चिडियाखाना बनाई छाड्छौं

समाधान संवाददाता २०७६ पुष २९ गते १६:०४

क्लब स्थापना भएसँगै हामीले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्य लियौं । यि क्षेत्र राज्यको प्रत्यक्ष पहुँच भएको क्षेत्र हुनाले राज्यले नै विकास गर्नुपर्छ भन्ने मान्यता छ । तर हामीले पनि तिनै उद्देश्य पूरा गर्ने लक्ष्य बोक्यौं । राज्यले विकास गर्नुपर्ने महत्वपूर्ण क्षेत्रको उन्नयनका लागि नारा लगाएर मात्र सम्भव थिएन । आर्थिक पक्ष महत्वपूर्ण थियो । त्यहीँ अनुरुप नै हामीले आर्थिक संकलनका गतिविधि गर्न थाल्यौं । स्थापना भएको वर्ष २०६७ मा देउसी भैले खेलेर १ लाख ६० हजार संकलन गर्‍यौ । हौसला थपियो । म त्यससमय लेखनाथ महोत्सवलाई नजिकबाट नियालिरहेको थिए । साथीहरुसँग सल्लाह भयो । अमरसिंहमा महोत्सव गर्ने योजना फुर्‍यो । महोत्सव मार्फत क्लबले बोकेका लक्ष्यमा सफल हुन सकिन्छ भन्ने आत्मविश्वास बढ्यो । त्यहाँदेखिको हौसला र निरन्तर लगावकै उपज भन्नुपर्छ आज हामी १० औं संस्करणको पोखरा महोत्सव आयोजना गरिरहेका छौं ।

महोत्सव गर्नुको पछाडि हामीलाई क्लबले लिएका उद्देश्यले नै प्रेरित गर्‍यो । कहीँ न कहीँ हामीले हाम्रा उद्देश्य सफल बनाउनुपर्ने चुनौती जोडिएको थियो भने, सफल हुने प्रशस्त आधार र अवसर पनि गाँसिएका थिए । त्यहीँ क्रममा तत्कालीन क्षेत्रीय प्रशासक दिनेशकुमार थपलियाले अन्तर्राष्ट्रिय मापदण्डको सहर हुन चिडियाखाना पनि आवश्यक पर्ने छलफलमा उठ्यो । सरकारी स्तरबाट पनि उठेको विषय हुनाले क्लबलाई काम अघि बढाउन थप बल पुग्यो ।

Advertisement

महोत्सवबाट उठेको रकम हामीले त्यसपश्चात्त नै तत्कालीन जिल्ला विकास अधिकारी र क्लबको प्रतिनिधिको नामबाट संयुक्त खातामा जम्मा गर्दै आएका थियौं । अध्ययनबाट जैविक विविधतायुक्त देखिएपछि तत्कालै सोही रकमबाट हामीले अहिले निर्माणाधीन रहेको पोखरा जुलोजिकल पार्क व्यवस्थापनका लागि खर्च गर्न थाल्यौं । पहिलो चरणमा नै घाइते भएका वनजन्तुको उद्धारका लागि छुट्टै भवन बनाई व्यवस्थित गर्‍यौ । वन कार्यालय, साविक लेखनाथ नगरपालिका, पोखरा महानगरपालिका लगायतबाट सहयोग जुट्दै पूर्वाधार थप्दै विस्तारै आकार लिइरहेको छ ।

संघीय संरचनामा मुलुक गइसकेपछि प्रदेश सरकारले खास अपनत्व लिएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अवलोकन गरेर पार्कलाई विस्तार र विकासका लागि विधिवत् रुपमा दर्ता भएर काम अघि बढाउन सल्लाह दिनुभयो । प्रदेश सरकारबाट उहाँले सल्लाह मात्र नभई दर्ता भइसकेपछि गत वर्षबाट नै बजेट विनियोजन गरिदिनुभयो । गत वर्ष ९७ लाख बजेट प्रदेशबाट विनियोजन भएकोमा जति काम भयो त्यसको फछ्र्यौट हुँदा ६० लाखसम्मको मात्र बजेट हामीले परिचालन गर्न सक्यौ । यसै आर्थिक वर्षमा ४ करोड बजेट प्रदेश सरकारको तर्फबाट छ ।

Advertisement

बिडम्वना कम्पनीमा गैरनाफामुलक संस्थाको रुपमा विधिवत् दर्ता भएको पार्कलाई यो व्यक्तिको नाममा सामुदायिक वन गयो भनेर झुठो अपवाह फैलाइदा समस्या देखिएको छ । अहिले अदालतमा यो मुद्दा फैसलाकै क्रममा छ । तर हामी के ढुक्क छौं भने कम्पनी रजिस्टार कार्यालयमा मात्र नाफामूलक संस्था दर्ता हुन्छ भन्ने भ्रम चिरिन्छ । नाफा वितरण नगर्ने सार्वजनिक संस्था जसरी हामीले पार्कको नामबाट दर्ता गरेका छौं त्यस्ता संस्था पनि कम्पनीमा दर्ता हुन सक्छन् ।

अहिले पर्ख र हेरको स्थितीमा छौं । चिडियाखाना पचभैया सामुदायिक वनको मात्र होइन । यूनाइटेड क्लबको मात्र पनि होइन । प्रदेश सरकारले आफ्नो गौरवको आयोजनाको रुपमा करोडौं बजेट विनियोजन गरेको छ । यस्तै विवाद कायम रहे त त्यो बजेट पनि परिचालन नहुने निश्चित छ । पोखरा महानगरका मेयर मानबहादुर जिसीले विवाद मिलाउनलाई प्रयास गरिरहनु भएको छ । विवाद मिलाएर तयार भएको डिपिआर अनुसार चिडियाखाना तयार गर्न हामी पनि अग्रसर छौं । पछिल्लो समयआएर विशेषगरी प्रदेशभित्रका धेरै स्थानीय तहले चिडियाखाना बनाउन चासो दिइरहेका बेला क्लबको ध्यान भने निर्माणाधीन पचभैया क्षेत्रमै छ । हामी तत्कालै उक्त योजनालाई अन्यत्र लैजाने सोच छैन । तर विवाद कुनै तरिकाबाट पनि टुगिंएन भने चिडियाखाना नबनाइने बस्ने पक्षमा पनि छैनौं ।

तपाईको प्रतिक्रिया