खुला दूध व्यवसायी संगठित

समाधान संवाददाता २०७६ माघ ३ गते १५:०४

समाधान संवाददाता
पोखरा

प्रशोधन नगरी बजारमा खुला रुपमा दूध बेच्दै आएका कास्कीका दुग्ध व्यवसायी संगठित भएका छन् । त्यति मात्र होइन उनीहरुले मनोमानी रुपमा दूधको मूल्य समेत बढाएका छन् ।

कास्की दुग्ध व्यवसायी तदर्थ समितिकोे भेलाले वीरेन्द्र भण्डारीको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्ष वसन्त भण्डारी, सचिव युवराज पौडेल, कोषाध्यक्ष निर्मल भण्डारी, सहसचिव सोमबहादुर गुरुङ चुनिएका छन् ।

Advertisement

कार्य समितिको सदस्यमा अमृत बराल, सागर पौडेल, विष्णुप्रसाद अधिकारी, विष्णुप्रसाद पौडेल र आमन्त्रित सदस्यमा दीपक तिमिल्सिना छन् । समितिको सल्लाहाकारमा नवनारायण बराल, दयाराम सुवेदी र वासुदेव चालिसे छन् ।

समितिका अध्यक्ष वीरेन्द्र भण्डारीले दूध तथा दुग्धजन्य पदार्थको समय सापेक्ष रुपमा मूल्य समायोजनको लागि पहल गर्ने बताए । उनले किसानलाई उचित मूल्य दिनुका साथै उपभोक्तालाई समेत असर नपर्ने गरी आगामी फागुन १ गते देखि दूधको खुल्ला मूल्य १ सय २० कायम गर्ने निर्णय गरेको जानकारी दिए । हाल दूधको खुल्ला मूल्य प्रति लिटर १ सय १० छ ।

Advertisement

दूध किसानलाई प्रोत्साहन गरे पोखरा दूधमा आत्मनिर्भर बन्न सक्ने दाबी गर्दै अध्यक्ष भण्डारीले व्यवसायी समितिको पहलमा चिस्यान केन्द्र खोल्ने बताए । ‘मापदण्ड विपरीत मासु पसल, फोटो स्टुडियो, खुद्रा तथा औषधी पसलबाट दूध बेच्ने गरिएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘पायक पर्ने स्थानमा सबै किसानको दूध भण्डारण गर्न सक्ने चिस्यान केन्द्र खोल्ने योजना अगाडि सारेका छौं ।’ अध्यक्ष भण्डारीले व्यवसायीका सटरहरुमा दूधको मूल्यमा एकरुपता ल्याउन मूल्य सुची टाँस्ने व्यवस्था मिलाउने जानकारी दिए ।

समितिका सल्लाहाकार नवनारायण बरालले अफ सिजनमा दूधको माग बढेता पनि सिजनमा दूध नबिकेर किसानले किनारा पसलमा बेच्नु परेको बताए । उनले व्यवसायीको हक हितमा काम गर्नका लागि समितिले कोष खडा गर्न लागेको जानकारी दिए ।

समितिका सल्लाहकार वासुदेव चालिसेले खुल्ला दूध व्यवसायी बीच व्यावसायीक एकता र बजारलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए । उनले भलछोप्ने व्यवसायीबाट सतर्क रहँदै अव्यवस्थितलाई व्यवस्थित र अनियन्त्रितलाई नियन्त्रण गर्न व्यवसायी एकजुट हुनु पर्ने खाँचो औल्याए ।

तपाईको प्रतिक्रिया