ठिनी चिनाउँदै ठिटाठिटी

समाधान संवाददाता २०७६ माघ २ गते १३:४०

हिउँमा थकाली संस्कृति प्रर्वद्धन गर्दै ठिनीका युवती । तस्विरः नरेन्द्र थकाली

एसके थकाली
जोमसोम

मुस्ताङमा २ साताअघि भएको हिमपातले डाँडाकाडा सेताम्मे बने । हिउँ परेसँगै मुस्ताङको घरपझोङ गाउँपालिका ५ ठिनीका युवायुवती हिउँ खेल्न बस्ती नजिकैको पाखोमा पुगे ।

Advertisement

मुस्ताङमा हिउँ पर्नु अस्वभाविक होइन तर हिउँ पर्दाको समय स्थानीयको उत्साह बेग्लै हुन्छ । घरपझोङ ५ ठिनीका युवा र युवतीले हिउँको आनन्द फरक तवले लिए । झन्डै १ सय घरधुरी रहेको ठिनीका अधिकांश बासिन्दा थकाली छन् । पर्यटन प्रर्वद्धनमा सघाउ पुर्‍याउन उनीहरुले थकाली पोशाकमै फोटो खिचाए ।

ठिनी थकाली होमस्टेकी सदस्य जुमा थकालीले हिउँमाथि थकाली सभ्यता उजागर गर्न थकाली पोशाकमै फोटो खिचेको बताइन् । मुस्ताङ आउने पर्यटकलाई थकाली संस्कृति, रहनसहनबारे जानकारी दिन ठिनी गाउँले भूमिका खेलेको बताइन् । निशा थकालीले हिउँ पर्नु मुस्ताङका लागि बरदान भएको बताइन् । हिउँले कृषि र पर्यटन व्यवसायलाई सघाउ पुर्‍याउने भएकाले हिउँ पर्दा उत्साही हुँदै हिउँमाथि तस्विर खिचेको उनको टिप्पणी छ । उनले केही वष्र्षअघि हिउँ नपर्दा लामा राखेर पूजाआजा गर्ने गरेकोसमेत स्मरण गरिन् ।

Advertisement

ठिनी थकाली समुदायको उद्गम स्थल मानिन्छ । ठिनीमा थकाली समुदायका १३ घरधुरीले होमस्टे चलाएका छन् । उनीहरुले होमस्टेमा आएका पर्यटकलाई मौलिक थकाली कला संस्कृति पस्कने गर्छन् भने थकाली खानाका परिकारसमेत चखाइन्छ । फापरको ढिँडो, उवाको सातु, तिब्बतियन चिया, फापरको रोटी, याक चौरी र भेडाच्यांगाको मासु, स्याउको रक्सी लगायतका परिकार होमस्टेमा उपयोग हुन्छन् ।

ठिनीमा ऐतिहासिक थकाली संग्रहालय, गुम्बा र तालतलैया छन् । थकाली होमस्टे प्रर्वद्धनका लागि गण्डकी प्रदेश सरकारले समेत सहयोग गरेको छ ।

तपाईको प्रतिक्रिया