हाइअल्टिच्युट खेलकुद तालिम केन्द्रलाई जग्गा सिफारिस

समाधान संवाददाता २०७६ माघ २ गते १२:४१

पर्वतीय खेलकुद तालिम केन्द्रका लागि जग्गा नापजाँच गर्दै । तस्बिरः सूर्य तिमिल्सिना ।

एसके थकाली
जोमसोम

स्थानीय जग्गा सिफारिस समितिले पर्वतीय खेल स्टेडियम र सुरक्षा निकाय लगायतलाई जग्गा सिफारिस गरेको छ । स्थानीय जग्गा सिफारिस समितिमा निवेदन चढाएपछि समितिले भूमि व्यवस्थापन तथा अभिलेख विभागमा जग्गा प्राप्तिका लागि सिफारिस गरेको हो ।

Advertisement

हाइअल्टिच्युट पर्वतीय खेलकुद तालिम केन्द्रको पूर्वाधार विकासका लागि जग्गा सिफारिस समितिले वारागुङ मुक्तिक्षेत्र २ छेङ्गुरमा ५ सय ४४ रोपनी जग्गा नापजाँच गरी केन्द्रमा पठाएको जग्गा सिफारिस समिति संयोजक प्रजिअ वेदप्रसाद अर्यालले बताए । यसअघि हाइअल्टिच्युड खेलकुद स्टेडियमका लागि जग्गा प्राप्ति प्रक्रिया अघि बढाइदिन गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालय र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले ७ सय ५० रोपनी जग्गा लिजमा उपलब्ध गराइदिन स्थानीय जग्गा सिफारिस समितिमा अलगअलग पत्र पठाएको थियो ।

पर्वतीय खेलकुद स्टेडियम सञ्चालन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई मुस्ताङमा उतार्दै प्रदेशकै पर्यटन प्रवद्र्धनमा योगदान दिने उद्देश्यले गण्डकी प्रदेशले पहल सुरु गरेको सांसद महेन्द्रबहादुर थकालीले बताए । यसका लागि प्रदेश सरकारबाट प्रारम्भिक सर्भे पूरा गरी चालु आर्थिक वर्ष डेढ करोड डिपिआर सर्भेका लागि विनियोजन भएको उनले बताए ।

Advertisement

प्रहरीले पनि माग्यो जग्गा
मुस्ताङमा जिल्ला प्रहरी कार्यालयका १९ वटा प्रहरी इकाइ रहे पनि जिल्ला प्रहरी कार्यालयबाहेक सबै इकाइ भाडामा बस्दै आएका छन् । प्रहरीको जग्गा र भवन नहँुदा प्रहरी इकाइलाई भौतिक विकास र सुरक्षा व्यवस्थापनमा असहज भएको छ । प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले प्रहरी इकाइलाई आवश्यक जग्गा उपलब्ध गराइदिन स्थानीय जग्गा सिफारिस समितिमा माग गरेको बताए । प्रहरीको मागका आधारमा समितिले थासाङ गाउँपालिको लेतेस्थित इलाका प्रहरीलाई ७÷८ रोपनी, थासाङकै कोवाङ प्रहरी चौकीलाई ४ रोपनी, वारागुङ मुक्तिक्षेत्र १ स्थित मुक्तिनाथ इलाका प्रहरीलाई ५ रोपनी, जिल्ला ट्राफिक कार्यालयलाई जोमसोममा २ रोपनी र लोघेकर दामोदरकुण्ड गाउँपालिकास्थित चराङ प्रहरी चौकीलाई ५ रोपनी जग्गा सिफारिस गरेको प्रजिअ अर्यालले जानकारी दिए ।

समितिले लोघेकर १ घ्येरायाङमा अवस्थित स्वास्थ्य चौकी र विद्यालयलाई २५÷२५ रोपनी जग्गा सिफारिस गरेको छ । खेल स्टेडियम, सुरक्षा निकाय, स्वास्थ्य चौकी र विद्यालयलाई आवश्यक पर्ने जग्गा मन्त्रालयमा सिफारिस गरिएको प्रजिअ अर्यालले उल्लेख गरे । उनका अनुसार समितिले सशस्त्र प्रहरीलाई जोमसोममा थप ७० रोपनी र जोमसोमस्थित सैनिक उच्चशिखर शिक्षालयलाई ४ सय रोपनी जग्गा सिफारिस गरेको हो ।

यसअघि स्थानीय जग्गा सिफारिस समितिले उत्तरी कोरला नाकामा भन्सार कार्यालय निर्माण गर्न १ हजार रोपनी जग्गा उपलब्ध गराएको थियो । भन्सार कार्यालले कोरलानाकाको २४ नम्बर पिल्लर छेउ कार्यालय भवन, प्लान्ट क्वारेन्टाइन, पशुपंक्षी क्वारेन्टाइन, कर्मचारी आवास गृह, प्रयोगशाला, गोदाम घर, ट्रक तथा कन्टेनर पार्किङस्थल र सुरक्षा प्रबन्ध लगायतका लागि जग्गा माग गरेको थियो ।

उत्तरी कोरला नाकालाई लक्षित गर्दै कोरला नाकानजिक सुरक्षा प्रबन्ध बलियो बनाउन लोमन्थाङ गाउँपालिकाको छोसेरस्थित नेचुङमा बोर्डर आउट पोस्ट निर्माण गर्न सशस्त्र प्रहरीलाई ३३ रोपनी जग्गा र नेपाली सेनालाई लोमन्थाङ तल थुर्लुङ फाँटमा १२ सय रोपनी जग्गा उपलब्ध गराइएको थियो । हाल थुर्लुङ फाँटमा नेपाली सेनाको इकाइ बसेको छ भने छोसेरको नेचुङमा सशस्त्र प्रहरीको बिओपी बस्ने तयारीमा रहेको प्रजिअ अर्यालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया