पदमार्गमा हिउँको अवरोधः ४ कोरियाली र १ नेपाली सम्पर्क विहीन

समाधान संवाददाता २०७६ माघ ५ गते १२:२०

सुरेशराज अधिकारी
पोखरा

अन्नपूर्ण आधार शिविर (एबिसी) पदमार्गमा आएको हिमपहिरोमा हराएका ४ कोरियाली, १ नेपाली अझै सम्पर्कविहीन छन् । १ नेपाली र १ चिनिया घाइते शनिबार अवस्थामा भेटिए ।

काठमाडौंको ट्रिप नेपाल माउन्टेन गाइड नामक कम्पनीबाट गएका कोरियाली पर्यटक ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सुक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन, चिनिया नागरिक झाङ यिङ र नेपाली नागरिक सरोज परियार हराइरहेका छन् ।

Advertisement

चिनिया नागरिक जोङ योङजी र जगदीश खत्री हिउँ पहिरोमा परी घाइते भएका छन् । अन्य केही मानिस पनि हिउँ पहिरोमा परेको हुनसक्ने शंका गरिएको छ ।

उनीहरु पुस २७ गते (१२ तारिख) बाट एबिसी घुम्न गएका थिए । ९ दिनमा फर्कने योजना अनुसार टोेली हिँडेको सरोज परियारका भाइ शिव परियारले बताए । शुक्रबार साँझमात्र उनीहरु बेपत्ता भएको शिवले थाहा पाएका थिए । घटना थाहा पाए पनि पानी र हिउँ परेका कारण उद्धार सम्भव थिएन ।

Advertisement

चितवन घर भएका सरोज कोनाको ट्रेकिङ एजेन्सीबाट गएका हुन् । काउन्सिल ट्राभल एजेन्सीबाट गएका म्याग्दी बेनीका जगदीश खत्री सामान्य घाइते छन् । खत्रीलाई पोखरा ल्याइँदै छ । सम्पर्कविहीन भएको ठाउँ हिक्कु क्याम्प नजिकै शनिबार पनि हिउँ पहिरो खसेको छ । सो ठाउँमा मौसमका कारण शनिबार पनि टोली पुग्न सकेन ।

छोम्रोङभन्दा माथि र तल रहेकाबीच मौसमका कारण सम्पर्क नभएको एबिसी जाने बाटोमै अलपत्र परेको टेक तामाङ बताउँछन् । एबिसी जाने बाटोमा ४ फिटभन्दा बाक्लो हिउँ जमेको उनले जानकारी दिए । हिउँकै कारण सम्पर्कविहीन भएको तामाङको भनाइ छ ।

अन्नपूर्ण आधार शिविर जाने बाटोमा पर्ने छोम्रोङभन्दा माथि होटलमा रहेका १ हजारभन्दा बढी विदेशी र नेपालीलाई हेलिकोप्टरबाट शनिबार बिहानदेखि नै उद्धार गरिएको छ । साँझसम्म अन्नपूर्ण आधार शिविरमा अलपत्र परेकालाई उद्धार गरिसकिएको छ ।

बाटोमा धेरै हिउँ परेका कारण होटल तथा घरबाट बाहिर निस्कन सक्ने अवस्था छैन । लगातार ४८ घन्टासम्म हिउँ परेको थियो । हिउँ बाक्लो भएका कारण हेलिकोप्टरबाट उद्धारका लागि समस्या परेको थियो । हेलिप्याड सफा गर्नमात्रै ४ घन्टा लागेको तामाङ बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले अहिलेसम्म ६३ जनाको उद्धार गरी पोखरा ल्याइएको जानकारी दिए । बेपत्ता भएकालाई शनिबार केही समय हेलिकोप्टरबाट खोज्ने प्रयास गरिएको कार्कीले बताए । उनले मौसमका कारण खोजीमा समस्या भएकाले आइतबार पनि खोज कार्य निरन्तर हुने उनले बताए ।

डाइनेस्टी एअरलाइन्स कम्पनीको हेलिकोप्टरले १० कोरियाली, ९ चिनिया र १ नेपालीलाई पोखरा ल्याएको छ । प्रभु हेलिकोप्टरबाट ५ नेपाली र ७ चिनिया नागरिकलाई उद्धार गरिएको छ । सिम्रिक एअर प्रालिको हेलिकोप्टरबाट १४ कोरियाली र ५ नेपालीलाई पोखरा ल्याइएको पर्यटन प्रहरीले जनाएको छ । अल्टिच्ययुड एअरले सिंगापुरे ५ जना, नेपाली २ जना, अस्ट्रेलियन १ जना, डेनमार्कका नागरिक १ जना, कोरियाली १ जना र अन्य देशका ३ जनाको उद्धार गरेको छ ।

अल्टिच्ययुड एअर, प्रभु, डाइनेस्टिक र सिम्रिक हेलिकोप्टरबाट अन्नपूर्ण आधार शिविर र माछापुच्छ«े आधार शिविरका विभिन्न होटलमा रहेका १ हजारभन्दा बढीलाई छोम्रोङसम्म ल्याइएको छ । उद्धार गरिएका सबै वयस्क भएको पर्यटन प्रहरीले जानकारी दिएको छ ।

शुक्रबार बेलुकादेखि अन्नपूर्ण आधार शिविर जान रोक लगाइएको छ । उक्त क्षेत्रका होटल सञ्चालक र स्थानीय सबैलाई उद्धार गरिएको छ । यहाँको मौसम सामान्य नभएसम्म उक्त क्षेत्रमा जान रोक लगाइएको हो ।

तपाईको प्रतिक्रिया