन काँडे भक्याम्लोे, भैंसेलगायत ठाउँको अध्ययन गरी देउराली र बेतेनी साझामा केन्द्र तोक्दा उपयुक्त हुने सिफारिस गरेको थियो ।

गाउँपालिकाको केन्द्र बेतेनी साझा सार्न लागिएको भन्दै गाउँपालिका बाहिर स्थानीय भेला भएर विरोध गरे । वडा नम्बर ३ का जनप्रतिनिधिले निर्वाचनमा सहभागी नहुने घोषणा गरे । अबेरसम्म सभा चलाएर भए पनि केन्द्र तोक्ने योजनामा राति बत्तीको लाइन काटिएपछि अवरोध पुगेको थियो ।

Advertisement

बत्ती नभएको, स्थानीय र वडा नं. ३ का जनप्रतिनिधिको विरोधपछि थप छलफल गर्नुपर्ने भएकाले सोमबार बैठक डाक्न कांग्रेसका जनप्रतिनिधिले आग्रह गरेका थिए । त्यसैअनुरुप सोमबार बिहान ८ बजे बस्ने गरी आइतबारको गाउँ सभा स्थगित भएको थियो ।

बेतेनी सझामा केन्द्र तोक्दा अधिकांश मादीबासीका निम्ति सहज हुने विषयमा धेरैजसो गाउँसभा सदस्य सहमत थिए । गाउँ सभाको २ तिहाइ बहुमतले गाउँपालिका केन्द्र सार्ने निर्णय हुन सक्ने सुइँको पाएका स्थानीयले केन्द्र नसार्न दबाब दिएका थिए । स्थानीय र वडा नम्बर ३ का जनप्रतिनिधिले निर्वाचन हुन नदिने र जबरजस्ती गरे हुने परिणामको जिम्मेवारी गाउँपालिकाले लिनुपर्ने चेतावनी दिएका थिए ।

सोमबार डाकिएको गाउँ सभा बैठकमा पार्टीमा थप छलफल गर्नुपर्ने बताउँदै कांग्रेसका जनप्रतिनिधि नै उपस्थिति भएनन् । कांग्रेसका जनप्रतिनिधि नै उपस्थित नभएपछि सूचना टाँसेर माघ ३ गतेसम्मका लागि गाउँसभा स्थगित भएको छ ।

कार्यकालमै हुन नदिने खेलः अध्यक्ष
सरकारले तोकेकै वडाभित्र अर्को ठाउँमा गाउँपालिका केन्द्र सार्न कार्यपालिका बैठकमार्फत् निर्णय गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार स्थानीयले जग्गा दान दिने घोषणा पनि गरेका कारण ३२ औं बैठकले देउरालीमा केन्द्र तोक्ने निर्णय गरेको थियो ।

‘त्योबेला जग्गा दान गर्ने भनिएपछि देउरालीमै केन्द्र तोक्ने निर्णय ग¥यौं । एकखालको राजनीतिक सहमति पनि भयो । तर, पछि गाउँपालिकालाई जग्गा उपलब्ध नै भएन । गाउँपालिकाले निकास पाएन,’ गाउँपालिका अध्यक्ष वेदबहादुर गुरुङले भने, ‘गाउँ सभामार्फत् अर्को वडामा सार्ने तयारी गर्दा फेरि पनि सहमति हुन सकेन ।’

गाउँपालिकामा जनप्रतिनिधि आएको ६ महिनाभित्र बहुमतले केन्द्र तोक्न सक्ने व्यवस्था छ । त्योभन्दा पछि गाउँसभाको २ तिहाइ बहुमतले मात्र केन्द्र सार्ने निर्णय गर्न सक्ने प्रावधान छ ।

मादी गाउँपालिकामा बहुमत नेकपाको भए पनि २ तिहाइ पुग्दैन । केन्द्रसम्बन्धी निर्णय गर्न कांग्रेसका जनप्रतिनिधिको साथ चाहिन्छ । ‘६ महिनाभित्रै केन्द्र सार्न सक्ने अवस्था थिएन । जनप्रतिनिधिलाई बस्ने ठाउँ र काम गर्ने तरिका मिलाउँदैमा ठिक्क भयो,’ अध्यक्ष गुरुङले भने, ‘गाउँ सभाको २ तिहाइ बहुमतले निर्णय गर्न खोज्दा विभिन्न झमेला आइपरेको छ ।’

लामो समयदेखिको गाउँपालिका केन्द्र विवाद यसपटक समाधान हुन नसके फेरि अर्को पटक ढिला हुन सक्ने जनप्रतिनिधिको चिन्ता छ । आफ्नो कार्यकालभित्र हुन नदिने प्रयास भइरहेको गाउँपालिका अध्यक्ष वेदबहादुरको आरोप छ । ‘३ वर्ष बितिसक्यो । अब २ वर्ष पनि अनिर्णयकै बन्दी भइन्छ कि भन्ने डर भयो,’ उनले भने ।

देउराली वा बेतेनी साझामध्ये १ ठाउँमा केन्द्र तोक्ने काम गोप्य मतदानमार्फत गर्ने तयारी भए पनि सबैको साथ लिन छलफल गर्नुपर्ने भएकाले निर्णय हुन नसकेको कार्यपालिका सदस्य सरोज केसीले बताए । ‘गोप्य मतदानमार्फत् निर्णय गर्ने तयारी हो । तर, पार्टी र स्थानीयसँग पनि पर्याप्त छलफल हुनुपर्‍यो । त्यसैले मतदान प्रक्रियामा प्रवेश गर्न सकेनौं,’ केसीले भने ।

विवादले ७ करोड बजेट रोकियो
गाउँपालिकाको स्थानीय केन्द्र तोक्न नसक्दा मादीको बजेट र सेवा प्रवाहसमेत प्रभावित भएको छ । गाउँपालिकाले सुरुको आर्थिक वर्षदेखि नै प्रशासनिक भवन र अन्य संरचना बनाउन बजेटको व्यवस्था गर्दै आएको छ ।

यो आर्थिक वर्षमा पनि गाउँपालिकाको केन्द्रमा प्रशासनिक बहुद्देश्यीय भवनसहित विभिन्न संरचना बनाउन बजेटको व्यवस्था गरेको छ । जिल्ला समन्वय समितिको साझेदारी, प्रदेश सरकार र मादी गाउँपालिकाको गरी ७ करोड रुपैयाँ विभिन्न संरचना निर्माण गर्न छुट्टिएको छ । तर, गाउँपालिकाको केन्द्र नतोकिँदा त्यो बजेट खर्च गर्न नसकिएको अध्यक्ष गुरुङले बताए ।

जनसंख्या, भौगोलिक अवस्था र सेवाग्राहीको मागलाई सम्बोधन गर्ने गरी गाउँसभाको २ तिहाइ बहुमतबाट बेतेनीमा केन्द्र सार्ने निर्णय ३ गते हुन सक्ने अध्यक्ष गुरुङले विश्वास व्यक्त गरे । गाउँ सभाको निर्णयपछि प्रदेश मन्त्रिपरिषद हुँदै नेपाल सरकारले निर्णय गरेपछि पालिकाको केन्द्र कायम हुनेछ ।

तपाईको प्रतिक्रिया