अमन स्मृति फुटबलः आयोजक सेतोलाई उपाधि

समाधान संवाददाता २०७६ माघ ५ गते १२:४२

समाधान संवाददाता
पोखरा

पोखरा १५ रामबजारमा जारी तेस्रो अमन गुरुङ स्मृति सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली स्पोर्टस् क्लब सेतोले हात पारेको छ ।

पोखरा १५ कोलपाटनको रेम्बो एकेडेमी होम्सको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा एलजी एसोसिएसनलाई २–० गोलले पराजित गर्दै आयोजक टिमले उपाधि जितेको हो ।

Advertisement

उपाधिसँगै भ्यालीले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त ग¥यो । उपविजेता एलजी एसोसिएसनले सिल्ड, मेडल तथा प्रमाणपत्रसहित ७५ हजार रुपैयाँमा चित्त बुझाएको छ ।

भ्यालीको जितमा घनश्याम तामाङले खेल सुरु भएको ३ मिनेटमा गोल गर्दै आयोजकलाई अग्रता दिलाएका थिए । दोस्रो गोल खेलको ३६ औं मिनेटमा अजय श्रेष्ठले गरेका थिए ।

Advertisement

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भ्यालीका अजय श्रेष्ठ घोषित भए । उनले नगद १२ हजार रुपैयाँ प्राप्त गरे । सर्वाधिक गोलकर्ता सोही क्लबकै सुनील गोदामे घोषित हुँदै नगद ७ हजार रुपैयाँ प्राप्त गरे । उनले प्रतियोगिता अवधिभर ९ गोल गरेका थिए ।

विजेता तथा उपविजेता टिमलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, एन्फाका उपाध्यक्ष कृष्ण थापा, कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष मीलन गुरुङ, प्रयोजक लगायतले पुरस्कार वितरण गरेका थिए ।

राखेप सदस्य राजेश गुरुङले भ्यालीलाई आगामी दिनमा समेत प्रतियोगिता आयोजना गर्न आग्रह गर्दै आफूले सक्दो सहयोग गर्ने बताए । उनले पोखरा रंगशाला निर्माणपछि सेभेन ए साइडको समस्या हल हुने धारणा राखे ।

कास्की जिल्ला फुटबल संघ (एन्फा) अध्यक्ष मीलन गुरुङले सेभेन ए साइड फुटबललाई हेप्ने गरेको टिप्पणी गरे ।

उक्त प्रतियोगितामा फुटबल खेलको विकासमा निरन्तर लागेका सेभेन ए साइड महासंघका अध्यक्ष नवीन पुनलाई सम्मानसमेत गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया