माघे संक्रान्ति र माघी

समाधान संवाददाता २०७६ माघ २ गते १५:०१

उतिबेलै पृथ्वीनारायण शाहले भनेका थिए नेपाल ४ वर्ण ३६ जातको फूलबारी हो भनेर । त्यसो त पृथ्वीनारायण शाहको पालाभन्दा धेरै अगाडि देखि नै यहाँ जातीय व्यवस्था थियो भन्ने प्रमाण भेटिन्छन् । कामका आधारमा जातीय व्यवस्था गरेको भनेर १९१० मा जारी मुलुकी ऐनले दोष बोकिरहेको छ । जे होस, नेपालमा रहेका धेरै जातजातिका आआफ्नै संस्कृति छन्, परम्परा छन् । ती संस्कृति र परम्परा केवल जाति विशेषका मात्र होइनन् कि समग्र मुलुकका सांस्कृतिक सम्पदा हुन् । कुन मुलुक कति समृद्ध छ भनेर देखाउने मुख्य आधार सांस्कृतिक सम्पदा पनि हो । जसको श्रेय यहाँका जातजातिलाई जान्छ । पुस १५ मा हामीले लोसार मनायौं । गुरुङ जातिको मात्र पर्व भए पनि त्यसमा गुरुङवाहेकका जातिले पनि सहभागिता जनाउँदै आएका छन् । अनि मनाउँदै आएका छन् । त्यस्तै पर्व हो माघे संक्रान्ति पनि । मगर र थारु जातिले विशेष रुपमा मनाउने यो पर्व पनि सबैजसो नेपालीको पर्व हो । माघे संक्रान्ति, मकर संक्रान्ति, माघे सक्राति, माघे सकराटी, माघी आदि–आदि भनेर माघ १ गते मनाइन्छ । सबैरै उठेर नजिका खोला, ताल, तलाउ, पोखरीमा पुगेर नुहाइ–धुवाइ गर्ने, पितृहरुको सम्झना गर्ने, देव–देवताको दर्शन गर्ने यसको आध्यात्मिक पक्ष हो ।

पुस मसान्त अर्थात् अघिल्लो दिन उसिनेको तरुल, सखरखण्ड, पिँडालु, सेलरोटी, मासबाट बनेको फुरौला, घिउ, चाकु, तिलको लड्डु, योमरी खाने लगभग साझा प्रचलन नै बनेको छ । नेपालका केही जातिका लागि भने माघे संक्रान्तिको विशेष महत्व छ । क्षत्री बाहुनपछि नेपालको सबैभन्दा ठूलो जाति मगर समुदायका लागि माघे संक्रान्ति सबैभन्दा ठूलो चाड हो । पछिल्लो जनगणनाअनुसार नेपालमा मगर जातिको जनसंख्या ७.१३ प्रतिशत छ । यो पर्वका अवसरमा मगर समुदायले सबेरै खोलामा गएर पितृ पूजा गर्छन् भने सबैभन्दा विशिष्ट परिकारका रुपमा मास अथवा सिल्टुङ (मस्याङ) को बारा अथवा बटुक, सेलरोटी आदि परिकार खाने चलन छ । पश्चिम र मध्यपश्चिमका कतिपय जिल्लामा सघनरुपमा बसोबास गरेको यो जातिको आफ्नै भाषा, भेषभूषा, संस्कृति, संस्कारका कारण छुट्टै पहिचान छ ।

माघ १ गते नेपालको तराई क्षेत्रमा बसोबास गर्ने अर्को ठूलो जनजाति समुदाय थारुको नयाँ वर्ष प्रारम्भ हो । नयाँ वर्षका दिन नयाँ योजना बनाउने र बितेको वर्षको समीक्षा गर्ने, आफ्नो सभ्यता, शैली र संस्कारमा मीठा परिकार खाने गरिन्छ । विगतमा कमैया र कमलरी बस्ने सहमति पनि आजका दिनमा हुन्थ्यो । सरकारले यो कुप्रथाको अन्त्य गरिसकेको छ । नेपाल सरकारले मगर जातिको माघे संक्रान्ति पर्व र थारु जातिको माघीलाई राष्ट्रिय पर्वको मान्यता दिए पनि अहिले त्यो क्रम भंग भएको छ । प्रदेश र स्थानीय तहहरुले ठाउँ विशेषका आधारमा सार्वजनिक बिदा दिने गरेका छन् । थारु समुदायको जनसंख्या पनि पछिल्लो जनगणना अनुसार ६.६ प्रतिशत छ । नेपालमा पछिल्लो केही वर्षदेखि पहिचानको मुद्दा सशक्त रुपमा उठेको छ । राज्यले नेपालमा भएका सबै जातजातिको भाषा, धर्म,संस्कार, संस्कृतिलाई संरक्षण र विकासमा समुचित ध्यान दिनु आजको आवश्यकता हो । आफूलाई हानी गर्ने कुसंस्कार छन् भने तिनलाई परित्याग गर्ने र युगअनुसार परिष्कार गर्ने सोचको पनि त्यत्तिकै आवश्यक छ ।

Advertisement

तपाईको प्रतिक्रिया