कुश्मा नगर बालमैत्री बन्ने

समाधान संवाददाता २०७६ पुष २९ गते १२:५७

रामकृष्ण लामिछाने
पर्वत

कुश्मा नगरपालिकाले आगामी २०७८ साल फागुनसम्ममा बालमैत्री नगर घोषणा गर्ने तयारी गरेको छ । नगरका १४ वटा वडाका जनप्रतिनिधिले सोमबार सामूहिक प्रतिबद्धता जनाएका हुन् । २ दिनसम्म चलेको बालमैत्री स्थानीय शासन सम्बन्धी अभिमूखीकरणमा जनप्रतिनिधिले यस्तो घोषणा गरेका हुन् ।

बाल बचाउ, बाल संरक्षण, बाल विकास र अर्थपूर्ण बाल सहभागिता जस्ता बाल अधिकारका प्रमुख सवाललाई नगरपालिकाको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्दै बाल अधिकारको सम्मान, संरक्षण र परिपूर्तिका लागि सबै वडाबीच समन्वय तथा सहकार्य बढाउँदै हिंसा, विभेद, शोषणलाई न्यूनीकरण गर्ने जनाएका छन् ।

Advertisement

अभिमूखीकरणमा जोखिममा रहेका बालबालिकाको अधिकार सुनिश्चितताको अपरिहार्यता महसुस गरी १८ बुँदे कार्ययोजनाको खाका तयार पारेको छ । नगरपालिका भित्रका १४ वटा बालमैत्री वडा घोषणा गर्ने अभियान पूरा गर्न नगरप्रमुख रामचन्द्र जोशीले स्थानीयको साथ आवश्यक हुने बताए । उनले बालबालिकाको क्षेत्रमा आफूले पूर्ण सहयोग गर्ने बताउँदै सबै सूचकका आधार पूरा गर्न नगरपालिका क्रियाशील भएर लाग्ने बताए ।

गोष्ठी समापन सभामा कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले नगरको विकासको बलियो आधार बालमैत्री नगर घोषणा गर्ने रहेको बताइन् । उनले ३९ सूचक मध्य सबै नगरपालिकाले अभियान सुरु गरिसकेको बताउँदै निर्धारित समयमै घोषणा गर्न नगरपालिका उच्च मनोबलका साथ लाग्नेमा जोड दिइन् ।

Advertisement

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पंगेनीले सबै जनप्रतिनिधिले नगरलाई बालमैत्री नगर बनाउन प्रतिबद्ध रहेमा कुनै समस्या नआउने बताए ।

गोष्ठीको सहजीकरण राष्ट्रिय बालअधिकार परिषदका कार्यक्रम संयोजक आत्माराम थापाले गरेका थिए । गण्डकी प्रदेशमै पहिलो पटक बालमैत्री वडा घोषणा भएको मोदीगाउँपालिका ८ चित्रेका सचिव गोकुल शर्माले उल्लेख गरे । गोष्ठीमा बालमैत्री वडाका फोकल पर्सन मधुसुदन अधिकारी, कुश्मा नगरपालिका सामाजिक शाखा प्रमुख दिलकुमारी थापा लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया