शाही भूमिकाबाट अलग हुने ह्यारी र मेगनको फैसलालाई महारानीको समर्थन

एजेन्सी
बेलायतकी महारानी एलिजाबेथले राजकुमार ह्यारी र उनकी पत्नी मेगन मार्केलले शाही भूमिकाबाट अलग भएर क्यानडा र ब्रिटेनमा आधाआधा समय बिताउन गरेको फैसलाको समर्थन गरेकी छन्।
महारानीले योसँगै राजकुमार ह्यारी र उनकी पत्नीले शाही परिवारको पूर्णकालीन सदस्यको भूमिका नछोडुन् भन्ने इच्छासमेत जाहेर गरेकी छन्।
उनले आगामी दिनमा यसबारेमा अन्तिम फैसला आउने आशासमेत व्यक्त गरेकी छन्।
गत बुधबार राजकुमार ह्यारी र मेगनले अप्रत्यासित रूपमा आफूलाई शाही भूमिकाबाट अलग राखेर आर्थिक रुपमा आत्मनिर्भर हुन काम गर्ने घोषणा गरेका थिए।
यो अप्रत्यासित फैसला सार्वजनिक भएसँगै ब्रिटेनको शाही परिवारमा सम्बन्धमा खटपट रहेको चर्चा चलेको थियो। यसका साथै राजकुमार ह्यारी र उनकी पत्नीको फैसलाबाट बकिङ्हम दरबार निराश भएको बताइएको थियो।
खबर सार्वजनिक भएपछि महारानीले ह्यारीलाई छलफलका लागि बोलाएकी थिइन जुन अझै जारी छ।
उनले यस छलफलमा प्रिन्स अफ वेल्स अर्थात राजकुमार चाल्स र ड्यूक अफ क्यामब्रिज अर्थात् राजकुमार विलियमलाईसमेत सामेल गरेकी छन्। छलफल सकारात्मक रहेको बिबिसीले जनाएको छ।
‘म र मेरो परिवार नयाँ किसिमले जिन्दगी बिताउन चहानामा रहेका ह्यारि र मेगनको इच्छाको पूर्ण समर्थनमा छौं’, महारानीले आफ्नो बयानमा भनेकी छन्।
तपाईको प्रतिक्रिया