जोमसाममा डेढ सातापछि प्लेन

एसके थकाली
जोमसोम
मुस्ताङको जोमसोममा डेढ हप्तापछि सोमबार बिहान तारा एअरको जहाज आएको छ । हिमपात र उत्तरी हावाले मौसम बिग्रिएपछि पोखरा–जोमसोम उडान हुन सकेको थिइन । मौसममा सुधार आएपछि सोमबार उडान भएको जोमसोम नागरिक उड्ड्यन कार्यालयले जनाएको छ ।
भिजिट नेपाल २०२० सुरु भएको दोस्रो दिन जनवरी २ बाट उडान प्रभावित भएको हो । १२ तारिखसम्म जोमसोममा जहाज नआउँदा मुस्ताङ आउजाउ गर्न पर्यटकलाई समस्या परेको थियो । हवाई सेवा अवरुद्ध भएको यो अवधिमा हिमपातले सडकमा पनि केही ठाउँमा अवरोध थियो । उत्तरी भेरियसन हावाले पोखरा–जोमसोम उडान बेलाबेलामा प्रभावित हुने गरेको छ ।
हिउँद याममा बढी मात्रामा उत्तरी हावा चल्ने र हिमपात भइरहने भएकाले बर्खायामभन्दा हिँउद याममा उडान प्रभावित हुने गरेको जोमसोम नागरिक उड्ड्यन कार्यालयका प्रमुख दीपक विकले बताए । उनले भने, ‘यस पटक लामो समयसम्म विमानस्थल बन्द गर्नुप¥यो ।’ मुस्ताङमा हवाइ सेवा नियमित हुन कास्की र मुस्ताङ दुवैतिरको मौसम सफा हुनुपर्छ ।
जहाज आएपछि जोमसोममा पर्यटकको केही चहलपहल देखिएको छ । मुस्ताङमा तारा एअरलाइन्स र सुमित एअरलाइन्सले दैनिक उडान गर्ने गरेका छन् । हिउँद लागेपछि तारा एअरलाइन्सको जहाजले मात्रै सेवा प्रभाह गरेको छ । जोमसोममा नेपाल वायु सेवा निगमको टिकट काउन्टर भए पनि १ वर्षअघि निगमको हवाई सेवा बन्द छ । बर्खामा दैनिक १६ देखि १८ उडान भर्ने तारा एअरलाइन्स र सुमित एअरलाइन्सको सेवा हिउँदमा दैनिक १ उडानमा सिमित भएको कार्यालय प्रमुख विकले उल्लेख गरे ।
पोखरा–जोमसोम हजाज भाडा विदेशी पर्यटकलाई १ सय २५ डलर, भारतीय पर्यटकलाई ८ हजार ४ सय ५० रुपैयाँ र नेपाली पर्यटकलाई एलपिसी भाडा ४ हजार ५ सय ६५ र लोकल भाडा दर ३ हजार १५ रुपैयाँ छ ।
तपाईको प्रतिक्रिया